माघ १ गते ‘योग दिवस मनाउँ’ भनेर डाक्टर हरिप्रसाद पोखरेलले भन्दा वास्ता भएन । तर, जब २१ जुनलाई अन्तर्राष्ट्रिय ‘योगा दिवस मनाउँ’ भनेर संयुक्त राष्ट्रसंघले भन्यो, नेपालमा पनि ‘योग’ योगा बनेर आयो । थुप्रै सभा–सम्मेलन हुन सुरु गरे, मानौँ ‘योगासन’ कुनै बाहिरबाट ल्याएको अलौकिक वस्तु हो ।
नजिकको तीर्थ हेला भनेको यही होला । जब कि आफ्नो नजिक छ, त्यो वास्तै हुँदैन । अहिले कोरोनाको वेलामा रोगसँग लड्ने शक्ति बढाउन ‘योगासन’को भूमिका छ भन्ने स्पष्ट भइसकेको छ । मैले यहाँ महिलाहरूका लागि भनेर ‘योगासन’को छलफल गरेको छु, तर यो अन्य व्यक्तिलाई पनि त्यतिकै लागू हुन्छ ।
हामी बाहिर जाने लुगामा स्त्री (आइरन) लगाउँछौँ, सुतीको लुगामा माड राख्छौँ । मोटर, मोटरसाइकल र मोबाइलको पनि जतन गर्छौं । तर, ती सबै वस्तुहरूको उपयोग गर्ने शरीरलाई चाहिँ बेवास्ता गर्छौं । ‘शरीर धर्म सर्वधन प्रधानम्’ भन्ने उक्तिलाई विचार गर्ने हो भने हामीले बाहिरका मालसामान किन्न र तिनको जतनमा जतिको ध्यान दिन्छौँ, त्यतिको ध्यान पनि शरीरको जतनमा दिँदैनौँ । हामीले त बढीभन्दा बढी ध्यान शरीर स्वस्थ राख्नमा दिनुपर्ने हो, तर प्रायः यस्तो हुँदैन । शरीरमा समस्या भइसकेपछि अस्पताल गएर गर्नुपर्ने पैसाको खर्च, मानसिक तनाव र रोगको पीडालाई विचार गरेर हामीले आफ्नो शरीरलाई मोबाइल, कलम, लुगाजत्तिको पनि महत्व दिए त शरीर स्वस्थ रहन मद्दतै गर्छ ।
महिलाको स्वास्थ्य, प्रजनन स्वास्थ्य, सुत्केरीपछि हुने समस्यालाई कम गर्न पनि अहिलेदेखि ‘योगासन’ गरेर स्वस्थ जीवनशैली अपनाए समस्या समाधान हुनेछ । महिला नुहाएर सजिन्छिन्, अत्तर लगाएर बास्ना छर्छिन् । तर, यो सबै प्रयोग गर्दा शरीरका हाडजोर्नीहरू ठीक छन् कि छैनन्, हाडहरू लचिला छन् कि छैनन्, फोक्सोमा प्राणवायु पुगेको छ कि छैन, वास्ता गरेर स्वास्थ्य राम्रो पार्न हरेक दिन योगासन गर्ने हो भने स्वास्थ्य समस्याबाट बचेपछि औषधि किन्ने, अस्पताल जाने पैसा पनि कम खर्च हुन्छ । अहिले कोरोनाको वेला त यसको महत्व झन् बढेको छ ।
महिलाले कमाएको पैसा पछि चाहिन्छ भनेर बचत गर्नका लागि बैंकहरूले अनेक किसिमका नीति ल्याउँछन् । महिलाहरू बैंकमा पैसा राख्छन्, जग्गा र सुन किनेर राख्छन्, विवाह, भोज गर्न, तीर्थ जान काम लाग्छ भनेर विचार गरिन्छ । यी सब शरीरलाई सुरक्षित राख्न गरिन्छ । घर, जग्गा, पैसा छ भनेर सुरक्षित महसुस गर्ने महिला यी सबै जोडजाम गरेर शरीर र मन स्वस्थ राख्न कति समय दिन्छन् त भन्ने प्रश्न गर्दा उत्तर आउनेछ, ‘खै, यसैका लागि भनेर समय दिने गरिन्न ।’ स्वस्थ शरीरलाई सहजै पाएको ठानेर हामी वास्ता गर्दैनौँ । ‘योागासन गर्न, स्वस्थ खाना खान समय छैन’ भन्ने भनाइ पाइला–पाइलामा सुनिन्छ । तर, यसको असर केही समयपछि बिस्तारै देखिन्छ ।
योगासन त योगको एउटा पक्ष मात्र हो । जीवनमा खानपान, काम र आरामबीचको सन्तुलन, अनुशासनले महिलाको स्वास्थ्यका लागि ठूलो भूमिका खेल्छ ।
विभिन्न शारीरिक समस्यामध्ये टेबलमा बसेर काम गर्ने र महिलाहरूलाई अहिले ढाड दुख्ने समस्या बढी छ । ढाड दुख्ने समस्या भएकालाई स्वास्थ्यकर्मीले लामो समयसम्म कम्प्युटरमा काम नगरेर डेढ–दुई घन्टामा उठेर हिँड्नुस्, हल्का योगासन–व्यायाम गर्नोस् भनेर बुझाउँछन् । तर, लामो समय कम्प्युटरमा बसेर काम नगरे रिपोर्ट नसिद्धिने विचारले यो परामर्श बेवास्ता गरिन्छ । अनि पछि ढाड दुखेर लामो समय ओछ्यानमा पर्दा बल्ल याद आउँछ, यस्तो परामर्शको । ढाडको अति पीडा भएर लामो समय थलिएपछि बिस्तारै बुद्धि आउँछ, योगासन गर्नुपर्ने रहेछ भन्ने ।
