आयुर्वेद अस्पतालहरू आफैँ ‘बिरामी’ छन् । उनीहरू स्वयंले आफ्नो उपचार गराउने वैद्य या कविराज पाउन सकिरहेका छैनन् ।
केही वर्षअघिको कुरा हो, गुरुपूर्णिमाको दिन कीर्तिपुरको ठूलो आयुर्वेद अस्पतालमा ‘आधुनिक चिकित्सा विज्ञान र जडीबुटीको महत्व’बारे बोल्न आग्रह गर्दा मैले त्यहाँ ‘कार्यरत वैद्यहरूलाई भनेकी थिएँ– ‘तपाईंहरू यस्तो ठूलो अस्पतालका विशेषज्ञ हुनुहुन्छ । तर, यो अस्पतालबारे कुनै प्रचार छैन । यहाँको सुविधाबारे जनस्तरमा कुनै जानकारी छैन । यहाँ बिरामी आउँदैनन् । यत्रो लगानीको सदुपयोग भएको छैन ।’ त्यहाँका वैद्यहरूको दुखेसोे थियो– ‘ठूलो स्वरले बोल्न नसकेको हुनाले र स्वास्थ्य भनेपछि केवल आधुनिक औषधिको मात्र छलफल हुने भएकाले हाम्रो ज्ञानको सदुपयोग भएन ।’
नेपालको सुदूरपश्चिम कर्णालीबाट अमूल्य जडीबुटीहरू विदेशी कम्पनीले बाहिर लगेर त्यसको आयुर्वेदिक क्याप्सुल बनाएर फेरि महँगोमा नेपालमै बेच्छन् । नेपालीले प्रयोग पनि गर्छन् । तर, नेपालमै भने त्यस्ता जडीबुटीको कुनै वास्ता छैन ।
एकातिर विदेशी वैद्य नेपालमा आए उनीहरूलाई स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, नेता, कर्मचारी, मन्त्रीहरू सबैले ढोग्छन्, सम्मान गर्छन् र ठूलो स्वरले ‘आयुर्वेद त नेपालको हो । हामी यसको धेरै प्रयोग गर्छौं भनेर गफ दिन्छन् । अर्कातिर सिंहदरबारको वैद्यखाना, कीर्तिपुर र जिल्लाका आयुर्वेदिक अस्पतालहरू बेवारिसे भएकाबारे स्वास्थ्य मन्त्रालयले कतै बोल्दैन । बिचरो आयुर्वेद विभाग ‘बबुरो बालक’ झैँ कुनामा बसेर झोक्राइरहन्छ ।
सायद वर्षको एक दिन धन्वन्तरी दिवसमा मात्र त्यसको सरसफाइ हुन्छ । कुनै पनि नयाँ स्वास्थ्यमन्त्री कुर्सीमा बस्नेबित्तिकै नेपालीको ‘स्वास्थ्य अवस्था सुधार्न’ वीर अस्पतालको भ्रमण गर्छन् । तर, कीर्तिपुर र नरदेवी भने ती कहिल्यै जाँदैनन् । अझ कतिपय त यी अस्पतालबारे सुन्दैनसुनी बिदा हुन पनि बेर छैन । तिनीहरू समाजमा रोग लाग्नै नपाओस् भन्ने ज्ञान दिन आयुर्वेदलाई बढावा दिन्छौँ, यसलाई हामी घरघरमा पु¥याउँछौँसम्म पनि भन्दैनन् । आमसञ्चारमाध्यमबाट पनि जनस्वास्थ्यलाई बढावा दिन आयुर्वेदको महत्वबारे खासै कतै बोलिन्न, लेखिन्न ।
