चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिर)मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता सामान्य बढेको छ । उद्योग विभागले पाँच महिनामा २० अर्ब ७८ करोड रुपैयाँ एफडिआई स्वीकृत गरेको छ ।
गत आवको पहिलो पाँच महिनामा २० अर्ब ६१ करोड रुपैयाँ एफडिआई स्वीकृत भएको थियो । यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी उल्लेख्य बढ्न नसके पनि विदेशी लगानी रहने उद्योगहरूको संख्या भने बढेका छन् । गत आवको पहिलो पाँच महिनामा एक सय ९९ परियोजनाको लगानी स्वीकृत भएकोमा यस वर्षको सोही अवधिमा ३१९ परियोजनाको लगानी स्वीकृत भएको छ ।
उद्योग विभागका अनुसार अघिल्लो मंसिरमा २१ उद्योगमार्फत प्रस्तावित दुई अर्ब २६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएकोमा यो मंसिरमा ५६ उद्योगमार्फत प्रस्तावित दुई अर्ब ११ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ ।
पाँच महिनाको अवधिमा एक सय ३८ उद्योगले अटोमेटिक रुटबाट दुई अर्ब १३ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेका छन् । एक सय ८१ परियोजनाले नियमित प्रक्रियाबाटै १८ अर्ब ६५ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेका छन् । सुरुवातदेखि मंसिर मसान्तसम्म उद्योग विभागमार्फत कुल ६ हजार सात सय १८ उद्योगले पाँच खर्ब ४० अर्ब ५४ करोड लगानीको प्रस्ताव गरेका छन् । जसमध्ये १० अर्ब २५ करोड अटोमेटिक रुटबाट र पाँच खर्ब ३० अर्ब २९ करोड नियमित रुटबाट प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।
पाँच महिनामा विदेशी लगानीको प्रस्ताव गरिएका तीन सय १९ उद्योगमध्ये तीन सय १२ साना, चार मझौला र तीन ठुला स्केलका हुन् । उद्योग विभागले पाँच महिनाको अवधिमा बिजनेस भिसातर्फ १२ सय लगानीकर्ता, एक सय ४१ सय कम्पनीका प्रतिनिधि र तीन सय ६० वटा डिपेन्डेन्ट विदेशी नागरिकको भिसा प्रस्ताव गरेको छ । मंसिर महिनामा मात्रै तीन सय ८४ लगानीकर्ता, ३४ प्रतिनिधि र ९५ डिपेन्डेन्टको बिजनेस भिसा प्रस्ताव गरेको छ ।