
सहरी तथा भवन विभागलाई अस्पताल निर्माणको जिम्मा, स्वास्थ्य मन्त्रालयद्वारा ५० करोड विनियोजन
भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने प्रक्रियाअनुसार काम अगाडि बढाइएको छ । वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने काम लामो समयसम्म रोकिएमा अब सरकार आफैँले बनाउने भन्दै प्रक्रिया थालेको हो ।
सरकारले वीर अस्पतालको नाम परिवर्तन गरेर अत्याधुनिक नमुना अस्पताल (दुवाकोट भक्तपुर) राखेको छ । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा वीर अस्पताल विस्तार गरी एक हजार बेडको अस्पताल निर्माणका लागि चिनियाँ कम्पनी सिएमसी इच्छुक भएपछि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाएको थियो । तर, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने क्रममा विभिन्न समस्या देखाउँदै काम रोकिएको थियो । अब भने सरकार आफैँले अत्याधुनिक नमुना अस्पताल बनाउने भएको छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)कै मातहतमा रहेर भवन बनाउने र त्यसअन्तर्गतको वीर अस्पताललाई विस्तार गरेर दुवाकोटमा हजार बेडको भवन बनाउने योजना अगाडि बढेको थियो ।
सात सय रोपनी जग्गामा अस्पताल विस्तार
स्वास्थ्य सचिव डा.रोशन पोखरेलले अस्पताल निर्माणको काम सुरु भएको बताए । उनका अनुसार यस वर्ष स्वास्थ्य मन्त्रालयले ५० करोड रुपैयाँ विनियोजन गरेको छ । सहरी तथा भवन विभागलाई निर्माणको सबै जिम्मा दिइएको छ । स्वास्थ्यका जति पनि भवन बनिरहेका छन् ती सबै सहरी तथा भवन विभागले बनाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न १० करोड निकासा गरेको छ । डिपिआर प्रतिवेदन प्रस्तुत गरेपछि थप काम अगाडि बढ्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सरकारले ०७३ साउनमा अस्पताल विस्तारका लागि भक्तपुरको दुवाकोटमा करिब सात सय रोपनी जग्गा उपलब्ध गराएको थियो । सरकारले हाल रहेको वीर अस्पतालको नयाँ भवनसहित एक हजार पाँच सय शय्या र दुवाकोटमा एक हजार शय्या सञ्चालन गर्ने तयारी गरेको हो । सरकारले भक्तपुरमा बन्ने अस्पतालमा न्याम्सको कार्यालय, विशेषज्ञ पढाइ र अस्पतालसमेत सञ्चालन हुने जनाएको छ । वीरशमशेरको पालामा १९४६ सालमा वीर अस्पताल स्थापना भएको हो ।