मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ पौष ४ बिहीबार o७:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गोर्खालाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार o७:१९:oo

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड पहिलो झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मोफसलको गोर्खा ब्वाइज रुपन्देही क्लबलाई बुधबार ३–० ले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दीपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले समान समान एक गोल गरेका थिए । खेलको २९औँ मिनेटमा दीपेशले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । उनले पोस्टभन्दा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरेका हुन् । 

खेलको ४०औँ मिनेटमा चर्च ब्वाइजले २–० को अग्रता लियो । विदेशी खेलाडी आर्मन्डले समीर तामाङको कर्नर किकमा हेडिङ गोल गरेका हुन् । ब्वाइजले पहिलो हाफको अतिरिक्त समयमा ३–० को अग्रता लियो । डिकाले चर्च ब्वाइजलाई तेस्रो गोलको अग्रता दिलाएका हुन् । डिबक्सअगाडि सुरजज्यू ठकुरीले चर्च ब्वाइजका खेलाडीलाई फल गरेका थिए । कमल श्रेष्ठको फ्रिकिकमा डिबक्सभित्र अनमार्कमा रहेका डिकाले सहजै हेडिङ गोल गरे । 

खेलको २४औँ मिनेटमा चर्च ब्वाइजका समीरको कर्नर प्रहारबाट आएको बललाई गोर्खाका गोलरक्षक निशान रानाले पन्च गर्दै बचाए । २६औँ मिनेटमा समीरको क्रसमा डिबक्समा रहेका आर्मन्डको प्रहारलाई गोलरक्षक रानाले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफको पहिलो मिनेटमै गोलरक्षक रानाले चर्च ब्वाइजका एडपिल्लाको वान भर्सेस वानको अवस्थामा टोलीलाई गोल खानबाट रक्षा गरे । खेलको ७०औँ मिनेटमा समीरले गोर्खाका गोलरक्षक राना बिट भएको समयमा पनि गोल गर्न सकेनन् । चर्च ब्वाइजका सनम भुजेलले अन्तिम इन्जुरी समयमा प्रहार गरेको बल बारमा लागेको थियो । 

निरीह गोर्खाका खेलाडी
चर्च ब्वाइजले प्रतियोगितामा तीन विदेशी खेलाडी समावेश गरेको छ । उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दा गोर्खा निरीह देखियो । खेलको अधिकांश समयमा चर्च ब्वाइजले दबाब राखेको थियो । चर्च ब्वाइजको बलियो डिफेन्स लाइन गोर्खाका खेलाडीले तोड्न सकेनन् । ६५औँ मिनेटमा गोर्खाका सुजित बुढाथोकीको प्रहार अकासियो । ८२औँ मिनेटमा रिचार्डले बक्सनजिकैबाट गरेको बल फ्रेममा परेन । बिहीबारको खेल एनआरटी क्लब र चित्लाङ फुटबल क्लबबिच हुने आयोजकले जनाएको छ ।