
एमालेले १०बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदल संयोजकको जिम्मा उपाध्यक्ष भीम रावललाई दिएको छ । सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो ।
अध्यक्ष केपी ओलीको निर्देशनअनुसार बैठकले १०बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि कार्यदललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्ण पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पनि राख्ने निर्णय बैठकले गरेको छ ।
बैठकले पार्टीको जनवर्गीय संगठनहरुमा देखिएको समस्या पनि तत्काल समाधान गर्न महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ ।