मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २३ शनिबार
  • Tuesday, 11 March, 2025
२o७८ असोज २३ शनिबार o७:oo:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्पोर्टस् क्यासललाई फुटसल लिगको उपाधि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २३ शनिबार o७:oo:oo

एन्फाले पहिलोपटक आयोजना गरेको ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्टस् क्यासललाई दिलाउने क्रममा किशोर गुरुङले ह्याट्रिक गरे, उपाधि विजेता क्यासलले १० लाख तथा उपविजेता शंखमूलले पाँच लाख पाएका छन्

अखिल नेपाल फुटबल संघले पहिलोपटक आयोजना गरेको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग प्रतियोगिताको उपाधि स्पोर्टस् क्यासल पोखराले जितेको छ । पोखरामा शुक्रबार सम्पन्न पहिलो संस्करणकै फाइनलमा क्यासलले शंखमूल फुटसललाई ४–२ ले हराउँदै उपाधि हात पार्न सफल भएको हो । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा स्पोर्टस् क्यासललाई च्याम्पियनसिप ट्रफी दिलाउनमा किशोर गुरुङले ह्याट्रिक गरेका थिए । 

उपाधिसँगै स्पोर्टस् क्यासलले १० लाख रुपैयाँ र उपविजेता शंखमूलले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् । उपाधि विजेता टोलीलाई विजय गुरुङले एक गोल गरे । यसैगरी, उपविजेता शंखमूलका लागि लक्ष्मण थापामगर र मणि लामाले एक–एक गोल फर्काएका थिए । फाइनल खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक रूपमा भयो । खेलको पाँचौँ मिनेटमा विजय गुरुङले स्पोर्टस् क्यासललाई १–० को अग्रता दिलाए । घरेलु टोली क्यासलले अग्रता पाँच मिनेटमा मात्र टिकाएको थियो । खेलको दसौँ मिनेटमा लक्ष्मण थापामगरले शंखमूललाई १–१ गोलको बराबरीमा ल्याए । 

तीन मिनेटअन्तरमा तीन गोल
फाइनल खेलमा एक समय खेल निकै प्रतिस्पर्धात्मक देखियो । खेलको २०–२३ मिनेटभित्र समग्रमा तीन गोल हुँदा कभर्डहलमा उपस्थित दर्शकले निकै रोमाञ्चकता प्राप्त गरे । यस अवधिमा क्यासलले दुई तथा शंखमूलले एक गोल गरेका थिए । खेलको २०औँ मिनेटमा किशोर गुरुङले स्पोर्टस् क्यासललाई २–१ को अग्रता दिलाए । दोस्रो गोल व्यहोरेको शंखमूलले आफूलाई सम्हालिन नपाउँदै एक मिनेटभित्र नै अर्को गोल खाएको थियो । खेलको २१औँ मिनेटमा किशोर गुरुङले स्पोर्टस् क्यासललाई ३–१ को अग्रता दिलाए । खेलको २२औँ मिनेटमा मणि लामाले गोल गर्दै शंखमूललाई ३–२ को अवस्थामा ल्याए । शंखमूलले बराबरी गोल गर्न निकै प्रयास गरेको थियो । तर, ३९औँ मिनेटमा किशोर गुरुङले ह्याट्रिक पूरा गर्दै क्यासललाई च्याम्पियन बनाए ।

विधागत उत्कृष्ट खेलाडी

  • उत्कृष्ट खेलाडी : मणि लामा (शंखमूल)
  • गोलरक्षक : अनिष श्रेष्ठ (कप्तान शंखमूल)
  • डिफेन्डर : विजय श्रेष्ठ (फुटसल ५ धरान)
  • उदियमान खेलाडी : सुमित श्रेष्ठ (स्पोर्टस् क्यासल)
  • प्रशिक्षक : विष्णु गुरुङ (स्पोर्टस् क्यासल) 

राउन्ड रोबिन लिगमा क्यासल शीर्ष स्थानमा
प्रतियोगितामा शंखमूलले लगातार चौथो दिन चार खेल खेलेको हो । जसका कारण यस टोलीका खेलाडी थाकेका देखिन्थे । फाइनलमा स्पोर्टस् क्यासललाई बलियो चुनौती पेस गरे पनि उपाधि जित्न शंखमूलले सकेन । ह्याट्रिक गरेका किशोर गुरुङ प्लेयर अफ दी म्याच चुनिए । उनले पाँच हजार रुपैयाँ हात पारेका छन् । राउन्ड रोबिन लिगपछि शीर्ष स्थानमा रहेको क्यासल पहिलो क्वालिफायरबाट फाइनलमा प्रवेश गरेको हो । शंखमूलले लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर र दोस्रो क्वालिफायर खेल्दै जित निकाली फाइनलको स्थान पक्का गरेको थियो । यसअघि राउन्ड रोबिन लिगमा क्यासल र शंखमूलले २–२ गोलको बराबरी खेलेका थिए । 
लिगमा स्पोर्टस् क्यासलले ११ खेलमा नौ जित निकालेको थियो । क्यासलले समान एक हार बराबरी नतिजा आत्मसात् राउन्ड रोबिन लिगमा व्यहोरेको थियो । शंखमूलले १२ खेलमा सात जित, तीन बराबरी र दुई हारको नतिजा निकाल्यो । 

लगातार खेलले थकित शंखमूल
लगातार चार खेल खेलेका कारण खेलाडी निकै थकित भएको शंखमूलका प्रशिक्षक प्रकाश परियारले बताएका छन् । खेलाडीले आफूले सोचेभन्दा राम्रो खेलेको उनको भनाइ छ । नेपालमै पहिलोपटक वास्तविक फुटसल खेलिएको उनले बताए । उपाधि विजेता क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरू जितको हकदार भएको बताए । ‘फाइनल जित्नैपर्ने दबाब थियो, खेलाडीले योजनाअनुसार नै प्रतिस्पर्धा गरे,’ उनले भने, ‘दर्शकको साथसमेत रहेकाले उपाधि जित्न सहज भयो ।’ 

१० टोली सहभागी
२ देखि २२ असोजसम्म पोखरामा भएको लिगमा देशभरका १० टोलीले प्रतिस्पर्धा गरेका थिए । एन्फाले लिगका लागि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेको थियो । प्रदेश १ बाट फुटसल फाइभ र दी राइजिङ क्लब धरानले भाग लिएका थिए । बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमूल फुटसल, प्रभातफेरि युथ क्लब र स्काई गोल्सले भाग लिए । गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल, सबिन मेमोरियल फुटसल क्लब र लुम्बिनीले सहभागिता जनाएका थिए । यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसलले लिगमा स्थान बनाएको थियो । लुम्बिनीकै झरना स्पोर्टस् क्लब रुपन्देहीले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । लुम्बिनीका दुवै टोली नै रेलिगेसनमा परेका छन् ।