मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ असोज २४ बिहीबार १o:१७:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार १o:१७:oo

चाडपर्वको खानालाई कसरी स्वस्थ बनाउन सकिन्छ ?
हाम्रोजस्तो बहुजातीय समाजमा सांस्कृतिक तथा सामाजिक कारणले दसैँलगायत विभिन्न चाडपर्वमा खानेकुराका विभिन्न परिकार तयार गरिन्छन् । एक हिसाबले हेर्दा यो सकारात्मक पनि हो । चाडपर्व भन्नासाथ माछा, मासु, मदिरा, पत्रु खाना आदिको बढी नै उपभोग हुने गर्छ । हामीले यस्ता वस्तुको संयमित भई उपभोग गर्न सक्नुपर्छ । शरीरमा पहिले खासै समस्या छैन भने पनि खानपिनमा विशेष सचेत त हुनैपर्छ । झन् पहिल्यैदेखि समस्या छ भने चिकित्सकसित सल्लाह लिएर मात्र चाडबाडको खानपिनमा सरिक हुनु राम्रो हुन्छ । 

दसैँमा मासु खाँदा केके कुरामा ध्यान पुर्‍याउनुपर्छ ?
सामान्यतः मासु प्रोटिनको स्रोत भएकाले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि उपभोग गरिन्छ नै । तर, चाडपर्वको समयमा अरू वेलामा भन्दा अलि बढी नै मासु सेवन गर्ने चलन छ । तर, खान पाइयो भन्दैमा बिहान, दिउँसो, बेलुका जतिवेला पनि अटेसमटेस हुने गरी मासु सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुँदैन । मासुसँगै कोल्ड ड्रिंक र प्याकेटका पत्रु खाना बढी प्रयोग गर्ने चलन छ । यसमा सुधार गर्नुपर्छ । मासुमा रेसा नहुने भएकाले सागपात, फलफूल, सलादलगायत वस्तुको बढी सेवन गर्नुपर्छ । अन्यथा कब्जियतको समस्या बढ्न सक्छ । बढी चिल्लो, तारेको, पोलेको मासु सकभर कम सेवन गर्नु राम्रो हुन्छ । 

दसैँको खानामा ध्यान पुर्‍याउन नसक्दा कस्ता समस्या आइपर्छन् ?
दसैँ या कुनै पनि चाडपर्वमा खान पाइयो भन्दैमा शरीरको आवश्यकतालाई ध्यानमा नराखी जथाभावी खान थालियो भने त्यही खानाले हामीलाई अस्पताल पुर्‍याउन सक्छ । ५–६ फिटको शरीरलाई तीन–चार इन्चको जिब्रोले नियन्त्रणमा राख्नु राम्रो होइन । स्वस्थ भएर लामो समय बाँच्नका लागि खानुपर्नेमा त्यसैका कारण रोगी हुने अवस्था आउन दिनु हुँदैन ।