नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय आर्थिक गतिविधि बढ्दै गइरहेकाले आगामी दिन बैंकिङ क्षेत्रको अवस्था सहज बन्ने बताएका छन् । नेपाल बैंकर्स संघको ३८औँ वार्षिक साधारणसभामा बोल्दै उनले बैंकहरूलाई साँवाब्याज उठाउन सकस पर्दै गए पनि विगतमा जसरी लगानीयोग्य पुँजी (तरलता) जुटाउन समस्या नभएको बताए । उनले भने, ‘ऋणको साँवाब्याज उठाउन नसकिएको वेलामा पनि तरलताको समस्या छैन । रेमिट्यान्सलाई धन्यवाद छ । बाह्य क्षेत्र सुविधाजनक स्थितिमा छ । दुःख मान्नुपर्ने कारण छैन । बैंकरहरूलाई लोन रिकभरी मात्रै अहिलेको ठुलो समस्या हो ।’
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम दक्षिण एसियाका लागि क्षेत्रीय अर्थशास्त्री कमलिका दासले दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धि अन्य देशभन्दा तुलनात्मक रूपमा राम्रो देखिएको बताए । यो क्षेत्रमा प्रवाह हुने रेमिट्यान्सले निजी उपभोग बढाएको र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको बताए ।
संघको वार्षिक साधारणसभाको अवसरमा राजन सिंह भण्डारीलाई सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुनील केसीले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको बताउँदै त्यसका लागि केन्द्रीय बैंकले पुर्याएको भूमिकाका लागि आभार व्यक्त गरे । कार्यक्रममा नेपाल बैंकर संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रको समस्या समाधान गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
बैंकर्स संघको अध्यक्षमा कोइराला
नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्वाचित भएका छन् । संघको ३८औँ वार्षिक साधारणसभाले अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारिणी समितिका तीनजना सदस्य निर्वाचित गरेको हो ।
अध्यक्षमा निर्विरोध निर्वाचित कोइराला यसअघि संघको उपाध्यक्ष थिए । साथै, उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध भएका छन् । कार्यकारिणी समितिका तीनजना सदस्यहरूमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयलाई निर्विरोध निर्वाचित गरेको छ ।
साधारणसभाको निर्णयपश्चात् संघको कार्यकारिणी समितिमा प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल पनि सदस्य छन् । साथै, निवर्तमान अध्यक्ष सुनील केसी कार्यसमितिको पदेन सदस्यको रूपमा रहनेछन् । पूर्वअध्यक्षहरू अशोकशमशेर जबरा र ज्ञानेन्द्रप्रसाद ढुंगाना कार्यसमितिको सल्लाहकारको रुपमा रहनेछन् ।