
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेका छन्। शुक्रबार संसद् बैठकबाट बाहिरिने क्रममा नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले बेठिक र उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन्।
विधेयकहरूलाई फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने उनले चेतावनी दिएका छन्। ‘लामो समय समितिमा छलफल गरेर यहाँहरूले देखिराख्नुभएको छ, निजामती विधेयक कति समय समितिमा छलफल भयो। त्यत्रो समय लिएर बल्लबल्ल तपाईं–हामी सबैको दबाब चाँडो ल्याऊ, चाँडो पास गर भनी राखेको यो विधेयक हो। बल्लबल्ल संसदमा प्रवेश गर्याे। संसदमा त्यतिन्जेल रह्यो। अब अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम गर्याे। यो साह्रै बैठिक र उल्टो काम भएराखेको छ।’
उपनेता नेम्वाङले सरकारले आफूहरूको कारणले कुनै पनि विधेयक नरोकेको पनि स्मरण गराए। तर, सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको उनको तर्क छ।