महिलाहरूको प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, महिनावारी हुँदा हुने पीडा आदिमा योगासनले महत्वपूर्ण भूमिका खेल्न सक्छ । गर्भावस्थामा पनि स्वस्थ रहनमा योगासनले मद्दत पुर्याउँछ । प्रसवपछि पनि योगासनले स्वस्थ रहन छिटो तंग्रिन मद्दत गर्छ । त्यसैगरी, महिनावारी सुकेपछि देखा पर्न सक्ने केही साधारण समस्या कतिपय महिलालाई सहज तरिकाले समाधान गर्नमा योगासनले भूमिका खेल्न सक्छ । योगासन एक–दुई दिन गरेपछि ‘मलाई केही पनि फाइदा भएन’ भनेर छोडिदिने हो भने त योगासनले पनि केही मद्दत गर्न सक्दैन । यो त एक प्रक्रिया हो । यसले एकै दिनमा रोगसँग लड्ने शक्ति बढाउँदैन, समय लाग्छ । योगासन त दिनदिनै गर्नुपर्छ, यसको असर जादुको छडीले झैँ एकै दिनमा देख्न पाइन्न ।
यदि महिलालाई गर्भावस्थामा कुनै जटिलता छैन (उच्च रक्तचाप, खुट्टा सुन्निएको, अति टाउको दुख्ने जस्ता समस्या छैन र शिशु ठीक ठाउँमा बसेको छ भने) साधारण योगासनले स्वस्थ रहन मद्दत गर्छ । गर्भावस्थामा बारम्बार वाकवाक आउने, खान मन नलाग्ने जस्ता समस्या हुँदा अलि–अलि गरेर खाना खाने, चिल्ला पदार्थहरू बढी नखाने, आफूलाई उपयुक्त हुने सहज र सरल योगले यी समस्या कम गर्न मद्दत गर्छ ।
हिँड्दा ढाड तथा पिँडुला दुख्ने महिलालाई पनि योगासनले मद्दत गर्छ । गर्भावस्थामा विशेष गरेर ‘पुतली आसन’ गर्दा हाड बलियो र लचिलो बनाउँछ । भुइँमा बसेर दुवै पैताला जोडेर घुँडा तल–माथि गर्ने आसनलाई पुतली आसन भनिन्छ । पुतलीको प्वाँखजस्तै गरेर खुट्टा तलमाथि गरिने भएकाले सायद यसलाई यो नाम दिइएको होला । कतिपय आसन जनावरको नाममा राखिएका छन् । जस्तो ‘मार्जरी आसन’ अर्थात् बिरालो आसन । यस आसनमा बिरालोले ढाड माथि पार्दा गर्ने क्रियाकलाप गरिन्छ । यसले गर्भावस्थामा र सामान्य दुवै अवस्थामा ढाडको दुखाइ कम गर्न मद्दत गर्छ । सामान्य प्रसवपछि पनि यो आसन गर्दा महिलाको शरीरको लचकता आउँछ । त्यस्तै प्रकारले शशकासन (अर्थात् खरायो आसन)ले पनि पेटलाई स्वस्थ राख्न, मेरुदण्डको लचकता बढाउन मद्दत गर्छ । मन सहज गर्न पनि यो मद्दतगार छ । लगातार एउटै ठाउँमा बसेर काम गर्दा ढाडमा हुने असजिलोपनालाई हटाउन पनि शशकासनले सहयोग गर्छ ।
मुसलमानहरूले प्रार्थना गर्दा पढिने नमाज पनि झन्डै–झन्डै शशकासनजस्तै हुन्छ । बढी चिल्लो र गुलियो खाना खाएपछि महिलाको तौल बढ्छ । तौल बढ्न नदिन पौष्टिक तर चिल्लो कम भएका खानाको प्रयोग र विभिन्न योगासन जस्तो– बसेर र उठेर टाउकोले घुँडा छुने (जानु शीर्षासन र पाद–हस्तासन), पर्वतासन, गोमुखासन, वज्रासन आदिले पनि तौल कम गर्नमा मद्दत गर्छन् । शरीर तंग्रिन पनि मद्दत गर्छ ।
योगासन त योगको एउटा पक्ष मात्र हो । जीवनमा खानपान, काम र आरामबीचको सन्तुलन, अनुशासनले महिलाको स्वास्थ्यका लागि ठूलो भूमिका खेल्छ । तर, योगासन गरेर क्यान्सर निको हुन्छ, पाठेघरमा उल्टो बसेको शिशु सुल्टो हुन्छ भन्नेचाहिँ विश्वासयोग्य छैनन् । योग जीवन पद्धति हो, सम्पूर्ण रोग ठीक पार्ने रामवाण होइन ।