मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
वीणा झा
२o८१ पौष ४ बिहीबार o८:२४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यालय शिक्षामा सुधार गर्नुपर्ने विषय

Read Time : > 4 मिनेट
वीणा झा
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार o८:२४:oo

विद्यालय समाजका लागि नयाँ पुस्ता निर्माण गर्ने थलो पनि हो, जहाँको सानो हेलचेक्य्राइँले समाजलाई लामो समय पिरोल्नेछ 

मानव जीवनमा शिक्षाको महत्व कति छ भनिराख्नु परेन । चाहे औपचारिक शिक्षा होस् वा अनौपचारिक, दुवैले मानव मस्तिष्कलाई चलायमान बनाउँदै सोच्न सक्ने, तर्क गर्न सक्ने, निर्णय गर्न सक्नेलगायत जीवनमा आवश्यक विविध सीपको विकास गर्न सहयोग गर्छन् ।

औपचारिक शिक्षामा पनि विद्यालय तह र विश्वविद्यालय तहमा शिक्षकको भूमिका, सिकाइ विधि, सिकाइ मापक निर्धारण अनि परिणामको अपेक्षा फरक–फरक हुन्छन् । दृष्टान्तका लागि, काठमाडौंमा रहेको कुनै क्याम्पस तहको विषय कर्णालीमा रहेको क्याम्पसमा पनि हुबहु नै रहनुपर्छ । किनकि, उक्त सिकाइ उपलब्धिको परिकल्पना समान हुने गरी राखिएको हुन्छ । समान तथ्य र सिद्धान्तहरू सिकाउन खोजिएको हुन्छ । र, सिकाइलाई सम्बन्धित विश्वविद्यालयले समान मापक निर्धारण गरी सिकाइ उपलब्धिको मापन गर्ने गर्छ ।

तर, विद्यालय तहको शिक्षामा यो कुरा लागू गर्न सकिन्न । किनभने विद्यालय तहको शिक्षा भनेको सिक्ने प्रक्रियालाई सिकाउन सुरुवात गर्ने थलो हो, जसमा विद्यार्थीको समुदाय, सन्दर्भ र तिनका अभिभावकलाई समेत जोडेर सँगसँगै लानुपर्ने हुन्छ । विद्यालय तहको सिकाइको आधार राष्ट्रिय पाठ्यक्रमले दिएको हुन्छ । सिकाउने प्रक्रियामा दैनिक जीवनसँग जोडिएको अनुभूति हुनुपर्छ । अन्यथा बालबालिकाको सिकाइको जग कमजोर बन्नुका साथै तिनमा आत्मविश्वासको कमी, सिर्जनशीलताको अभाव अनि कल्पनाशक्तिमा ह्रास हुने अवस्था रहन्छ ।

विद्यालय अवस्थित रहेको भौगोलिक अवस्था, भौतिक तथा मानवीय स्रोतसाधनको अवस्था अनि त्यसमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकका शैक्षिक, आर्थिक र सामाजिक अवस्थाले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । ती सबैलाई केन्द्रमा राखी राष्ट्रिय पाठ्यक्रमको मूल मर्मअनुरूप सिक्ने–सिकाउने विषयवस्तु र विधिलाई आत्मसात् गर्दै सिकाउने हो भने सिकाइको जग बलियो बन्छ, अनि उक्त जगमा टेकेर उसले विश्वका विविध पक्ष र आवश्यकताअनुरूप सहजै सिक्न सक्ने क्षमताको विकास गर्छ ।

सामान्य रूपले निम्नलिखित तीनवटा विधि अपनाउने हो भने विद्यालय शिक्षाको सिकाइ प्रक्रियामा बालबालिकालाई सहजै जोड्न सकिन्छ:

पहिलो : विद्यालय तहको सुरुवाती कक्षादेखि नै उनीहरूलाई कथासँग जोड्न सकिन्छ । तल्लो कक्षामा सिर्फ मौखिक रूपमा बालबालिकालाई कथा बनाएर वाचन गर्न लगाउन सकिन्छ । त्यो कथा उसले सुनेको कथा हुन सक्छ । उसले आफैँ रचेको कथा हुन सक्छ वा उसले कुनै प्रस्तुति देखेर बुझेको कथा हुन सक्छ । उक्त कथावाचनपश्चात् त्यसमा गणित, विज्ञान र वातावरण (सामाजिक र प्राकृतिक दुवै) खोज्न लगाउन सकिन्छ, जसमा शिक्षकको सक्रिय भूमिका रहन्छ । यसो गर्दा एक विद्यार्थीको कथामा सबै मिलेर त्यसभित्र गणित, विज्ञान र वातावरण खोज्न थाल्दा एक त उक्त विद्यार्थीमा आत्मविश्वास बढ्ने, कल्पना शक्ति बढ्ने, आफ्नो वरिपरि समुदायलाई महसुस गर्ने क्षमताको विकास गर्न सकिन्छ । अर्कातिर गणित कहाँ–कसरी जीवनमा जोडिएको छ, विज्ञान कहाँनेर छ ? दैनिक जीवनमा अनि वातावरणमा त्यसको प्रभावलाई कसरी बुझ्ने भन्ने कुरा सिकाउनुका साथै भाषाको विकास पनि सहजै गर्न सकिन्छ ।

