
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चारकिल्ला घेर्ने तारबार मर्मतको कार्य सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तारबार मर्मत कार्य थालेको हो। केही दिनअघि तारबारबाट छिरेर एक व्यक्ति अनधिकृत रूपमा विमानस्थल प्रवेश गरेका थिए। उक्त घटनापछि विमानस्थल घेर्ने तारबार मर्मत गर्न थालिएको हो।
अहिले कोटेश्वर क्षेत्र हुँदै पेप्सीकोला क्षेत्रसम्म तारबार लगाउने कार्य सकिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार चारैतर्फको बार मर्मत गरिनेछ। त्यस्तै, बार आसपासको झाडी र बुट्यान पनि सफाइ गरिँदै छ। डोजरसहित कामदार लगाएर मर्मत थालिएको हो।
‘तारबार निकै जीर्ण बनेको छ,’ सिटौलाले भने, ‘त्यसकारण मर्मत सुरु गरिएको हो।’ त्रिभुवन विमानस्थलको कार्यालय आसपासको सुरक्षा र चेकचाँजको जिम्मा नेपाल प्रहरीको हो भने चारकिल्ला क्षेत्रमा बसेर सुरक्षा दिने जिम्मेवारी नेपाली सेनाको हो। तर, केही दिनअघि विमानस्थलको बाहिरी पर्खालबाट छिरेर एक व्यक्ति विमानको सिटमा गएर बसेका थिए। उक्त घटनापछि विमानस्थलको बाहिरी पर्खाल मर्मत गर्न थालिएको हो।