मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Tuesday, 11 March, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o७८ कार्तिक २४ बुधबार १४:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलिदेखि जनगणना सुरु, गणकले नै भर्नुपर्नेछ प्रश्नावली, यस्ता छन् घर-घरमा पुगेर सोधिने ८० प्रश्न

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार १४:५६:oo

भोलिदेखि देशभरको १२औँ राष्ट्रिय जनगणना सुरु हुँदै छ। भोलि बिहान १० बजेदेखि जनगणना सुरु हुनेछ। केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ। उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन्। 

जनगणनाको सुरुवात राष्ट्रपतिबाट हुनेछ। भोलि बिहान ११ बजेपछि गणकहरू उपराष्ट्रपति र प्रधानमन्त्रीकहाँ जनगणना गर्न पुग्ने बताइएको छ। त्यसपछि तालिकाअनुसार जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनाका लागि विभागले ४० हजारजना गणकलाई तालिम दिएर फिल्डमा खटाइसकेको छ। भोलिदेखि उनीहरूले घरघरमा पुगेर जनगणना सुरु गर्ने विभागका निर्देशक तीर्थराज चौलागाईंले जानकारी दिए। उनका अनुसार जनगणनाका लागि आठ हजार पाँच सयजना सुपरीवेक्षक खटाएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू पनि सुपरीवेक्षकको रूपमा खटिने छन्। 

जनगणनाको क्रममा एउटा परिवारलाई करिब ८० वटा प्रश्न गरिनेछ। गणकले एक घरमा औसत २० देखि २५ मिनेट लगाउनेछन्। यसअघि तथ्यांक विभागले असोज २६ गतेदेखि कात्तिक १४ गतेसम्म घरपरिवार सूचीकरण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त सूचीकरण कार्यपछि गणकलाई तालिम दिएर जनगणना गर्न थालिएको हो। 

गणकले नै भर्नेछन् प्रश्नावली

घरघरमा पुगेका गणकले घरधनी वा परिवारका समस्यले दिएको जानकारीका आधारमा पश्नावली भर्नेछन्। उनीहरूले विनम्र भएर प्रश्न सोध्नुपर्नेछ। अन्य व्यक्तिलाई प्रश्नावली भर्न दिन पाउने छैनन्। सोध्दै प्रश्नावलीमा समेटिएका प्रश्नहरूको लिखित उत्तर फारममा भर्नुपर्नेछ। उक्त मुख्य प्रश्नावलीमा समावेश ८० वटा प्रश्नमध्ये सबै प्रश्नको उत्तर अनिवार्य नभए पनि मुख्य विषयका प्रश्न अनिवार्य भर्नुपर्नेछ। गणकले प्रश्न नगरी आफूखुसी फारम भरिदिन पाउने छैनन्। घरघरमा पुगेका गणकलाई सत्य र सही विवरण उपलब्ध गराउन तथ्यांक विभागले अनुरोध गरेको छ। 

प्रश्नावली भर्दा छुटाउन नहुने विषय 

जनगणनाको क्रममा धेरैथरी प्रश्नहरू सोधिनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, बैंक खाता, ऋण लिएको–नलिएको, रोजगार, बेरोजगार, परिवार सदस्य संख्या, महिला, पुरुष, अपांग, तेस्रोलिंगीलगायत विवरण फारममा भरिनेछ। यी विषयको विवरण अनिवार्य भर्नुपर्नेछ। गणकले व्यक्ति र परिवारको विवरण आउने गरी जनगणना गर्नेछन्। प्रश्नावलीमा वडालाई चाहिने सूचकांक, विकास लक्ष्यका सूचक, वडाको भौतिक सुविधा, सामाजिक अवस्था, प्राकृतिक प्रकोपको अवस्था, पछौटेपनलगायत विवरण पनि संकलन गरिनेछ। कतिपय तथ्यांक वडा कार्यालयबाट संकलन गरिनेछ। 

कालापानी र लिम्पिया धुरामा जनगणना नहुने

नेपालको नयाँ नक्सामा नेपालको भूमि कालापानी र लिम्पियाधुरा समेटिए तापनि उक्त क्षेत्रमा जनगणना नहुने भएको छ। सरकारले ती क्षेत्रमा जनगणना गर्ने तयार नै गरेको छैन। भारतीय पक्षसँग स्वीकृति लिनुपर्ने भएकोले ती क्षेत्रमा हाललाई जनगणना नगरिने तथ्यांक विभागले जनाएको छ।