तपाईंका बालबच्चा छन् भने तिनले कत्तिको मोबाइल चलाउँछन् र फोनले उनीहरूलाई कति ग्रसित बनाइरहेको छ भनेर ख्याल राख्नु जरुरी छ
स्मार्टफोनले बालकालिकामाथि भयानक खती गरिरहेको कुरा अब निर्विवाद छ । अब हामीले प्रतिबन्धबारे कुरा गर्न सुरु गर्नु आवश्यक छ । गत हप्ता देखाइएको स्मार्टफोनबारेको च्यालन–४ को वृत्तचित्र (डकुमेन्ट्री) ‘स्वाइप्ड’ विद्यालय जाने उमेरका बालबालिकाका हरेक अभिभावकले हेर्नैपर्छ । यो विनाशकारी छ । वृत्तचित्रले एसेक्स माध्यमिक विद्यालयको अनुभवबारे बताउँछ । उसले आफ्ना ११ वर्ष उमेरका बालबच्चामा चिन्ता र तनावमा वृद्धि साक्षात्कार गरेको थियो । ती बालबालिकाको एक समूह तीन हप्ताका लागि आफ्नो फोन बिसाउन सहमत भएको थियो ।
आमाबाबुका अनुभव जाने, सुनिएकै कथा थिए– बालबच्चा ठुलाहरूसँग आँखामा आँखा जुधाएर कुरा गर्दैनन्, अब सहजतासँग कुराकानी गर्न छाडेका छन्, एक्लै घन्टौँ बिताउँछन् र मध्यरातसम्म पनि नसुती जागा रहन्छन् इत्यादि । कोही–कोहीले त दिनको पाँच–छ अझ नौ घण्टा पनि फोनमा बिताउँथे । उनीहरूको मित्रता बिल्कुलै अपरिचित व्यक्तिहरूसँग छ, उनीहरूले घृणापूर्ण सन्देश प्राप्त गरेका छन्, ‘प्यानिक अट्याक’बाट गुज्रिएका छन्, सामान्य अवस्थाबाट आत्मघातको अवस्थामा पुगेका छन् । सर्वेक्षणअनुसार बेलायतका ११ वर्ष उमेरका एकचौथाइ बालबालिकाले अनलाइन पोर्नाेग्राफी हेरेका छन् । सामाजिक सञ्जालको प्रयोगसँग जोडिएको एउटा दुःखद परिस्थितिमा एक बालकको मृत्यु नै हुन पुग्यो ।
सर्वेक्षण मिहिन रूपमा गरिएको छ । योर्क युनिभर्सिटीको एउटा अनुगमन टोलीले बालबालिकाको मस्तिष्कको ‘स्क्यान’ गर्यो । स्क्यानमा उसले सामान्य रूपमा बोलचाल गर्ने, भलादमी बालबालिकाले पनि ‘ग्रे म्याटर (मस्तिष्कको एउटा महत्वपूर्ण भाग)’मा क्षयीकरण साक्षात्कार गरेको पायो । हामीले उनीहरूले आफ्नो फोन सिसाको बाकसमा राख्दै गर्दाको प्रतिक्रिया र लतबाट छुट्कारा पाउन खोज्दाका प्रारम्भिक लक्षण नियाल्यौँ । उनीहरू असाध्यै थकित देखिन्थे, खाना खाँदा पनि बोल्दैनथे । अनिद्राबाट गुज्रिरहेका थिए ।
ती बालबालिका र तिनका अभिभावक दुवैसँगका केही हप्ताका अन्तर्वार्ता र परीक्षण अकाट्य थिए । फोनविनाका केवल तीन हप्ताले चिन्ता र डिप्रेसनको लक्षणमा १७ प्रतिशतले कमी ल्याएको थियो । ती बालबालिकाको सुताइ (निद्रा) औसतमा एक घण्टाले वृद्धि भएको थियो भने उनीहरूको स्मरणशक्तिमा तीन प्रतिशतले सुधार भएको थियो । एउटी केटीलाई प्यानिक अट्याक आउन छाड्यो । योभन्दा पनि महत्वपूर्णचाहिँ केटाकेटीमा देखिएको भावना हो– ‘मलाई लाग्यो मेरो एक भाग नै हराएको छ..., म भुइँतलामा ओर्लिएँ..., मैले परिवारलाई काममा सघाएँ..., मैले मेरी आमा भेट्टाएँ..., एक दिन बालबालिकालाई फोन प्रतिबन्धित गरिनेछ ।’ यसैगरी आमाबाबुले पनि छोटो समयकै भए पनि पारिवारिक आनन्द फर्किएको कुरा गरे र बालबालिकाको जीवनमा ‘फोन फिर्ती’बाट भयभीत रहेको बताए ।
