८ देखि ११ पुससम्म चल्ने नेपाल इन्टरनेसनल च्यालेन्जमा २२ देशका १७६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने
नेपालमा पाँच वर्षपछि दुई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा राखेपको कभर्ड हलमा ८–११ पुससम्म नेपाल इन्टरनेसनल च्यालेन्ज हुनेछ । यसैगरी, नेपाल जुनियर इन्टरनेसनल सिरिज १२ देखि १४ पुससम्म सञ्चालन हुने अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए । नेपाल इन्टरनेसनल च्यालेन्जमा २२ देशका १७६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जुनियर विधामा ११ देशका १४४ खेलाडी सहभागी हुनेछन् । दुवै प्रतियोगितामा घरेलु खेलाडीको संख्या समान १६ रहेको छ ।
विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा हुने नेपाल इन्टरनेसनलमा आयोजक नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, युनाइटेड अरब इमिरेट, जाम्बिया, युगान्डा, इंग्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका खेलाडीले भाग लिनेछन् । ब्याडमिन्टन संघले सन् २०१९ मा नेपाल इन्टरनेसनल च्यालेन्ज आयोजना गरेको थियो । त्यसवेला १७ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विजेताले १२ सय अमेरिकी डलर पाउने
जुनियर इन्टरनेसनल सिरिजमा १९ वर्षमुनिका खेलाडी सहभागी हुनेछन् । दुवै प्रतियोगितामा समान ५ स्पर्धा समावेश गरिएको छ । जसमा पुरुष र महिला एकल, पुरुष र महिला डबल्स रहेका छन् । यसैगरी अन्तिम स्पर्धाका रूपमा मक्स डबल्स रहेको छ । प्रायोजक योनेक्स सनराइजले इन्टरनेसनल च्यालेन्जको पुरस्कार धनराशिमा १५ हजार अमेरिकी डलर प्रदान गर्नेछ । प्रत्येक स्पर्धाका विजेताले १२ सय अमेरिकी डलर र उपविजेताले ७५० अमेरिकी डलर प्राप्त गर्नेछन् । सेमिफाइनललिस्टले तीन सय र अन्तिम आठबाट बाहिरिनेले १२० अमेरिकी डलर हात पार्नेछन् ।
कोभिड– १९ को महामारी र त्यसपछि खेलकुद पुरानै गतिमा आउन समय लागेका कारण संघले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोतिगा गर्न सकेन । कोभिडपछि नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलोपल्ट आयोजना गर्न लागिएको संघका सचिव दीपक थापाले बताए । दुई प्रतियोगिताको बजेट एक करोड १६ लाख रुपैयाँ रहेको छ । इन्टरनेसनल च्यालेन्ज खुला रूपमा रहनेछ । जसमा जुनसुकै उमेरका खेलाडी सहभागी हुन पाउनेछन् । यस इभेन्ट्समा सहभागी खेलाडीको नतिजाअनुसार विश्व ब्याडमिन्टन महासंघको वरीयतामा समेत प्रभाव पार्नेछ ।