दाङमा मासु काट्ने हतियार प्रहारबाट दुईजना घाइते भएका छन् । बिहीबार राति १० बजतिर तुलसीपुर- १८ बिजौरीको प्रचण्ड किराना पसलमा सामान किन्न गएका दुईजनामाथि हतियार प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार किराना पसलमा सामान किनिरहेकाे समयमा तुलसीपुर- ७ निवासी ३० वर्षीय सुरेश रसाइली र सोही ठाउँका २८ वर्षीय सुरज पुनमाथि मासु काट्ने हतियार प्रहार गरिएकाे छ ।
रसाइलीको बायाँ काननिर गम्भीर चोट लागेको छ भने पुनको बायाँ हात फ्याक्चर भएको छ । घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नर्सिङ होम बाँके लगिएको छ ।
उनीहरूलाई बिजौरीनिवासी २८ वर्षीय प्रकाश चौधरी, करिब ३० वर्षीय सन्दीप चौधरी र सोही ठाउँका ३० वर्षीय रेशम चौधरीले एक्कासि हतियार प्रहार गरेका हुन् ।