सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमको भ्रमणमा रहेका कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाइदिएर स्वागत गरिएको छ।
नेता कोइरालालाई आगामी १५औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना दिँदै कार्यकर्ताले १५ किलोको माला लगाइदिएका हुन्। नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो।
वरिष्ठ नेता डा. कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितले डडेल्धुरा कांग्रेसको तर्फबाट भव्य स्वागत गरेका हुन्।
स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापतिका रूपमा कोइरालाको पक्षमा नारा लगाएका थिए। साथै, स्वागतका लागि थारू संस्कृति झल्कने पहिरनसहितको नृत्य र सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो।