नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष ०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल चार सय ९१ जना अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान गरिएको हो ।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई तथा छनोट हुने अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएका अभिकर्तालाई सम्मान गरिन् ।
गत आवमा समग्र जीवन बिमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताको योगदान रहेको पनि बताइन् । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्तालाई प्राथमिकतामा राखी केही नयाँ अभ्यास सुरु गरेको र यसबाट लाभ पुगेको बताए ।
त्यस्तै, गत आवमै सय वा सोभन्दा बढी बिमालेख बिक्री गर्ने अभिकर्ता, नेसनल स्टार र नेसनल सुपर स्टार घोषित अभिकर्ता, विगत १० वर्षदेखि निरन्तर चेयरपर्सन क्लबमा छनोट हुने अभिकर्ता, सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने सातजना र आफ्नो कोडबाट उत्कृष्ट व्यवसाय गर्ने सातजना अभिकर्तालाई पनि विशेष सम्मान गरिएको थियो ।
यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ता र समूहगत व्यवसायबाट प्रथम हुने एकजना गरी सातजनालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।