स्वास्थ्य मन्त्रालयका सचिव, सहसचिवसँग जनस्वास्थ र कुपोषणबारे कुरा गर्दा ‘बालबालिकाको कुपोषण हटाउँछौँ भन्छन्, तर प्याकेटका काम नलाग्ने वस्तु बाँड्नु बाँड्छन्’ र कुपोषण हट्यो भन्ने भ्रमपूर्ण कुराहरू छर्दै हिँड्छन् । उनीहरू कहिल्यै पनि बालबालिकामा हुने कुपोषण हटाउन ‘हाम्रा परम्परागत ज्ञान र आयुर्वेद पद्धतिमा आधारित पोषिलो खाना, जस्तै– जाउलो, लिटो, हलुवा, मुगको खिचडी, उसिनेको आलु, अमला, टुसा उमारेको चना र केराउ अनेक वनस्पति आदिबारे चुँक्क पनि बोल्दैनन् ।
आयुर्वेद डाक्टरहरूले पनि ‘बालकुपोषणबारे कुरै उठाउँदैनन् । उनीहरू धन्वन्तरीको नाम लिएर चुपचाप बस्छन् । तर, आयुर्वेदको महत्व बुझाउन केही गर्दैनन् । यदि यो लेख्दा म गलत ठहरिएँ भने म धेरै खुसी हुनेछु । स्वास्थ्य मन्त्रालय भन्छ– गर्भवतीलाई फोलिक एसिड, क्याल्सियम र आइरन चक्की दिनुपर्छ । तर, आयुर्वेद विज्ञानमा लेखेको र आधुनिक विज्ञानले पनि सिद्ध गरिसकेको तिल, आलस, ज्वानो आदिमा क्याल्सियम र लौहतत्व बढी हुने भएकाले यस्ता खानेकुरा बढी खानुपर्छ भनेर तिनलाई प्रेरित गर्ने कुरामा भने जहिल्यै मन्त्रालय मौन रहन्छ । आयुर्वेदका स्त्रीरोग विशेषज्ञहरू यसबारे बोल्दैनन् । गर्भवतीलाई रगत बढाउन उनीहरूले कस्ता भोजन गरे ठीक हुन्छ भनेर आयुर्वेदिक परामर्श कतै गरिन्न ।
यी सबै कुरा सायद धन्वन्तरी वैद्यले मलिन मुख लगाएर हेर्छन् र सोच्छन् होला ‘के भयो मेरो ज्ञान’ भनेर । ‘आयुर्वेद विभाग’ नाम मात्रको छ । आयुर्वेदका लागि स्रोत जुट्दैन । स्रोत जुटाउनुपर्छ भन्नेहरू पनि चुप लाग्छन् । यस्तो किन हुन्छ भने अहिलेको स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य भनेको आधुनिक औषधि र आधुनिक चिकित्सा विज्ञान मात्र हो । नेपालमा जनस्वास्थ्य सुधार्न आधुनिक अस्पताल, औषधि, डाक्टर र नर्स भए पुग्छ भन्ने गरिन्छ । तर, जनस्वास्थ्यका लागि रोग लाग्न नदिन आयुर्वेदको ज्ञान प्रयोग गर्न सकिन्छ भनेर कोही बोल्दैनन् ।
आयुर्वेदमा काम गर्नेले आफ्नो ज्ञानको वकालत आफैँले नगरेपछि अरूले के गर्लान् ? नेताहरू मुटु, पेट, टाउको या अरू कुनै अंग दुखेर विदेश र काठमाडौंका महँगा अस्पताल धाउँछन् । तिनीहरूले त्यहाँ गएर उपचार गरिदिएपछि महँगा अस्पतालहरूको विज्ञापन सितैँमा हुन्छ । तर, राज्यको लगानी भएको आयुर्वेद अस्पतालमा भने उनीहरू झुक्किएर पनि पुग्दैनन् ।