त्यसमाथि पनि नेपालका कक्षाकोठा, जहाँ एउटै कक्षाकोठामा अत्यधिक सांस्कृतिक विविधता भेटिने अवस्थाले गर्दा सिकाउने विषयवस्तु प्रचुर मात्रामा भेटिन्छ । विविध भाषा, सांस्कृतिक परम्परा अनि तिनलाई मनाउने बहुविध तरिकाहरूको प्रस्तुतिसमेतले सिकाइलाई थप रोमाञ्चकारी बनाउन सकिन्छ । कक्षाको तह बढ्दै जाँदा त्यही कथा शृंखलालाई थप विशिष्टीकृत गर्दै जान सकिन्छ । तिनका प्रस्तुति शैलीमा निखार, भाषाको विकास, सोच्ने सीपको साथै समाजभित्र सम्भावना देख्न सक्ने क्षमताको पनि विकास गराउन सकिन्छ । एकपटक दायित्वबोध गराउन सक्ने हो भने त्यसले उसको जीवनकालसम्म दिशानिर्देश गरिरहनेछ । 

कथाको वाचनबाट सुरु गरिएको सिकाइलाई कथा लेखन साथै सडकनाटकमार्फत समाजका विविध विषयवस्तुप्रति जागरुकता र जवाफदेहिता बढाउन सकिन्छ । तिनका कथालाई विद्यालयहरूले आ–आफ्नो स्रोत–साधनको उपलब्धताअनुरूप बाह्य वा भित्री रूपमा प्रकाशन र वितरण गर्न सक्छन्, जसले गर्दा एक–अर्काको दृष्टिकोण बुझाउन र त्यसको सम्मान गर्नसमेत सिकाउन सकिन्छ, जुन आजको अपरिहार्य आवश्यकता पनि हो ।

दोस्रो : तिनका पाठ्यक्रममा रहेका सम्पूर्ण विषयवस्तुहरूमध्ये कुन–कुन विषय एक–आपसमा कहाँ–कहाँ जोडिन सक्छन् र तिनको सम्बन्ध व्यक्ति, समुदाय र समाजमा कहाँ–कहाँ, कसरी जोड्न सकिन्छ भन्ने पनि विश्लेषण गर्न लगाउनु जरुरी हुन्छ । तल्ला कक्षामा शिक्षक स्वयंले एउटा विषयभित्रका पाठ तथा एउटा विषय अर्काे विषयसँग कसरी जोडिने रहेछ भनेर बुझाउन सक्नुपर्छ भने माथिल्ला कक्षामा स्वयं विद्यार्थीलाई नै यसो गर्न लगाउने र शिक्षक सहजकर्ताको भूमिकामा मात्रै बस्ने हो भने विद्यार्थीले सक्रिय भूमिका निभाउँदै उत्साहका साथ यो कार्य गर्न सक्छन् । यसलाई कक्षागत वार्षिक योजनामा समावेश गर्दा विद्यार्थीमा विषयवस्तुप्रतिको अपनत्व बढ्नुको साथै सिकाइप्रतिको रुचि जगाउन पनि काम लाग्न सक्छ । 

अझ यसलाई त शैक्षिक वर्षको अन्तमा जब वार्षिक परीक्षा सकिएको हुन्छ र नयाँ शैक्षिक सत्र सुरु भएको हुँदैन, त्यतिवेला गराउन सकिन्छ । यसले आगामी विषयवस्तुबारे जिज्ञासा र जानकारीसमेत बढाउन मद्दत गर्न सक्छ । बालबालिकामा ती विषयवस्तुबारे सोच्ने र खोज्ने सीपको पनि विकास गराउन मद्दत गर्छ । साथै, नयाँ शैक्षिक सत्रको सुरुवाती दिनमा यसकै प्रस्तुति गर्ने–गराउने हो भने यसले पूर्ण शैक्षिक सत्रको विषयवस्तुको एउटा चित्र मस्तिष्कमा कोर्न सकिन्छ, जसका आधारमा पाठ योजना बनाउँदा निकै प्रभावकारी बन्न सक्छ ।

