मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Monday, 16 December, 2024
अपूर्वानन्द
२o८१ असार १३ बिहीबार १o:४९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मुसलमानविरोधी हिंसामा विपक्षीको आश्चर्यजनक मौनता

Read Time : > 2 मिनेट
अपूर्वानन्द
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार १o:४९:oo

हाम्रो राष्ट्र संकटमा परेका वेला हामीले यो घटनालाई ध्यान दिनैपर्छ । हामी अब यस्तो विन्दुमा पुगेका छौँ, जहाँ धर्मको प्रयोग गरेर भिडले गर्ने हिंसा र सडकको न्यायको औचित्य प्रमाणित गर्दै संविधान, कानुन र राज्यको स्पष्ट उल्लंघन गरिरहेका छौँ ।’

यो भनाइ कुनै भारतीय मन्त्री वा नेताको होइन, पाकिस्तानको राष्ट्रिय सभामा बजेट बहसका क्रममा पाकिस्तानका योजनामन्त्री एवं पाकिस्तान मुस्लिम लिग (नवाज) पार्टीका नेता अहसान इकबाल चौधरीको हो । पाकिस्तानको स्वात जिल्लामा कुरानका पाना जलाएको आरोपमा सियालकोटका ४० वर्षीय मोहम्मद इस्माइलको भिडले गरेको हत्यापछि इकबालको प्रतिक्रिया आएको थियो ।

भिडको हिंसा (लिन्चिङ) कुनै पृथक् घटना नभएको उल्लेख गर्दै मन्त्रीले सियालकोट, जरनवाला र सरगोधामा भएका यस्तै हत्याको स्मरण पनि गरेका थिए । इकबालको इमानदार पीडाको अभिव्यक्तिले साहस झल्काउँछ । ईश निन्दा र पैगम्बरको अनादर पाकिस्तानमा गम्भीर संवेदनशील मुद्दा हुन्, जहाँ कसैमाथि यस्तो आरोप लाग्दा घातक परिणाम व्यहोर्नुपर्ने हुन सक्छ । आफैँ पनि भिडहिंसाको आक्रमणबाट बाँचेका इकबाल बोलेका छन् र उनको अभिव्यक्तिले सामाजिक सञ्जाल मञ्चमा व्यक्त व्यापक निराशा र क्रोधलाई झल्काउँछ । पाकिस्तानको प्रमुख दैनिक डनले घटनाको सम्पादकीयमा यस्तो लेखेको छ :

हालैको लोकसभा चुनावको परिणामले विपक्षीमाझ धर्मनिरपेक्षतालाई प्रेरित गर्न सक्दैन भने यी पार्टीको नयाँ शक्तिको अर्थ छैन
 

‘हिंसा गर्ने भिडले अर्को पीडित पैदा गरेको छ । यसपटक स्वातको मद्यान क्षेत्रमा बिहीबार ईशनिन्दाको आरोपमा एक व्यक्तिलाई जिउँदै जलाइएको क्रूर घटना सतहमा आएको छ । पीडित प्रहरी हिरासतमा हुँदाहुँदै पनि प्रहरीले भिडको ‘न्याय’ रोक्न सकेन । यस प्रकारको घृणित व्यवहार पाकिस्तानमा सामान्य भएको छ, किनभने यस्ता घटना डरलाग्दो आवृत्तिसाथ भइरहेका छन् । धेरैजसो मामिलामा व्यक्तिलाई ईश्वरनिन्दाको आरोपमा लिन्च (भिडले गर्ने भौतिक हिंसा) गरिन्छ । यति मात्रै होइन, संदिग्ध अपराधीलाई पनि भिडले पिटेर वा गोली हानेर मारिन्छ । यी दुवै किसिमका ‘भिड न्याय’ले राज्यको क्षीण हुँदै गएको शक्ति झल्काउँछ ।’

‘अन्यायपूर्ण रूपमा आक्रमण गर्ने र व्यक्ति हत्यामा जिम्मेवार व्यक्तिलाई तत्काल कारबाही आवश्यक छ, तर व्यापक सामाजिक अतिवादलाई सम्बोधन गर्न वर्षौं वा दशकौँ लामो प्रयास आवश्यक पर्छ । समस्या गम्भीर छ र समाधान सजिलो छैन । घृणा फैलाउने प्रभावशाली व्यक्तित्वलाई नियन्त्रण गर्नु महत्वपूर्ण छ र यो सरकारका लागि उच्च प्राथमिकता हुनुपर्छ भन्ने स्पष्ट छ । यसबाहेक शैक्षिक संस्था र धार्मिक शिक्षामा सहअस्तित्व एवं सहिष्णुता प्रवद्र्धनले पनि यी चुनौतीलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

