१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
अपूर्वानन्द
२o८१ जेठ ४ शुक्रबार o८:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दूहरूले चिन्ता गर्ने समय

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२२:oo

इदको वेला थियो । मुसलमानलाई गैरमुसलमानले शुभकामना दिइरहेका थिए । यो स्वाभाविक पनि थियो । तर, खुसीको त्यो क्षणबीच कसैले मलाई एउटा भिडियो पठायो । चर्चित गायक सान आफ्ना प्रशंसकसँग केही भन्दै थिए । इदका दिन टोपी लगाएर आसिक मागेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि हिन्दू दर्शकबाट उनले निकै आलोचना खेप्नुपरेछ । पहिले त सानले यसलाई नजरअन्दाज गर्ने प्रयास गरेछन्, तर धेरै आलोचना हुन थालेपछि उनले केही भन्ने निधो गरेछन् । निकै शालीनतासाथ उनले अन्य धर्मप्रति लगाव प्रस्तुत गर्नु किन जरुरी छ भन्ने आफ्नो मत राखे । आफ्नो विनम्र शैलीमा उनले दृढतासाथ भने– सबैसँग सद्भाव राखिनुपर्छ । 

इदका दिन सानलाई सुन्दै गर्दा म भने हिन्दूको चिन्ता गरिरहेको छु । भारतका हिन्दूको मात्रै होइन, अन्य मुलुकमा पुगेर जीवन चलाउँदै गरेका हिन्दूको पनि । उनीहरूबारे राम्रोसँग मन्थन गरिएको छैन । उनीहरूभित्र र उनीहरूसँग जे भइरहेको छ, त्यसको राम्रो खोजी गरिएको छैन । उनीहरूले जे गरिरहेका छन् र स्वयंलाई जसरी फेर्दै लगेका छन्, त्यसबारे राम्रोसँग चिन्तन पुगेको छैन । उनीहरूको सामूहिक सामाजिक मनोवैज्ञानिक स्वास्थ्यको चिन्ता कसैले गरिरहेको छैन । सानले यसै चिन्तालाई आफ्नो कार्यक्रमअघि महसुस गरे र एउटा सन्देश दिनुपर्ने आवश्यकता देखे ।

भारतका मुसलमानबारे पछिल्ला वर्षमा धेरै लेखिएका छन्– उनीहरूमाथि हुँदै गरेका हिंस्रक हमलाबारे, उनीहरूको हत्या र उनीहरूलाई उनकै घरबाट बेदखल गरिएकोबारे, उनीहरूले दैनन्दिन व्यहोर्नुपर्ने अपमानबारे, उनका साथ राज्य र समाजद्वारा गरिने अन्यायबारे । भारतको मुसलमान समुदायमा बढ्दो अवसादबारे । मुस्लिमहरू यो सबै झेल्दै छन् र जीवन जिउनकै लागि संघर्ष गरिरहेका छन् । उनीहरूको संघर्षको कथा बिलकिस बानोले भन्दा राम्रो गरी कसले भन्न सक्ला । सिंगो राज्यशक्ति लाग्दा पनि उनी त्यसविरुद्ध संघर्ष गर्दै आफू जिउँदो भएको प्रमाण दिइरहेकी छन् । उनको बोलीमा शिष्टता अवश्य छ, तर अनुहारमा विचरीको भाव छैन । खालिद सैफी तीन वर्षदेखि जेलमा थियो र जम्मा ६ घन्टाका लागि घरमा आउँदा पनि ऊ मुसुक्क हाँसिरहेको थियो । त्यतिवेलासमेत उसले आफ्नी आमाको नङ काटेर प्रेम प्रदर्शन गरिरह्यो । 

हिन्दूको एउटा तप्काले त्यस्ता राजनीतिक नेतालाई आफ्ना प्रतिनिधिका रूपमा चुन्ने गर्छ, जसको कामै अन्य समुदायविरुद्ध घृणा फैलाउनु हो 

