
प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन्। रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर हुने टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रमकाे शुभारम्भ गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड संक्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे। उनले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गरे। उनले राजधानीलगायत सहरी क्षेत्रमा फोहाेरको समस्याको दिगो समाधानका लागि फोहाेरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह गरे।
नेपालमा अझै पनि टाइफाइड रोगको उच्च संक्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ। यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ।