मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : अमरपथ सडकस्थित झापा–६ शरणामतीमा स्थानीयले गरेको अवरोध ।
२०७८ मङ्सिर २७ सोमबार ११:३८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडक निर्माणमा ढिलाइ गरेपछि स्थानीय आन्दोलित

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर २७ सोमबार ११:३८:००

ठेक्का लागेको दुई वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेपछि झापाको कनकाईस्थित सुरुंगा र झापा गाउँपालिका जोड्ने अमरपथ सडकका उपभोक्ता आन्दोलित बनेका छन् । स्थानीयले सडकमा ढाट लगाएर सडक अवरुद्ध गरेका हुन् । सडकमा धुलो उडेर बसिनसक्नु हुँदा पनि निर्माण व्यवसायीले सडक निर्माणमा बेवास्ता गरेपछि झापा गाउँपालिका–६ शरणामतीका स्थानीय आन्दोलित बनेका हुन् । 

आइतबार र सोमबार सडक अवरुद्ध गरेका स्थानीयले मंगलबारबाट एम्बुलेन्स, दूध बोक्ने गाडीबाहेकका सबै सवारी साधन बन्द गर्ने निर्णय गरेका हुन् । सोमबार स्थानीयको पहलमा वडाध्यक्ष हरिबहादुर बानियाँसहितको सर्वदलीय बैठकले सडक निर्माणको ग्यारेन्टी नभएसम्म सडक अवरुद्ध गर्ने निर्णय गरेको छ । ‘सडक ठेक्का लागेको दुई वर्ष भयो । कनकाईतिर काम गरेको छ । हाम्रोतिर केही पनि काम नगरेपछि आन्दोलित हुनुपरेको छ,’ स्थानीय युवा सुव्रतचन्द्र राईले भने, ‘प्रदूषणले हामी बिरामी हुने वेला भइसक्यो ।’

१६ किलोमिटरको ठेक्का लागेको यो सडक प्रदेश सरकारको बहुवर्षे योजना हो । ०७६ भदौमा चार वर्षभित्र सक्ने गरी पूर्वाधार विकास कार्यालय झापाले ५७ करोड रुपैयाँमा मैनाचुली–रोशन जेभीलाई ठेक्का दिएको थियो । तर, अहिलेसम्म ११ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
 
मैनाचुली निर्माण कम्पनी दमक नगरपालिकाकी उपप्रमुख तथा एमाले केन्द्रीय सदस्य गीता अधिकारीका श्रीमान् मदन अधिकारीको हो । उनी एमाले अध्यक्ष तथा पूर्वप्रधनन्त्री केपी शर्मा ओली निकट निर्माण व्यवसायी हुन् । यो सडक मात्र हैन । यो सडकको केही दक्षिणपूर्वमा हुलाकी राजमार्गअन्तर्गत बिरिङ नदीमा पनि पुल निर्माणको ठेक्का लिएर एक दशकदेखि अधिकारी कै मैनाचुलीले पुल अलपत्र छाडेको छ । जसका कारण स्थानीयले हिउँदमा बाँसको पुलमा पैसा तिरेर र बर्खामा डुंगामा पैसा तिरेर जोखिमपूर्ण यात्रा गरिरहेका छन् । 

अमरपथ सडक निर्माणको ठेक्का लिएर मैनाचुली–रोशन जेभी आफैँले काम गरेको छैन । उसले सानो निर्माण कम्पनी झापाली बिल्डर्सका संचालनक शेरबहादुर थापालाई पेटी ठेक्का दिएका छन् । थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । ठेक्का लिएर नाफा खाँदै अर्को निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिँदा दुई वर्षमा ११ प्रतिशत मात्र काम भएको स्थानीयको गुनासो छ । 

सडक समयमा निर्माण नहुँदा यसबाट आउने प्रदूषणले समस्या बनाएको भन्दै स्थानीय तहमा बारम्बार ध्यानकर्षण गराउँदा पनि बेवास्ता गरेपछि सडक अवरुद्ध गर्नुपरेको स्थानीय भविन्द्र भण्डारीले बताए । सडक निर्माणको सुनिश्चितता नभएसम्म अवरोध कायम रहने उनको भनाइ छ । स्थानीयको अवरोधका कारण अमरपथ सडकमा सवारीको लाइन लागेको छ । हुलाकी राजमार्ग निर्माणको सामग्री बोकेर गएका ट्रिपरहरू आइतबारदेखि शरणामतीमै जाममा छन् । स्थानीयले सडकबीचमा ढाट राखेर सडक अवरुद्ध गरेका हुन् ।

झापा गाउँपालिकाका– ६ का वडाध्यक्ष हरिबहादुर बानियाँले सडक समयमा नबन्दा स्थानीय आक्रोशित बनेको बताए । केही दिनअघि स्थानीयले दिएको ज्ञापनपत्र पूर्वाधार विकास कार्यालय झापामा बझाउँदासमेत बेवास्ता गरेका कारण यो अवस्था आएको बताए । सडक सुचारु गर्न पहल भइरहेको उनको भनाई छ । गाउँपालिका अध्यक्ष जयनारायण साह कांग्रेसको महाधिवेशनमा काठमाडौं गएका कारण पनि वार्ता गर्न समस्या भएको उनले बताए । 

पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले सामान्य समस्या भएको बताए । उनले कोरोनाका कारण यसअघि निर्माण कम्पनीले काम अघि बढाउन नसकेको तर अहिले रफ्तारमा काम गरिरहेको दाबी गरे । ‘समयमा बजेट पनि आएन । कोरोनाले काम रोकियो । तर, अहिले रफ्तारमा काम हुँदैछ । हामीले कार्यालयबाट घचघच्याउने काम पनि गरिरहेका छौँ,’ उनले भने, ‘सडक बन्द भएको आइतबार मात्र थाहा पाएँ । मलाई यसअघि जानकारी थिएन । यो सामान्य बुझाइमा कमजोरी मात्र हो । समस्या समाधान हुन्छ ।’