सर्वोच्च अदालतको अन्यायका बाबजुद जकिया जाफरीले न्यायका लागि संघर्ष छोडेकी छैनन् । रामनवमीमा हिंसा र अश्लीलता व्यहोरेर पनि मुसलमानहरू उल्लाससाथ इद मनाउँदै छन् । यो सबै मुस्लिममा मानवता मरेको छैन भन्ने प्रमाण हो । यही कुरा हिन्दूबारे भन्न कठिन हुँदै गइरहेको छ । म रामनवमीको कुरा गरिरहेको छैन, त्यो अब रामका लागि न्यून, मुस्लिमका लागि धेरै हुँदै गइरहेको छ । राम त मुसलमानविरुद्ध घृणा प्रकट गर्ने साधान मात्र हुन् । रामनवमीको केही दिनमै आएको इदमा मुस्लिमले देखाएको सामूहिक सद्भावले नै यो प्रसंग स्पष्ट हुन्छ ।

हिन्दू संगठन त यस्ता छन्, जसको कामै मुसलमान र इसाईविरुद्ध घृणा प्रचार गर्नु हो । तर, मुस्लिम र इसाईका त्यस्ता संगठन छैनन् । हिन्दूको एउटा तप्काले त्यस्ता राजनीतिक नेतालाई आफ्ना प्रतिनिधिका रूपमा चुन्ने गर्छ, जसको कामै अन्य समुदायका खिलाफ घृणा फैलाउनु हो । तर, मुस्लिमले यस्तो गरेका छैनन् । हामीले यस विषयमा कहिल्यै कुरा गरेनौँ । पछिल्लो केही समययता झारखण्ड, गुजरात, मध्यप्रदेश, उत्तर प्रदेश र अन्य राज्यबाट असहज बनाउने समाचार आइरहेका छन् । गत वर्ष गुजरातको एउटा विद्यालयले केटाकेटीलाई मस्जिद भ्रमण गराउने कार्यक्रम आयोजना ग¥यो । यो सुन्नेबित्तिकै अभिभावक भड्किए । सबै होइनन्, केहीले यसलाई राम्रो पनि माने तर उनीहरू यति भयभीत थिए कि उनीहरू पनि विद्यालयको पक्षमा उभिन सकेनन् ।

हिजोआज के देखिँदै छ भने हिन्दू संगठन र हिन्दू अभिभावक कुनै पनि खाले धार्मिक सद्भावको संकेत पाउनेबित्तिकै भड्किन्छन् । उनीहरू अन्य धर्म, समुदायका मानिसले आफ्नो धार्मिक आस्थाको अभ्यास गरेकोसमेत सहन सक्दैनन् । पहिले खुला मैदानमा नमाज पढेको विषयलाई लिएर हमला गरियो । अब मुसलमानले आफ्नै घरमा नमाज पढेको विषयमा छिमेकी हिन्दूले असहमति व्यक्त गरिरहेको छ । उनीहरू आफ्नो टोलमा मन्दिर बनाएर ठूलो स्वरमा माइक बजाउन सक्छन्, तर मुसलमानले कुनै चाडपर्वमा आफ्नो घरमा आफन्त बोलाएर खुसी साटासाट गरेको सहन सक्दैनन् ।

आफ्ना चाडपर्वमा हिन्दूहरू गिर्जाघर गएर हनुमान चालिसा पाठ गर्छन् र उनीहरूमाथि नै हमला गर्छन् । संगठित र सामूहिक हिंसा वा घृणाबाहेक पनि के देखिँदै छ भने कुनै संगठनको आडबेगर पनि हिन्दूमा अर्को समुदायप्रति घृणा व्यक्त गर्ने लोभ अश्लीलता हदसम्म पुगिसकेको छ । मुसलमान महिलाको खुलेआम अनलाइन लिलामी होस् वा उनीहरूविरुद्ध गालीगलोज होस्, त्यसैको उदाहरण हो । अब यसलाई कतैबाट सञ्चालित गर्नुपर्दैन । हिन्दू युवाहरू स्वेच्छापूर्वक घृणा र गालीगलोज फैलाउँदै छन् । हिन्दूहरू अन्य धर्म र समुदायको पवित्र दिनमा सबैभन्दा धेरै अश्लील टिप्पणी गर्छन् । हिन्दूमा घृणा र अश्लीलताको यो संक्रमण अब महामारी बनिसकेको छ । यस्तो रोगी मनले स्वस्थ सम्बन्ध कसरी स्थापित गर्न सक्छ ? 

(लेखक दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउँछन्) द वायरबाट

ad
ad