
बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी प्रमिला कोइरालाको गोठमा १० वर्षअघि दुइटा ब्राखा, एउटा गाई थियो । आफ्नो गोठमा २०–२५ वटा बाख्रा, दुई–चारवटा भैँसी, गाई होस् तथा पर्याप्त कुखुरा, परेवा पाल्ने उनको सोच थियो । तर, उनीसँग आफ्नो इच्छा पूरा गर्ने लगानी थिएन । सशस्त्रमा काम गर्ने श्रीमान् नवीन कोइरालाको कमाइले मात्रै छोराछोरी पढाउन र घरखर्च टार्न धौधौ थियो ।
०६८ सालमा गाउँमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड विनाधितोमा ऋण लगानी गर्न प्रकाशपुर आएको खबर थाहा पाइन् र संस्थाको सम्पर्कमा पुगिन् । गाउँमा एउटा समूह बन्यो । संस्थाबाट २० हजार ऋण पाएकी उनले ६ वटा बाख्रा खोरमा भित्र्याइन् । बाख्राले आम्दानी बढाउँदै लगेपछि संस्थाले उनलाई विश्वास गर्दै गयो । त्यसपछि ३० हजार ऋण थपिन् । ऋणसँगै गोठमा बाख्रा थपिए । एवं प्रकारले उनको व्यवसाय बढ्दै गयो । १० वर्षअघि उनले देखेको सपना अहिले त्यही संस्थाले पूरा गरिदिएको छ ।
यतिवेला उनको खोरमा २६ वटा बाख्रा, दुइटा लैना भैँसी, दुइटा गाई छन् । गाई–भैँसीको दूध लिन व्यापारी घरमै आउँछन् । बाख्राको संख्या बढ्दै गएसँगै आम्दानी पनि बढेको छ । छोराछोरी पढाउन र घरखर्च टार्न श्रीमान्को कमाइको आशा गर्नुपरेको छैन । संस्थाले उनलाई अहिले विनाधितो तीन लाख ऋण दिएको छ । महिनाको नियमित १६ हजार किस्ता बुझाउँछिन् । ‘आपत्विपत् जति वेला पनि संस्थाले सहयोग गरेको छ । त्यही भएर मेरो व्यवासय राम्रो भएको छ,’ उनले भनिन्, ‘गाउँमा संस्था आएपछि निकै प्रगति भएको छ ।’
उनले घरमा कुखुरा, परेवा, हाँस पनि पालेकी छन् । आम्दानीको स्रोत बढेको छ । श्रीमान् सशस्त्र प्रहरीमा पेन्सन पकाएर कुवेतमा सेक्युरिटी कम्पनीमा काम गरिरहेका छन् । उनको पेन्सन र विदेशको कमाइ चोखो बचेको छ । महुली लघुवित्त कार्यक्रम लागू भएपछि आफूमा ठूलो परिवर्तन भएको उनको बुझाइ छ । उनको समूहमा १० जना सदस्य छन् । मासिक ३०५ रुपैयाँ समूहमा बचत गर्दै आएकी छन् । समूहमा हाल १ लाख ८० हजारको पुँजी भएको छ । उनीजस्तै अन्य सदस्यले पनि संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका छन् ।
धरान उपमहानगरपालिका–१० बस्ने कल्पना घिमिरेले पनि यतिवेला धरान–१६ मा मिट हाउस खोलेकी छन् । ०६५ सालमा महुली लघुवित्त वित्तीय संस्थासँग जोडिएकी कल्पना १३ वर्षअघि संस्थासँग ३० हजार ऋण लिएर सुनसरीको बराहक्षेत्र–५ बांगेमा कुखुरा फार्म खोलेकी थिइन् । कुखुराबाट राम्रो आम्दानी गरेपछि दोस्रो लटमा ७० हजार ऋण पाइन् । कुखुराको खोर बढाउँदै लगिन् । संस्थाले सहयोग पनि गर्दै गयो । यतिवेला उनको गाउँमा फार्म छ । धरानमा मासु पसल खोलेकी छन् । संस्थाले विनाधितो २ लाख ५० हजार पत्याएको छ । प्रत्येक महिनाको २ गते समूहको छलफल हुन्छ । मासिक १८ हजार किस्ता बुझाउँछिन् ।
उनका श्रीमान् बदन विष्ट पनि नेपाल आर्मीमा जागिरे छन् । हाल मालीमा शान्ति सेना गएका छन् । विगतमा श्रीमान्को तलब आशा गरेर बस्नुपथ्र्यो । उनले खटाएको पैसाबाट घर चलाउँथिन् । संस्थाले ऋण पत्याएर व्यवसाय गर्न थालेपछि श्रीमान्को कमाइ पर्खनुपरेको छैन् । श्रीमान्को तलब बैंकमा जम्मा भएको छ । उनको व्यवसायबाट छोरी एन्जना विष्टलाई धरानको मेरिल्यान्ड बोर्डिङ स्कुलको कक्षा ८ मा पढाउँदै छिन् । छोरा एन्युस विष्टलाई कक्षा ३ मा पढाउँदै आएकी छन् । संस्थाले ऋण दिएर ठूलो गुण लगाएको उनले बताइन् । ‘हामीजस्ता धितो केही नभएकालाई संस्थाले पत्याएको छ । उनीहरूको पैसाले हामीले व्यवसाय गर्न पाएका छौँ । घर चलाएका छौँ,’ कल्पनाले भनिन् ।
