मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
रमेश रावल सुर्खेत
२o८१ पौष ५ शुक्रबार o९:१२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भेरी–बबई डाइभर्सन निर्माण सुस्त

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार o९:१२:oo

भेरी नदीको पानीलाई सुरुङमार्फत बबई नदीमा लैजाने लक्ष्य राखिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनको काममा ढिलाइ भइरहेको छ । आयोजनाको सुरुङ ३ वैशाख ०७६ मा नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुर्खेतको भेरीगंगास्थित बबईतर्फको हात्तीखालदेखि भेरीतर्फको चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । सुरुङ निर्माण गर्ने चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)ले सम्झौता मितिअगावै काम सकेको थियो । २० कात्तिक ०७४ मा काम सुरु गरेको निर्माण कम्पनीसँग १५ चैत ०७६ मा काम सक्ने सम्झौता गरे पनि एक वर्षअघि नै सरकारलाई सुरुङ हस्तान्तरण गरेको थियो ।

सुरुको चरणमा चाँडै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको आयोजना अहिले भने लागत बढ्नुका साथै निकै सुस्त छ । आर्थिक वर्ष ०७७/७८ मा नै सम्पन्न गर्ने चर्चा चलेको आयोजनाको अहिलेसम्म भौतिक प्रगति जम्मा ६६ प्रतिशत मात्रै भएको छ । आयोजना सुरु हुँदा अनुमानित लागत ३३ अर्ब थियो । अहिले आयोजनाको कुल लागत ४५ अर्बभन्दा बढी पुग्ने आकलन गरिएको छ ।

सुरुङ निर्माणमा करिब १० अर्ब, सिँचाइ संरचनामा करिब ३० अर्ब, ४८ मेगावाट जलविद्युत् उत्पादनका लागि पाँच अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख रणबहादुर बमले विविध कारणवश आयोजना लम्बिएको बताए । ‘यसमा कोरोना महामारी अन्य प्रशासनिक सम्झौतालगायत विभिन्न कारणले ढिलाइ भएको हो,’ उनले भने, ‘आयोजनाको काम लम्बिँदै जाँदा स्वतः अन्य काममा असर गर्छ नै ।’

अहिले बाँधतर्फ बनाउनुपर्ने ६ वटा ढोकामध्ये दुईको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख बमले बताए । ‘दुईवटा ढोकाको काम पूरा भएपछि अन्य चारवटा ढोकाको काम सुरु हुन्छ,’ उनले भने, ‘गत सालको बाढीले बाँध भत्काएका कारणले पनि ढिलाइ र लागत बढेको हो ।’

त्यस्तै, चिप्लेमा बाँधको कामबाहेक बबईतर्फको हात्तीखालमा विद्युत्गृह बनाउन सुरु भएको र पुस पहिलो साताभित्र विद्युत्गृहको जग खनेर सकिने आयोजना प्रमुख बमले बताए । 

आयोजना समयमै निर्माण भए बाँके र बर्दियाको ५१ हजार हेक्टरभन्दा बढी जमिन सिँचाइ सुविधा पुग्थ्यो । तर, बजेट तथा प्राविधिक समस्याका कारण आयोजना सम्पन्न हुन अझै कति समय लाग्ने यकिन छैन ।