१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २५ शुक्रबार
  • Sunday, 08 September, 2024
अपूर्वानन्द
२o८१ जेठ २५ शुक्रबार १o:१o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हारका बाबजुद पनि विपक्षी किन खुसी ?

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o८१ जेठ २५ शुक्रबार १o:१o:oo

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पाँच सय ४३ सिट भएको लोकसभामा चार सय सिटको लक्ष्य राखेको थियो । तर, ऊ दुई सय ४० सिटमा समेटिएको छ, जुन सन् २०१९ को चुनावका तुलनामा ६३ सिटले कम हो । यस अर्थमा भाजपा कमजोर भएको छ । गठबन्धन साझेदारसँग मिलेर अर्को सरकार बनाउन सक्षम हुँदा पनि भाजपाले भारतीय मतदाताबाट आफूले खोजेको पूर्ण जनादेश भने पाउन सकेन ।

हालैको भारतीय चुनावले कुनै एक विचार वा आवाजको पूर्ण प्रभुत्वको अवधारणालाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनर्जीवित गरेको छ । जनताले भारतका विविध परिदृश्यमा एक धर्मका अनुयायीलाई अलग्गै राख्ने र तिनीहरूविरुद्ध बहुसंख्यकलाई परिचालन गर्ने विषयलाई नकारेका छन् । यस नतिजाले नयाँ भाजपा सरकारअन्तर्गत पनि धर्मनिरपेक्ष भारतका लागि आशा जीवितै बनाएको छ र राजनीतिक परिवर्तनको सम्भावनाको संकेत गरेको छ । चुनावी अभियानताका मुख्यतया मोदीको निरपेक्ष शक्तिको खोजी अभूतपूर्व थियो । अर्थात्, मोदीले आफूलाई केन्द्रीय व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै सबै उम्मेदवार आफ्ना प्रतिनिधि हुन् भन्नेमा जोड दिएका थिए ।

मोदीको अभियानले साम्राज्यवादी महत्वाकांक्षा प्रकट गरेको थियो, जहाँ उनले आफूलाई मुगल अत्याचारको बदला लिन र भारतमा हिन्दू शासन स्थापना गर्ने हिन्दू सम्राट्का रूपमा प्रस्तुत गरेका थिए । उनले मुसलमानविरोधी भावनालाई उत्तेजित गर्दै विपक्षीलाई मुसलमान समर्थक र हिन्दूविरोधीका रूपमा चित्रण गरेका थिए । उनले विपक्षी शासन अर्थात् कंग्रेस शासनमा मुसलमानले सम्पत्ति जफत गर्ने भन्दै मतदातालाई चेतावनी पनि दिएका थिए । उनको भाषण घृणाले भरिएको थियो र यसको उद्देश्य मतदातालाई भयभीत गराउनु थियो । 

मतदाताले मोदीको नेतृत्वमा भारतको संवैधानिक मूल्य–मान्यतामा खतरा भएको भन्दै भाजपाको अपमानजनक भाष्यलाई अस्वीकार गरेका छन्

केवल मुसलमानविरोधी र हिन्दू राष्ट्रवादी मोर्चा उठाएका मोदी असफल साबित भएका छन्, किनभने उनी इच्छित जनादेश सुरक्षित गर्न असफल भएका छन् । जनादेशले भारतमा ध्रुवीकरणयुक्त भाष्यको सीमितता र विभाजनकारी एजेन्डामा जनताका दैनिक आवश्यकता सम्बोधन नहुनेमा जोड दिएको छ । हिन्दू राष्ट्रवादमा सरकारको आसक्तिले आफ्नो आर्थिक सम्भावनालाई ओझेलमा पारेको महसुस गर्दै धेरै हिन्दू युवा निराशा महसुस गर्छन् ।

ग्रामीण इलाकामा आर्थिक संकट प्रस्ट देखिन्छ । नतिजा आफ्नो अक्षमता लुकाउन खोज्ने मोदीविरुद्ध धेरै युवा चुनावी अभियानमा अग्रसर भएका थिए । मोदीले हालै हिन्दू देवता रामलाई समर्पित मन्दिरको उद्घाटन गरे पनि अयोध्यामा भाजपालाई ठूलै प्रतीकात्मक हार भएको छ । अयोध्या सहरले हिन्दू राष्ट्रवादी राजनीति र भाजपाको उदयमा सन् १९९२ मा १६औँ शताब्दीको बाबरी मस्जिदको विध्वंस र त्यसको ठाउँमा राम मन्दिर निर्माण अभियानले केन्द्रीय भूमिका खेलेको थियो ।

