१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेट गर्दै प्रधानसेनापति प्रभुराम शर्मा
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दिल्लीमा प्रधानसेनापति : प्रधानमन्त्री मोदीसँग भएन भेटवार्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo

भारतको औपचारिक भ्रमणको तेस्रो दिन प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका छन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको पूर्वनिर्धारित समयतालिकाअनुसारको भेटवार्ता भने हुन सकेन । 

प्रधानसेनापति शर्माले बिहीबार प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री डा. एस. जयशंकरसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । भेटवार्तामा भारतीय पक्षले नेपाली सेनासँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको बताउँदै दुई देशबीच रक्षा सहकार्य थप मजबुत हुनुपर्नेमा जोड दिएका छन् । 

शर्माले बिहीबार मध्याह्न प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने तय भए पनि मोदीको व्यस्तता देखाउँदै भारतीय पक्षले भेटवार्ता हुन नसक्ने जानकारी दिएको सैनिक स्रोतले बतायो । पूर्वनिर्धारित समयतालिकाअनुसार प्रधानसेनापति शर्माले भारतीय मोदीलाई अपराह्न १२ बजे प्रधानमन्त्रीनिवासमा भेटवार्ता तय थियो । 

प्रधानसेनापति शर्माले बिहीबार सुरुमा विदेशमन्त्री जयशंकरसँग भेट गरेका थिए भने त्यसपछि रक्षामन्त्री सिंह र सुरक्षा सल्लाहकार डोभालसँग भेटेका थिए । प्रधानमन्त्रीसँग भेटवार्तापछि राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग भेट हुने पूर्वनिर्धारित कार्यक्रम थियो । सुरक्षा मामिलासम्बन्धी नेपाल–भारत संयुक्त परामर्श समितिको बैठक बेंग्लोरमा र नेपाल भारत–संयुक्त सैन्य अभ्यास पिथौरागढमा भएको पृष्ठभूमिमा प्रधानसेनापति शर्माले भारतीय अधिकारीहरूसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्तामा प्रधानसेनापतिले नेपाली सेनासँग सम्बन्धित सैन्य सामग्रीको सहज आपूर्ति तथा सहयोग, नेपाल–भारत सुरक्षा सहकार्यलगायत विषयमा नेपाली धारणा राखेको स्रोतले बताएको छ । दुई देशबीच राजनीतिक तहमा सम्बन्धमा उतारचढाव आए पनि सेनाको तहमा सम्बन्ध सुमधुर छ । 

प्रधानसेनापति शर्माले सन् २०१३ मा दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा एनडिसी कोर्स अध्ययन गरेका थिए । ‘यसअघि प्रधानसेनापतिहरूको भ्रमणमा राजनीतिक तहमा यसरी भेटवार्ता हुने गरेको थिएन,’ एक सैनिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘कोभिडका कारण दिल्लीबाहिर भारतीय सेनाका कमान्डहरूमा भ्रमण हुन सकेन, तर दिल्लीमा प्रधानसेनापति शर्माले उच्च महत्व पाउनुभएको छ ।’ 

प्रधानसेनापति शर्माले बिहीबार नै दिल्लीस्थित नेसनल डिफेन्स कलेजको भ्रमण गरेका छन् । प्रधानसेनापति शर्मालाई बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्नबाट सुशोभित गरेका थिए । उनले बुधबारै भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतलगायत अधिकारीहरूसँग भेटेका थिए ।

मंगलबार दिल्ली पुगेका शर्माले सोही अपराह्न भारतीय समकक्षी मनोजमुकुन्द नरभणेसँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा द्विपक्षीय सैनिक सहकार्यलगायत विषयमा छलफल भएको थियो । प्रधानसेनापति शर्माको प्रतिनिधिमण्डलमा सेनाको युद्धकार्य तथा व्यवस्था महानिर्देशक (डिजिएमओ) उपरथी निर्मलकुमार थापा, सैनिक सहायक चोक ढकाल, दिल्लीस्थित सैनिक सहचारी महासेनानी रामचन्द्र खत्रीलगायत नौजना छन् ।

नेपाली सेनाको जहाजमा दिल्ली गएका शर्मा सोही जहाजबाट शुक्रबार अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । 
 

ad
ad