मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अपूर्वानन्द
२०७८ मङ्सिर ५ आइतबार ०८:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

किसान आन्दोलनको विजयको अर्थ

Read Time : > 2 मिनेट
अपूर्वानन्द
२०७८ मङ्सिर ५ आइतबार ०८:५३:००

सत्तासित जतिसुकै शक्ति भए पनि आफ्नो लक्ष्य र साधनको पवित्रतामा विश्वास छ भने संघर्षमा निराश हुनुपर्ने कारण छैन भन्ने पाठ किसान आन्दोलनले सिकाएको छ


यो समय किसानहरूको हो र उनीहरूको संघर्ष, संघर्षको महिमा र धैर्यको हो । यो समय उनीहरूको साहस, आत्मविश्वास एवं सरलताको हो । वास्तवमा यो समय विशेषज्ञताको साटो आमजनताको ज्ञानको हो । शस्त्रबलको साटो आत्मबलको हो । सत्ताको अहंकारसमक्ष संघर्ष र विनम्रताको हो । चतुर्‍याइँ र कपटसमक्ष खुला तथा निष्कपट सरलताको हो ।

कटुतासमक्ष मृदुताको हो । यो क्षणमा हिंसा, घृणा, अहंकार, अकर्मण्यता, कपट, संकीर्णता र क्षुद्रताको पर्याय रहेकाहरूको चियोचर्चो उनीहरूकै भाषामा गर्नु कतिको उपयुक्त हुन्छ ? हामीले यस क्षणमा उनीहरूको जस्तो घृणाको उन्माद ओकल्नु हुँदैन । यो उनीहरूको रणनीतिक चतुर्‍याइँमा सम्मोहित हुने समय होइन । स्मरण रहोस्, तानाशाह र फासिस्टहरू कहिल्यै झुक्न चाहन्नन् । अहिले जब यी झुके, यसलाई उनीहरूकै चातुर्य भनेर मुग्ध हुनुको सट्टा जनताको शक्तिको विजय भयो भनेर अभिनन्दन गर्न आवश्यक छ ।

किसान आन्दोलन सुरु भएको एक वर्ष भयो । यसको केन्द्र पन्जाब थियो र यो हरियाणासम्म फैलियो । बिस्तारै राजस्थान एवं पश्चिमी उत्तरप्रदेश पनि किसान आन्दोलनको विस्तारको दायरामा आए । भारतका बाँकी इलाका यस आन्दोलनमा पन्जाब, हरियाणा र पश्चिमी उत्तरप्रदेशजसरी सहभागी भएनन् । यद्यपि, यो किसान आन्दोलन नै थियो र बृहत् बन्दै थियो । किसानले पहिले आफ्ना राज्यमा संघर्ष गरे र दिल्लीतर्फ आन्दोलन सोझ्याए । दिल्ली सत्ताको होइन, हाम्रो राजधानी हो भन्ने उनीहरूको घोषणा थियो । सत्तासँग पुलिस, सेना, कर्मचारीतन्त्रलगायतको तागत थियो र यही शक्तिको आडमा किसानलाई दिल्लीको सीमामा रोकियो ।

किसानले सत्ताको शक्तिलाई आफ्नो आत्मबलले चुनौती दिने निर्णय गरे । गुरु गोविन्द सिंह र तेगबहादुर सिंहका नाममा हिन्दूलाई मुसलमानविरुद्ध घृणा उत्पन्न गराउने कोसिस गरिन्थ्यो, तिनैलाई सत्ताविरुद्धको प्रतीक बनाएर यो आन्दोलन अगाडि बढेको थियो । जब केन्द्रीय सत्ता सबैलाई दमन गर्न चाहन्छ भने स्वभावतः परिधिबाट विद्रोहका ज्वाला उठ्ने गर्छन् । गुरु तेगबहादुरलाई यही अवधारणाअनुसार सत्ताविरुद्धको साहसको प्रतीकका रूपमा प्रयोग गरियो । यो सद्बुद्धिको आन्दोलन थियो । अर्थात्, त्यो सद्बुद्धि, जसले कुबुद्धिको पहिचान गर्छ, त्यो सद्बुद्धि जो सरल छ, तर मूर्ख छैन । यही सद्बुद्धिका कारण किसानले तमाम उक्साहट देखे, बुझे र त्यसको पासोमा नपर्ने निर्णय गरे । 