तर, राम मन्दिरको उद्घाटन गरे पनि अयोध्याका मतदाताले सत्तारुढ दललाई पन्छाएका छन् । मोदीले वाराणसीमा जित हासिल गरेका छन्, जसलाई उनले रूपान्तरण भनेर दाबी गर्छन् । तर, सन् २०१९ को चुनावमा उनको विजय करिब चार लाख ८० हजारले भोटले भएको थियो, तर अहिले एक लाख ५० हजार मतले मात्रै जितेका छन् । 

मतदाता भाजपा पूर्ण बहुमत ल्याए संविधान परिवर्तन गर्ने सम्भावना देखेर चिन्तित भएका थिए । नतिजा दलित र पिछडिएका समूह आफ्नो संवैधानिक अधिकार रक्षा गर्न परिचालित भए । इन्डिया गठबन्धनअन्तर्गत एकताबद्ध विपक्षीले असंख्य चुनौतीको सामना गर्दा पनि भारतको संवैधानिक लोकतन्त्रको रक्षा गर्न मतदातालाई हौस्याएका थिए । इन्डिया गठबन्धनले जित्न नसके पनि लोकसभामा आफ्नो स्थिति सुधारेको छ ।

चुनावअघि विपक्षी चुनावका लागि कोष संकलन गर्ने मामिलामा भाजपाभन्दा धेरै पछाडि थिए । सरकारी निकायले कंग्रेसको खाताबाट जबर्जस्ती रकम निकालेर बैंक खाता सिल गरेपछि अवस्था थप बिग्रियो । विपक्षी नेताले उत्पीडनको सामना गर्नुप¥यो, केहीले छापा र आफ्नाविरुद्ध कानुनी मुद्दासमेत झेलेका थिए । चुनाव हुनुभन्दा केही महिनाअघि विपक्षी दलका झारखण्ड र दिल्लीका मुख्यमन्त्रीसमेतलाई पक्राउ गरिएको थियो ।

प्रभावशाली सञ्चारमाध्यमले भाजपाको प्रचार मञ्चका रूपमा काम गरेपछि विपक्षीले पक्षपाती मिडिया परिदृश्यबाट चुनौतीको सामना गरेको थियो । चुनावी अभियानका क्रममा मूलधारका सञ्चारमाध्यमले विपक्षीविरुद्ध स्पष्टतः पक्षपातपूर्ण व्यवहार देखाएका थिए । यसबाहेक निर्वाचन आयोगले भारतीय इतिहासमा पहिलोपटक निर्वाचन आचारसंहिताको उल्लंघन, मतदाताको दबाब र मतदाता सूचीमा भएको हेरफेरको गुनासोलाई बेवास्ता गर्दै खुला रूपमा भाजपाको पक्ष लिएको थियो ।

भारतीय मतदाताले शिष्टता, सभ्यता र आपसी सम्मानको चाहनालाई जोड दिँदै भाजपा र राजनीतिक सम्भ्रान्त वर्गलाई स्पष्ट सन्देश दिएका छन् । मतदाताले मोदीको नेतृत्वमा भारतको संवैधानिक मूल्य–मान्यतालाई खतरा भएको भन्दै समुदाय विशेषलाई लक्षित गर्ने र दानवीकरण गर्ने भाजपाको अपमानजनक भाष्यलाई अस्वीकार गरेका छन् । जनादेशले धर्मनिरपेक्षताको रक्षा, अल्पसंख्यक अधिकारको संरक्षण र समानता, स्वतन्त्रता, न्याय र भ्रातृत्वका मूल्यलाई प्रतिबिम्बित गर्ने बहुलवादी समाजको संरक्षणलाई प्राथमिकता दिन्छ । आशा गरौँ, भारतका संवैधानिक संस्थाले यो जनादेश बुझ्नेछन् र साहसका साथ आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्नेछन् । 

भाजपासँग अब मोदीको प्रभुत्वबाट मुक्त भएर एक सामान्य एवं विधिसम्मत राजनीतिक दलका रूपमा काम गर्ने अवसर छ । हाल भाजपाभित्र सबै नेता–कार्यकर्ता पार्टी अगुवाका अधीनस्थ छन् । भाजपाभित्रका शक्तिशाली व्यक्तित्वलाई मोदी र अमित शाहले किनारा लगाएका छन् । यी चुनावी नतिजाले भारतलाई आफूलाई पुनः खोज्ने र विगत एक दशकदेखि हिन्दू राष्ट्रवादको विभाजनकारी राजनीतिले बनाएको घाउलाई निको पार्ने मौका दिएको छ ।
(अपूर्वानन्द दिल्ली विश्वविद्यालयका हिन्दीका शिक्षक हुन्) अल जजिराबाट