आधुनिक औषधि र आयुर्वेदले एकै ठाउँमा मिलेर काम गर्न सक्छन् । दुवै एक–अर्काका विरोधी होइनन्, परिपूरक हुन् भन्ने हाम्रा नेताहरूले बुझेपछि मात्र ओझेलमा परेको आयुर्वेदको महत्व बढ्नेछ ।
तर, हाम्रा दीर्घरोग लाग्ने नेताहरू जसको पुट्ट भुँडी बढेको छ, मधुमेह छ, तनावले गर्दा समस्या भएको छ, तिनले आयुर्वेदिक विज्ञानको सहाराले मैले मोटोपन घटाएँ, मेरो स्वास्थ्य राम्रो पारेँ, मलाई सघाउ पुग्यो भनेर कहिल्यै बोल्दैनन् । किनभने, नेताले आयुर्वेदिक उपचारको प्रयोग र त्यसमाथि विश्वास नै गर्दैनन् । रामदेव र बालकृष्ण नेपाल आएका वेला ठूला भाषण छाँट्छन्– आयुर्वेद विज्ञान महान् छ । हामीले यसबाट देशकै समग्र स्वास्थ्यमा सुधार गरेर आर्थिक अवस्था सुधार्न सक्छौँ । सायद यो सुनेर धन्वन्तरी बिचरा कति रुँदा हुन्, कति मलिन हुँदा हुन् ।
आयुर्वेदिक वैद्यहरूले आफ्नो कामको पनि जनस्वास्थ्यमा ठूलो महत्व छ भनेर आवाज उठाएको देखिन्न । त्यसैले पहिले–पहिले धेरै प्रयोग गरिने आयुर्वेदको ज्ञान बिस्तारै–बिस्तारै खुम्चिँदै छ ।सिंहदरबार वैद्यखानाका औषधिहरू पनि कम छन् । वैद्यखानाले नेपालीलाई कहिल्यै रोग लाग्न नदिन के गर्ने भनेर अहिले कहीँ केही बोलेको सुनिन्न । वैद्यखाना आफैँ बिरामी छ । त्यसैगरी, जिल्ला वैद्य खाना पनि प्रायः ‘ज्वरो’ले थलिएको हुन्छ । त्यस्तो वेलामा समुदायका मान्छेले वैद्यखाना गएर के पाउँछन् ?
त्यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालयमा केवल आधुनिक औषधिबारे छलफल हुन्छ, आयुर्वेदिक औषधिबारे बोल्ने फुर्सद कसैलाई हुँदैन । योग र वनस्पति आयुर्वेदका महत्वपूर्ण अंग हुन्, तर न सिंहदरबार वैद्यखाना, न त जिल्ला वैद्यखानाले नै यसबारे कुनै चेतना दिन्छ । जिल्लाका आयुर्वेदिक अस्पताल बालबालिका र कुकुर खेल्ने ठाउँ बनेका छन् । यहाँसम्म कि पहिले नाम चलेको नरदेवीको आयुर्वेदिक अस्पताल पनि गम्भीर ‘बिरामी’ बनेको छ । त्यहाँका आयुर्वेदिक डाक्टरले भनेका थिए– ‘सबै ठाउँबाट औषधि गराएर निराश भएपछि बिरामीहरू हामीकहाँ आउँछन् र हामी तिनलाई ठीक पारेर पठाउँछौँ । तर, तिनै बिरामीहरू पछि बोल्दैनन् ।’ आयुर्वेदिक डाक्टरले यस्ता बिरामीलाई पछि कस्तो भयो, पूर्ण ठीक भए या भएनन् भनेर सायद अनुसन्धान गर्दैनन् । सायद ‘धन्वन्तरी’ पृथ्वीमा आए उनले अनुसन्धान गर्थे कि !