यो आन्दोलन विचारमा भिन्नता भए पनि लक्ष्यमा स्पष्टता छ भने संयुक्त संघर्ष सम्भव हुन्छ भन्ने प्रसंगको जीवन्त प्रमाण हो । संयुक्त किसान मोर्चाले लामो समयपछि संयुक्त संघर्षको नीतिलाई व्यावहारिकतामा प्रमाणित गरेर देखाए । अर्थात्, चुलो साझा छ भने साझा संघर्ष सम्भव हुन्छ । यो आन्दोलनबाट राजनीतिक दलहरूले पनि पाठ सिक्नुपर्छ । उनीहरूका लागि दलहरूका तुच्छ स्वार्थ महत्‍वपूर्ण हो वा दलको लक्ष्य महत्‍वपूर्ण भनेर आत्मावलोकन गर्ने वेला भएको छ । 

यो संघर्षको महत्‍वलाई स्थापित गर्ने समय हो । सत्तासित जतिसुकै शक्ति भए पनि वा जतिसुकै सम्पन्न भए पनि यदि आफ्नो लक्ष्य र साधनको पवित्रतामा विश्वास छ भने संघर्षमा निराश हुनुपर्ने कारण छैन । मुख्य विषय संघर्ष हो । विजय हुने र नहुने यो संघर्षबाहेक अन्य धेरै कारणले पनि तय गर्छन् । हामीले ती कारणलाई प्रभावित गर्न नसके पनि हामीसँग संघर्षबाहेक अन्य कुनै विकल्प रहन्न । पछिल्ला सात वर्ष भारतका जनताका प्रत्येक तप्काका लागि विध्वंसको वर्ष रहेको छ । साना व्यापारी, जागिरे, श्रमिक, युवाविरुद्ध यो सत्ताले युद्ध नै छेडेको छ । अझ यसमा मुसलमान एवं इसाई वा दलितहरूको त हामीले कुरै गरेका छैनौँ । 

जिएसटी होस् वा नोटबन्दी, यसले सर्वसाधारणको ढाड भाँचिदिएको छ । तर, न व्यापारीले विरोध गरे, न युवाले । तर, मुसलमान, त्यसमा पनि मुसलमान महिलाले आफ्नो आवाज बुलन्द गरे । मुसलमान महिलाहरू हारेका छैनन्, किनभने एनआरसी (नागरिकहरूको राष्ट्रिय पञ्जीकरण) प्रक्रियाका बाबजुद यसलाई लागू गर्न सकिएको छैन । किसान भूमि अधिग्रहण अधिनियमविरुद्ध उठेका थिए र त्यसलाई अन्ततः रद्द गर्नुपर्‍यो । यो आन्दोलनका पछाडि सिएए (नागरिकता संशोधन विधेयक) विरुद्धको आन्दोलनको प्रेरणा रहेको छ । उसो त अहिले स्थगित भए पनि सिएए आन्दोलनको धैर्य, सद्भाव, संविधान एवं अहिंसामा भएको जोड प्रेरणायोग्य बनेको छ । 

कृषि कानुनहरू लागू भएपछि राजनीतिक रूपमा मुर्झाएकाहरूबीच किसानले संघर्षको बाटो रोज्ने निर्णय गरे । राजनीतिक दलहरू पहिले थोरै हिच्किचाए, तर पछि त्यही आन्दोलनबाट उनीहरूले बल प्राप्त गरे । सत्ताको तमाम दमन एवं मिथ्या खबरहरूका बाबजुद किसानले आफ्नो संघर्षलाई दूषित हुन दिएनन् । सत्ताका सारा संयन्त्रले किसानमाथि हमला बोल्यो । अदालतले चतुर्‍याइँ गर्‍यो किसानहरूले केवल आफ्नो संघर्षको हार मान्न अस्वीकार गरे ।

सिंघू, टिकरी, शाहजहाँपुर र गाजीपुर भारतीय लोकतान्त्रिक यात्राको एक आधारशिला हुन् । फासीवादको दूषित हावामा निसास्सिइरहेको दिल्ली अहिले कृतज्ञ भएको छ, किनभने दिल्लीका सीमाहरूबाट लोकतन्त्रको प्राणवायु प्रवाह भइरहेको छ । यो विजय फलको विश्लेषणको समय पनि आउनेछ । तर, अहिलेलाई चाहिँ संघर्ष जिन्दावाद ! द वायर