यो त भयो पाकिस्तानको कुरो, भारतमा के भइरहेको छ ? हालैका सातामा भारतले धेरै यस्ता घटना देखेको छ, जहाँ हिन्दू भिडले मुसलमानलाई आक्रमण गरेका छन्, परिणामस्वरूप मृत्यु, सम्पत्तिमा क्षति र जबर्जस्ती विस्थापनका घटना सतहमा आएका छन् । छत्तीसगढ, मध्यप्रदेश, उत्तरप्रदेश, गुजरात, राजस्थान र तेलंगानाजस्ता राज्यमा देखिएका यी घटनालाई गाईको मासु सेवन वा गौहत्यालाई लिएर हिन्दू आक्रोशको बहानामा जायज ठहर्‍याइएको छ । अचम्मलाग्दो के छ भने राज्यका अधिकारीले कहिलेकाहीँ उल्टै मुसलमान पीडितका घर भत्काएर स्थितिलाई थप बिगारेका छन् ।

हालैको लोकसभा चुनावपछि यस्ता घटनामा उल्लेखनीय वृद्धि भएका छन् । केही हिन्दूले बकर इदका समयमा मुसलमानले गर्ने कुर्बानी (बलिमा) आपत्ति जनाएका छन् । अहिंसाप्रतिको प्रतिबद्धताको दाबी गर्दै यी हिन्दू जनावरको हत्याका नाममा मुसलमानविरुद्ध हिंसा गरिरहेका छन् । चाखलाग्दो के छ भने विपक्षी नेता–पार्टी जसलाई प्रायः मुसलमान समर्थकको बिल्ला भिराइएको छ, तिनै पार्टी–नेता मौन छन् ।

त्यसो भए मुसलमानले यी पार्टीलाई किन भोट दिए ? उत्तर स्पष्ट छ, उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) को मुसलमानविरोधी नीतिको विरोध गरेका थिए । यस अवस्थामा यो जनादेशप्रति प्रतिपक्षको प्रतिक्रिया के छ ? यसको उत्तर पनि सहज देखिन्छ, यी प्रतिपक्ष मुसलमानविरुद्ध हिंसाका घटनाबाट पन्छिएका छन् । कतिपय साथीले एनटिए परीक्षामा भएको भ्रष्टाचारलाई लिएर सरकारको आलोचना गर्नमा केन्द्रित रहेको तर्क गरेका छन् ।

भारतमा एनटिए परीक्षा अनियमितताले व्यापक समर्थन पाएको छ । यसकारण मुसलमानलाई लक्षित गरी हिंसाविरुद्ध बोल्दा यो समर्थन आधार टुट्न सक्ने डर देखिन्छ । तसर्थ, यी मुद्दामा प्रतिपक्ष मौन छन् । यो कायरतापूर्ण र अनैतिक रणनीतिलाई केही समय स्विकार्ने हो भने पनि पत्रपत्रिका र अन्य मिडियाको यसप्रतिको मौनतालाई कसरी लिने ? किन पत्रपत्रिका र अन्य मिडियाले यी मामिलामा प्रतिक्रिया उचित ठानेनन् ? 

मुसलमानविरुद्धको हिंसामा व्यापक मौनताले भारतीय र विशेषतः हिन्दू समाजमा सामाजिक चेतना शून्य भएको झल्काउँछ । हिन्दुत्वको उदयबारे विपक्षीको चिन्ताका बाबजुद मुसलमानलाई लक्षित गर्ने हिंसाको निन्दाको उल्लेखनीय अभाव छ । मुसलमान र इसाईलाई लक्षित गर्ने हिन्दुत्व सैद्धान्तिक अवधारणा मात्र नभई हिंसामा प्रकट हुने वास्तविकता पनि हो । यी हिंसा सीधा मोदी र भाजपाद्वारा चुनावी अभियानमा भड्काइएको मुसलमानविरोधी भावनासँग जोडिएको छ, अर्थात् मोदी जवाफदेही छन् ।

भाजपालाई कमजोर बनाउन र विपक्षीलाई बलियो बनाएको भन्दै मुसलमानलाई प्रताडित गरिँदै छ, तर मुसलमान अल्पसंख्यकको समर्थनबाट लाभ उठाउनेहरू उदासीन छन् । यसले हाम्रो समाज र राजनीतिक व्यवस्थामाथि प्रश्न खडा गरेको छ । यदि हालैका परिणामले विपक्षमाझ धर्मनिरपेक्षतालाई प्रेरित गर्न सक्दैन भने यी पार्टीको नयाँ शक्तिको अर्थ छैन । विपक्षीले समय घर्किनुअगावै जनादेशको औचित्य प्रमाणित गर्न तीव्र गतिमा काम गर्नुपर्छ ।

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी अध्यापन गर्छन्) द वायरबाट