
इन्डोनेसियामा हालै भएको आमविरोध प्रदर्शनका क्रममा जकार्तामा राजनीतिज्ञको लुटिएका घरले अप्रत्याशित पीडितहरूको खुलासा गर्यो : बिरालाहरू । जब तिनका मालिकहरू (राजनीतिक दलका नेताहरू) सुरक्षाका लागि घर छाडेर भागे बिरालाहरू घरमै छुटे भने केहीको चोरी भयो । ती बिराला अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । तिनका राजनीतिज्ञ मालिकहरू सेलिब्रेटीबाट सांसद बनेका उया कुया र नेसनल म्यान्डेट पार्टी (पिएएन) का इको प्याट्रिओलाई आफ्ना घरपालुवा जनावरलाई ‘त्यागेको’ आरोप लगाइयो । तर, यो आरोपलाई उनीहरू ठाडै अस्वीकार गर्छन् । घरमा लुटेराहरू आउनुअघि आफूहरूसँग बिराला सम्हाल्ने कुनै अवसर नै नरहेको उनीहरूको तर्क छ । सत्य जे भए पनि चिन्तित नागरिकले उद्धार गरेका यी त्रसित बिरालाका तस्बिरले इन्डोनेसियामा गहिरो तनाव ल्याएको छ । प्रदर्शनकारी र समुदायका सदस्यले यी घटनालाई राजनीतिज्ञले समाजको सबैभन्दा जोखिममा रहेको कमजोरलाई हेर्नुपर्ने कर्तव्यमाथि विश्वासघातको प्रतीकका रूपमा हेर्न थालेका छन् ।
राजनीतिक लोकप्रियता बढाउन बिरालाको उपयोग : एसिया–प्रशान्त क्षेत्रमा बिरालोको स्वामित्वमा उच्चतम दर भएको इन्डोनेसियामा बिरालाहरू अत्यन्त लोकप्रिय छन् । इन्डोनेसिया एउटा बहुसंख्यक मुस्लिम देश हो र इस्लाममा बिरालाको उच्च स्थितिले त्यहाँ बिराला किन यति लोकप्रिय छन् भनेर व्याख्या गर्न सक्छ । यद्यपि, बिरालाको सांस्कृतिक महत्वबाहेक हालैका घटनाले इन्डोनेसियामा राजनीतिक छवि निर्माणको प्रकृतिमा पनि अन्तर्दृष्टि प्रदान गर्छ । राजनीतिज्ञले आफ्नो लोकप्रियता बढाउन बिरालालगायत अन्य जनावर प्रयोग गर्ने घटना अवश्य पनि नयाँ गतिविधि होइन, न त यो अद्वितीय रूपमा इन्डोनेसियाली नै हो ।
विन्स्टन चर्चिलको युद्धकालीन बिरालो नेल्सनदेखि बिल क्लिन्टनको बिरालो मोजा वा डाउनिङ स्ट्रिटको ‘प्रमुख बिरालो’ ल्यारीसम्म राजनीतिज्ञले लामो समयदेखि आफ्नो सार्वजनिक छविलाई न्यानो, पहुँचयोग्य, सान्दर्भिक र मानवीय रूपमा सावधानीपूर्वक देखाउन घरपालुवा बिरालालाई प्रयोग गर्दै आएका छन् । इन्डोनेसियाको प्रमुख उदाहरण राष्ट्रपति प्रबोवो सुबियान्तो र उनको उद्धार गरिएको खैरो कालो बिरालो बबी केर्टानेगारा हुन् । बबीको इन्स्टाग्राममा लगभग १० लाख फलोअर छन् । उसलाई खुवाएका, खेलेका र अँगालो हालेका तस्बिरले गत वर्षको राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा पूर्वसेना प्रमुखसमेत रहेका प्रबोवोको सार्वजनिक छविलाई परिवर्तन गर्न मद्दत गर्यो । उनी शंकास्पद मानव अधिकार रेकर्ड भएका शक्तिशाली व्यक्तिबाट एक नम्र, ज्ञानी र जनावरलाई माया गर्ने हजुरबुबा बने ।