आयुर्वेदले मानिसलाई कसरी स्वस्थ रहने भनेर सिकाउँछ । यसले रोग लाग्नुअगावै रोकथाम गर्न प्रेरित गर्छ । तर, स्वयं आयुर्वेदिक डाक्टरले यो ज्ञान कतै पु¥याउँदैनन् । उदाहरणका लागि आधुनिक विज्ञानले कागतीमा रहेको भिटामिन सीमा रोगसँग लड्ने शक्ति छ भनेर सिद्ध गरेको छ । आयुर्वेदले सुत्केरीले ज्वानो खानुपर्छ भनेको छ । आधुनिक विज्ञानले यी दुवैमा क्याल्सियम र सूक्ष्म पोषक तत्व पनि पाइन्छ भनेर सिद्ध गरेको छ । यस्ता हजारौँ उदाहरण दिन सकिन्छ । जसबाट जनस्वास्थ्यमा आयुर्वेदको उच्च महत्व छ भनेर देखाउँछ । आयुर्वेद र आधुनिक चिकित्साशास्त्र दुवैले सँगै काम गरे जनस्वास्थ्य सुधारमा झन् ठूलो फड्को मार्न सकिन्छ भनेर नेताहरूलाई कसले बुझाउने होला ?
आधुनिक औषधि र आयुर्वेदले एकै ठाउँमा मिलेर काम गर्न सक्छन् । दुवै एकअर्काका विरोधी होइनन्, परिपूरक हुन् भन्ने जब हाम्रा नेताहरूले बुझ्नेछन्, तब मात्र ओझेलमा परेको आयुर्वेद ज्ञानको महत्व बढ्नेछ । सबैले यो बुझ्नुपर्ने हो, आयुर्वेदमा रोगसँग लड्ने क्षमता वृद्धि गर्ने अनेक उपाय छन् । हाम्रा सहरबजार र गाउँघरमा आधुनिक औषधि आउनुअघि पनि त मान्छेहरू आफ्नै घरवरिपरिका वनस्पति, औषधि, मसाज आदिद्वारा उपचार गर्थे । तर, ती जडीबुटी र उपचार पद्धति किन ओझेलमा छन् ? किन बिर्सिइँदै छन् यस्ता ज्ञान ?
कोरोनाको वेलामा हात धुने काम कोरोनाविरुद्ध लड्न महत्वपूर्ण हतियार साबित भएको छ, भने हाम्रा पुर्खाहरूले त हात धुने कामलाई आफ्नो जीवनको एक अंग नै बनाएका थिए । मन्दिर जाँदा, खाना पकाउँदा, खाइसकेपछि, कसैको मलामीबाट पर्केपछि स्नान गर्नु र हात धुनु त एउटा धार्मिक संस्कार नै मानिन्थ्यो ।
हजुरआमाले रुघाखोकी लाग्दा दूधमा बेसार र मरिच हालेर दिएको पेय त वैज्ञानिक नै रहेछ नि ! अहिले बेसारमा रोगसँग लड्ने शक्ति छ भनेर विज्ञानले सिद्ध गरेको छ । अहिले बेसारका क्याप्सुल र ‘गोल्डेन मिल्क’ भनेर बेसार र दूध बेचिन्छ । तर, त्यही कुरालाई स्पष्ट रूपमा भन्न हाम्रो सिंहदरबार वैद्यखानाका आयुर्वेदाचार्यहरू किन हिचकिचाउँछन् होला ? बेसार र दूधले सबै समस्या समाधान गर्ने होइन, तर यो एक परम्परागत रूपमा प्रयोग गरिने औषधिले फाइदा गर्छ भन्न लजाउनुपर्ने अवस्था पनि त छैन ।
अहिले कोरोनाविरुद्ध खोप आएको छ । तर, कोरोनाको संक्रमण अझै बाँकी नै छ । साथै, कोरोनाबाहेक अन्य विषाणु र जीवाणुहरूले पनि हामीलाई दुःख देलान् । तिनबाट बच्न पनि त रोगसँग लड्ने शक्ति बढाउनुपर्ला । तर, यतिखेर आयुर्वेद अस्पतालहरू आफैँ ‘बिरामी’ छन् । उनीहरू स्वयंले आफ्नो उपचार गराउने वैद्य या कविराज पाउन सकिरहेका छैनन् ।