धरान १० की फुलमाया बनेमले संस्थासँग ऋण लिएर ११ वटा सुंगुर पालेकी छन् । पाँचवटा पाठा र चारवटा माउ खोरमा छन् । माउ ३० देखि ४० हजारमा बिक्री हुन्छन् । पाठा दुई महिनापछि बिक्री गर्न लायक हुन्छन् । दुई महिनाअघि संस्थाबाट दुई लाख ५० हजार ऋण लिएर उनले व्यावसायिक सुंगुरपालन सुरु गरेकी हुन् । मासिक ३ सय बचत गर्छिन् । संस्थाको किस्ता मासिक १८ हजार तिर्दै आएकी छन् । उनको यही व्यवसायले चारजनाको परिवार धान्दै आएकी छन् । ‘साह्रोगाह्रो परेको वेला कसैको मुख ताक्न पर्दैन । समूहमा १ लाख २० हजार जम्मा भएको छ । आपत्कालीन अवस्थामा समूहमा सल्लाह गरेर लिन सकिन्छ,’ फूलमायाले भनिन् ।
प्रमिला, कल्पना र फुलमायाजस्ता घरमा त्यतिकै बसेर दिन बिताउने अन्य महिला संस्थाको सहयोगले आयआर्जनको काममा लागेका छन् । सानातिना व्यवसाय गरेर घरपरिवार धान्दै आएका छन् । सप्तरीको अग्नि कृष्णसवरण–५ महुलीमा मुख्य कार्यालय रहेको संस्थाले सुनसरीका बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र धरान उपमहानगरपालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । महुली लघुवित्त वित्तीय संस्थाले हालसम्म ३६ वटा जिल्लामा काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक गंगाधर पाण्डेले बताए । संस्थाले ग्रामीण भेगमा समूह बनाउने, बचत गर्ने बानी बसाउने र सामूहिक जवानीमा ऋण प्रवाह गर्ने काम गर्दै आएको छ । ५ लाखसम्म विनाधितो र १५ लाखसम्म धितो राखेर सामान्य परिवारलाई स्वरोजगार बन्न ऋण लगानी गरिँदै आएको पाण्डेले बताए । सुनसरीका तीन स्थानीय तहमा दुई सय ६४ वटा समूह बनेका छन् । बराहक्षेत्र नगरपालिका शाखाका प्रमुख चतुरनारायण चौधरीका अनुसार तीन हजार तीन सय ७५ घरपरिवार समूहमा आबद्ध छन् । संस्थाले उनीहरूका लागि १७ करोड ६१ लाख लगानी गरेको छ ।
लघुवित्तका ग्राहक इमानदार छन्
सप्तरीको महुलीमा स्थापना भएको संस्था देशैभर विस्तार कसरी भयो ?
महुली लघुवित्त वित्तीय संस्था ०५४ सालमा सानो गाउँबाट ३० जनाको समूह बनाई ३ रुपैयाँबाट स्थापना गरिएको संस्था हो । ०७८ असार मसान्तसम्म प्राप्ति गरेको संस्थासमेतलाई लिँदा ६४ शाखाबाट करिब ७६ हजार परिवारलाई यसले प्रत्यक्ष वित्तीय सेवा दिँदै आएको छ । ४३ हजार ऋणी सदस्यमार्फत चार अर्ब ४५ करोड कर्जा प्रवाह भएको छ । संस्थाको दक्ष व्यवस्थापन समूह, संस्थागत सुशासन, सेयरधनी सदस्यको सहयोग, सञ्चालक समितिका मित्रको योगदान तथा कर्मचारीको लगनशीलता र मिहिनेतका कारण यो संस्थाको हरेक सूचकांक उत्कृष्ट भएको हो । संस्थाको कार्यक्षेत्र विस्तार गर्न निकै नै समस्या भएको थियो । पहिला गाविसमा विस्तार गरेपछि सप्तरीको चार स्थानीय तहमा विस्तार भयो । त्यसपछि विभिन्न चरण पार गर्दै अहिले ६४ शाखामार्फत देशैभर सेवा विस्तार गरिएको हो ।
विनाधितो कर्जामा लघुवित्तको कर्जा लगानीमा जोखिम छ कि छैन ?
लक्षित समूहमा गएर संस्थाहरूले सामूहिक जमानीमा व्यवसायको विस्तार गर्ने परियोजनाका लागि विनाधितो कर्जा प्रवाह गर्दा जोखिम कम छ । तर, व्यक्तिविशेषमा गएर संस्थाहरूले विनाधितो कर्जा दियो भने जोखिम उच्च छ ।
ग्राहकमाथि तपाईंहरूलाई कत्तिको विश्वास छ ?
हामी विपन्न वर्गमा विश्वास गर्छौं, महिलामा विश्वास गर्छौं, ग्रामीण समुदायमा विश्वास गर्छौं । ती हामीले सोचेभन्दा इमानदार छन् । यो मेरो अनुभवले सिद्ध गरेको छ । मेरो अनुभवमा लघुवित्तका ग्राहक इमानदार छन्, पैसा तिर्छन् ।
लघुवित्तका चुनौती र समस्या के–के छन् ? समाधानका लागि के गर्नुपर्ला ?
लघुवित्त क्षेत्रमा अन्य बैंकिङ क्षेत्रमा भन्दा बढी प्रतिस्पर्धा छ । आजको अवस्था हेर्दा झन् लघुवित्तको प्रतिस्पर्धा चुनौतीपूर्ण र कतिपय अवस्थामा अस्वस्थ छ । बैंक तथा वित्तीय संस्थाले पर्याप्त धितो सुरक्षण गरेर कर्जा प्रवाह गर्छन् । तर, लघुवित्तमा विनाधितो कर्जा प्रवाह गरिने हुँदा एउटै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिने सम्भावना रहन्छ । यो दोहोरोपना नै लघुवित्तको मुख्य समस्या हो ।
प्रस्तुति : सौरभ यादव