तेस्रो : अर्काेचाहिँ नक्कलबाट जोगिने विधि । नक्कलको कुरा गर्दा अक्सर विद्यार्थीको अनुहार याद आउने एउटा स्थापित सोच नै छ । यद्यपि वास्तवमा विद्यालयहरू आफैँ नै नक्कल गर्ने प्रवृत्तिको सिकार भएका हुन्छन् । उनीहरू देशभित्र वा विदेशमा अवस्थित विद्यालयमा कहाँ के अभ्यास हुँदै छ, त्यसको हुबहु नक्कल गर्दै आफ्नो विद्यालय सर्वाेत्कृष्टतातर्फ उन्मुख रहेको भ्रममा लिप्त भेटिन्छन् ।

सहरकेन्द्रित होस् वा ग्रामीण भेग, नक्कलको प्रवृत्तिले अधिकांश विद्यालय ग्रसित भेटिन्छन् । यसले गुणात्मक शिक्षाको मर्मलाई नै घात गरिरहेको हुन्छ । उदाहरणका लागि, अमेरिकाको कुनै विद्यालयमा प्रयोग गरिने ‘डु नाउ’ विधि नेपालको विद्यालयको सन्दर्भमा उपयुक्त नहुन पनि सक्छ । त्यहाँका शिक्षक विद्यार्थीबिचको सम्बन्ध र नेपालको शिक्षक विद्यार्थीबिचको सम्बन्ध नै फरक रहने हुँदा समान औजारले काम गर्न सक्दैन । सिकाइ विधि र प्रक्रियामा विद्यालय कहाँ अवस्थित छ, विद्यार्थी तथा अभिभावकको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था कस्तो छ, बालबालिका बस्ने घर, समुदाय र सांस्कृतिक वातावरण कस्तो छ ? भन्नेले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

तसर्थ, कक्षाकोठा भनेको पूर्ण रूपमा शिक्षकको अधिकार क्षेत्र हो, जहाँ प्रवेश गर्न शिक्षकको अनुमति आवश्यक पर्छ । वास्तवमा कक्षाको सुरुवात कसरी गर्ने अर्थात् ‘डु नाउ’लाई कुनै युनिभर्सल फर्मुलामा राख्न मिल्दैन । किनकि कक्षाकोठाको अवस्था कस्तो छ, त्यो त त्यहाँ प्रवेश गरेपछि मात्रै शिक्षकले महसुस गर्न सक्छ अनि सुरुवात कसरी गर्ने भन्ने कुरा तिनले त्यतिवेलै सोच्नुपर्ने हुन्छ । विद्यालय तहका कक्षामा पछिल्ला सिकाइसँग जोड्नुका साथै भावनात्मक विकास पनि गरिनुपर्ने हुँदा कुनै निश्चित खाकाभित्र ढालेर हरेक कक्षाका विद्यार्थीको सिकाइ सुरुवात सम्भव हुन सक्दैन ।

त्यसैले नक्कलबाट जोगिने विधि सिकाउँदै सिर्जनशील मौलिकताप्रति आकर्षित गर्न सकिन्छ । विद्यालय तहको शिक्षा भनेको सिक्ने प्रक्रिया सिकाउने क्षमताको विकास गराउने थलो हो भन्ने भुल्नु हुँदैन, जहाँ जीवनका लागि आवश्यक सीपहरूको पनि विकाससँगसँगै गर्दै लानुपर्ने हुन्छ । यसमा उसको परिधि, परिस्थितिको पहिचानसँगै समाज र सन्दर्भप्रतिको बुझाइ पनि निकै महत्वपूर्ण हुन्छ । अझ सरल रूपमा भन्दा निर्णय क्षमताको विकास यसरी गरिनुपर्छ । भोलिका दिनमा उसलाई कुनै निर्णय गर्न विद्यालय तहमा सिकेको परिस्थितिको पहिचान, आफ्नो परिधिको बुझाइ अनि सन्दर्भ र अवस्थालाई विश्लेषण गर्ने क्षमताले सघाओस्, न कि उसले कण्ठस्थ पारेको कुनै सिद्धान्तको आधारमा निर्णय लिनु परोस् । 

यसो भनिरहँदा कतिपय कुतर्क नआउलान् भन्न सकिन्न । कसैले भन्न सक्लान्– विज्ञान विषय पढाउँदा सिद्धान्त पढाउनुपर्दैन ? यसको सामान्य जवाफ हुन्छ– सिद्धान्त सिकाउन पहिला विद्यार्थीको दैनिकी तथा उसको वरपरको गतिविधिभित्र उक्त सिद्धान्त जोडिएको देखाउँदै उपयुक्त उदाहरणबाट सुरुवात गर्दै त्यो सिद्धान्तलाई बुझाउन सकिन्छ । समग्रमा, विद्यालय तहको शिक्षाप्रति सबै सरोकारवालाले सही चिन्तनका साथ सहयोग गर्न जरुरी छ । विद्यालय समाजका लागि नयाँ पुस्ता निर्माण गर्ने थलो पनि हो, जहाँको सानो हेलचेक्य्राइँले समाजलाई लामो समय पिरोल्नेछ । 

(झा समाजशास्त्री हुन्)