अब इन्डोनेसियाको ‘प्रथम बिरालो’ बबीलाई विलासी घरपालुवा जनावरको घुमाउरो गाडीमा घुमाइन्छ र उसको आफ्नै सुरक्षा विवरण छ । ऊ राज्यका महत्वपूर्ण समारोहमा उपस्थित हुन्छ, जहाँ उसले विदेशी नेताबाट महत्वपूर्ण र महँगा उपहार प्राप्त गर्छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले हालै बबीलाई उपहारस्वरूप महँगो स्कार्फ प्रदान गरेका थिए । उपराष्ट्रपति जिब्रान राकाबुमिङ राका र जकार्ताका पूर्वगभर्नर तथा ०२४ का राष्ट्रपति पदका उम्मेदवार एनिस बास्वेदानले पनि इन्डोनेसियामा आफ्नो सार्वजनिक छवि बलियो बनाउन आफ्ना घरपालुवा जनावरलाई प्रयोग गरेका छन् ।
हालसालैको प्रदर्शन : जकार्तामा हालै भएका विरोध प्रदर्शन सांसदको प्रस्तावित भत्तावृद्धिदेखि राजनीतिक वर्गप्रतिको आमआक्रोशका कारण पनि भएका थिए । राजनीतिज्ञको विलासी जीवनको विवरण एक्सपोज भएपछि आक्रोश तीव्र भएको छ, किनकि सामान्य इन्डोनेसियाली नागरिक उच्च जीवनयापन लागत र युवा बेरोजगारी दरसँग निकै संघर्ष गरिरहेका छन् । हालैका विरोध प्रदर्शनमा धेरै हाई–प्रोफाइल राजनीतिज्ञको घर लुटिएको थियो । कुया र प्याट्रिओले आफ्ना बिराला छाडेको रिपोर्ट सार्वजनिक भएका थिए, जसमध्ये केही बिरालालाई लुटेराले लगेका थिए वा चिन्तित नागरिकले उद्धार गरेका थिए । यीमध्ये धेरै दाबीलाई राजनीतिज्ञले विवादित गरेको भए पनि भाइरल पोस्टमा गरिएको टिप्पणीमा सोधिएको छ, यदि राजनीतिज्ञले आफ्नै घरपालुवा जनावरको जिम्मेवारी लिन सक्दैनन् भने उनीहरूले प्रतिनिधित्व गर्ने नागरिकको हेरचाह गर्न उनीहरूलाई कसरी विश्वास गर्न सकिन्छ ?
राजनीतिक छवि निर्माण : यी बिरालाप्रति सामाजिक सञ्जालको चासोले तत्कालै तिनका मालिकबाट प्रतिक्रिया आउन सुरुवात भयो । कुया र प्याट्रिओ दुवैले बिराला ‘त्यागिएको’ दाबीलाई अस्वीकार गरे । उनीहरूको तर्क छ कि जब उनीहरूको घर लुटपाटका लागि लक्षित गरिएको थियो, जनावरहरू आफैँ भागेका थिए, अर्थात् उनीहरूले बिरालालाई समात्ने वा तिनको उद्धार गर्ने कुनै अवसर नै पाएनन् । दुवैले आफ्ना घरपालुवा जनावर फिर्ता गर्न अपिल गरेका छन्, जसले समुदायबाट केही समर्थन प्राप्त गरेको छ । यद्यपि, राजनीतिज्ञहरूको प्रतिष्ठामा भने क्षति पुगेको छ । सामाजिक सञ्जालको युगमा घरपालुवा जनावर दोधारे तरबार साबित भएका छन् । एकपटक राजनीतिज्ञको छविलाई नरम बनाउन र सार्वजनिक समर्थन उत्पन्न गर्न प्रयोग गरिएका तिनै बिराला अब राजनीतिज्ञलाई बेवास्ता गर्ने र सम्पर्कबाहिरका रूपमा प्रस्तुत गर्ने कथामा तानिएका छन् ।
कतिपयले अभिजात वर्गले जनतालाई गर्ने विश्वासघातका रूपमा हेर्दा तिनीहरू त्यसको रूपक बनेका छन् । यी बिराला त्यागिएका घटनाले सामाजिक सञ्जालको युगमा राजनीतिक छवि निर्माणको अनिश्चित प्रकृतिलाई पनि प्रकट गर्छन् । जहाँ एक समय सामाजिक सञ्जालले राजनीतिक घरपालुवा जनावरलाई सार्वजनिक श्रद्धा बढाउन प्रयोग गर्न सक्षम बनाउँथ्यो, अब यो प्रतिक्रियाको माध्यम बनेको छ ।
(द कन्भर्सेसनका लागि सेटियावान, चार्लोट र क्रेमरको आलेख)