निर्विवाद रूपमा बेलायतले बाल्यकालमा हुने मानसिक रोगमा वृद्धि साक्षात्कार गरेको छ । हरेक पाँचमध्ये एक बालबालिका मानसिक रोगबाट पीडित छ भने गत तीन वर्षमा ‘इमर्जेन्सी रेफरल्स्’मा ५३ प्रतिशतले वृद्धि भएको छ । पाँच लाख बालबालिका मनोचिकित्साको पर्खाइमा छन् । यदि यो शारीरिक स्वास्थ्य महामारी हुन्थ्यो भने उपचार र रोकथामका लागि हलचल हुने थियो । तर, यो मानसिक स्वास्थ्य महामारी भएकाले चिकित्सा क्षेत्रमा अझै अपरिचित छ ।
अमेरिकी मनोवैज्ञानिक जोनाथन हाइडटले आफ्नो बेस्टसेलर ‘द एक्साइटेड जेनेरेसन’मा अमेरिकामा पनि मानसिक रोगको दर उस्तै बढेको कुरा औँल्याएका छन् । उनी यसको दोष २०१० को दशकको मध्यमा भएको सोसल मिडियाको आगमनलाई दिन्छन् । फेसबुक, ह्वाट्सएप र अब टिकटकले कलिला अमेरिकीलाई उनीहरूको सामाजिक सन्दर्भबाट विच्छेद गरेको छ । उनीहरूलाई एकदमै अपरिचित, सम्भावित रूपले खतरनाक विश्वमा पुर्याइदिएको छ ।
यसमा सबैभन्दा खराब अभियुक्त टिकटक हो, जो जनवरीदेखि अमेरिकामा प्रतिबन्धको विषय भएको छ । फ्रान्स, भारत, क्यानडा र अस्ट्रेलियाका केही भागमा पनि यसमा प्रतिबन्ध लगाइएको छ । तर, बेलायतमा यो अझै प्रतिबन्धित छैन । सोसल मिडिया रेगुलेटर ‘अफकम’ले यसै हप्ता ढिलो गरी एउटा ‘कोड अफ प्राक्टिस’ प्रकाशित गरेको छ । यसले अनलाइन पोर्नाेग्राफी, आत्महत्यालाई बढावा दिने सामग्री र अपरिचितहरूको दुव्र्यवहारमा बालबालिकाको पहुँच सीमित गर्ने प्रयास गर्नेछ । तर, यस्ता सीमित प्रतिबन्ध भने एकदमै निष्प्रभावी हुने गरेका छन् ।
सोसल मिडिया उपलब्ध गराउनेहरूलाई दण्डित गर्नु समस्याको मूलमा छिर्नु होइन । यसैगरी विद्यालयमा फोन प्रतिबन्धति गर्नु पनि समाधान नहुन सक्छ । स्वाइप्डले देखाएअनुसार अहिले घरपरिवार, अभिभावक र तिनका बालबच्चामा समान रूपमा बसेको लतलाई समाधान गर्ने शक्ति अन्यत्रै छ । अरूले सोसल मिडियाबाट लिइरहेको आनन्दबाट आफू कतै छुटौँला कि भन्ने (फियर अफ मिसिङ आउट) डरको भावना नै यस सामाजिक विषाक्तताको सबैभन्दा शक्तिशाली तत्व हो । वयस्कहरूमा रक्सी र लागुपदार्थले जस्तो कुलतको प्रभाव पार्छ, स्मार्टफोनले नौ वा १० वर्षको उमेरसम्मका बालबालिकाको दिमागमा उस्तै कुलत बसाइदिन्छ । नेसनल अनलाइन सेफ्टीजस्ता अभिभावक समूह युरोपभरि गठन भइरहेका छन, तर जोखिममा रहेका समुदायमा भने खासै सजगता छैन । अभिभावक यो चुनौतीको एउटा जवाफसम्म त हुन्, तर समाधान नै भने होइनन् ।
चुरोट, लागुपदार्थ र छुरी (घातक हतियार)मा जस्तै ढिलोचाँडो १६ वर्षमुनिका बालबालिकाका लागि स्मार्टफोनमा पनि विश्वव्यापी रूपमा नै प्रतिबन्धति गरिनुपर्छ । लामो समयदेखि बखान मात्रै हुँदै आएको यो प्रविधिले बालबालिकाको परिवार र साथिसंगीसँगको सम्बन्धको केन्द्रीय बन्धनलाई खुस्काइरहेको छ । यो एकदमै ठिक भइरहेको छैन । तर, यसबारे केही गरिएको पनि छैन ।
(साइमन जेनकिन्स गार्जियनका स्तम्भकार हुन्)
गार्जियनबाट