
अफगानिस्तानमा तालिवानको कब्जाले पाकिस्तानीहरू अत्यधिक खुसी छन् भनेर अमेरिका र युरोपका थुप्रैले सोचिरहेका छन् भन्नेमा म ढुक्क छु । पश्चिममा तालिवानलाई पाकिस्तानी रचना वा परजीवी ठानिन्छ, जुन आंशिक सत्य भए पनि अतिशयोक्तीपूर्ण बुझाइ हो । विगत दुई दशकयता पाकिस्तानी सेना, सरकार र समाजका केही तत्वले तालिवानलाई सहयोग गरेकै हो । केही पाकिस्तानी अधिकारीले तालिवानले मुलुक कब्जा गरेको समाचारलाई बदनियतपूर्ण उल्लासका रूपमा प्रस्तुत गरे । मानव अधिकारमन्त्री सिरिन मजारीले काबुल घटनालाई दक्षिण भियतनाममा १९७५ मा भएको अमेरिकी पलायनसँग जोडे ।
योजनामन्त्री असद उमरले ‘अफगान सेना विनाप्रतिवाद धराशायी भएकामा सबै चकित परेका छन् । सेना तीन कारणले युद्ध लड्छ अर्थात् उद्देश्य, नेतृत्व र धन । यहाँ कुनै उद्देश्य छैन र अफगान सरकार भ्रष्ट छ । सरकारले लत्तो छोड्दा धन आउन पनि बन्द हुन्छ भने लडाइँ लड्नुको कुनै कारण छैन’ भन्दै ट्विट गरे ।
वास्तवमा अफगान सरकारको पराजयमा पाकिस्तानीले उत्सव मनाउनुपर्ने कुनै कारण छैन र थुप्रै पाकिस्तानीले उत्सव मनाउँदैनन् पनि । स्मरण रहोस्, सेप्टेम्बर ११ को घटनापछि पाकिस्तानको अन्तर्राष्ट्रिय हैसियत बढेको देखिन्छ । वासिंगटनले पाकिस्तानलाई प्रमुख गैरनेटो साझेदारसमेत घोषणा गर्याे । पाकिस्तानले अमेरिकीलाई सैन्य अड्डा उपलब्ध गरायो र त्यसबाट उसले करोडौँ डलर भित्र्यायो । प्रधानमन्त्री इमरान खानको क्याबिनेटका थुप्रै मन्त्रीले परवेज मुसर्रफ सरकारमा पनि काम गरेका थिए । मुसर्रफ थोरै समयकै लागि भए पनि अमेरिकाका लागि सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय साझेदार बनेका थिए ।
अमेरिकाले हमिद कारजाई र असरफ घानीलाई अफगानिस्तानमा प्रत्यक्ष रूपमा लादेको होइन । उनीहरूलाई पाकिस्तानको पूर्ण र उत्साहजनक समर्थनसाथ इस्लामाबादबाट पठाइएको हो । २०१४ मा असरफ घानीलाई पाकिस्तानी सेनाको मुख्यालयमा गार्ड अफ अनर दिएको मेरो सम्झनामा ताजै छ । यसै सन्दर्भमा २०१५ मा मोइद युसुफले घानीलाई समर्थन गरेर अमेरिकी थिंक–ट्यांकका लागि लामो पत्र नै लेखेको कसरी बिर्सनु ? युसुफले घानीलाई जस्तोसुकै कठिन परिस्थितिविरुद्ध लड्न सक्ने सन्तुलित नेताका रूपमा व्याख्या गरेका थिए ।
खान र घानीबीचको सम्बन्ध २०२० मा बिग्रियो जब पाकिस्तानले ट्रम्प प्रशासन र अफगान तालिवानबीच शान्ति सम्झौताका लागि वातावरण तयार गर्याे । युद्धविराम नभई घानीलाई पाँच हजारभन्दा बढी तालिवान बन्दीलाई रिहा गर्न बाध्य बनाइयो । घानी पाकिस्तान एवं तालिवानप्रति सन्देह गर्न थाले र पाकिस्तानलाई सबक सिकाउन घानी भारतनजिक भए । तर, तालिवान घानीभन्दा चतुर निस्कियो । तालिवान जस्केलाबाट छिरेर भारतसँग संलग्न भयो र दिल्लीलाई यो मामिलामा निष्प्रभावी बनाइदियो । घानी र पाकिस्तानबीचको मित्रता निकै कमजोर ठहरियो । कमजोर मित्रताका बाबजुद इस्लामावादमा कसैले पनि घानीको सत्ता पतनलाई विजयोत्सव मान्न सकेको छैन ।
अफगान सरकारको पराजयमा पाकिस्तानीले उत्सव मनाउनुपर्ने कुनै कारण छैन र थुप्रै पाकिस्तानीले उत्सव मनाउँदैनन् पनि
काबुलमा तालिवानको सैन्य कब्जाविरुद्ध केही साताअगाडि प्रधानमन्त्री खानले वासिंगटन पोस्टमा एउटा स्तम्भ नै लेखेका थिए । उनी लेख्छन्, ‘अफगानिस्तानमा पाकिस्तान र अमेरिकाको स्वार्थ एउटै छ । हामी युद्ध नभई वार्ताका माध्यमबाट शान्ति चाहन्छौँ । हामी स्थायित्व चाहन्छौँ र दुवै मुलुक (पाकिस्तान र अफगानिस्तान)लक्षित आतंकवादको अन्त्य चाहन्छौँ । केहीले यस अभिव्यक्तिलाई राजनीतिक शिष्टता मात्र भनेर खारेज गरिदिन सक्छन्, तर खान गलत छैनन् ।
तालिवानले हजारौँ कैदीलाई थुप्रै अफगान जेलबाट रिहा गराएका छन्, जसमा मौलवी फकिर मुहम्मदलगायत पाकिस्तानी तालिवान नेता पनि पर्छन् । मौलवी फकिर पाकिस्तानमा कुख्यात छन् र अलकायदा नेता अयमन अलजवाहिरीलाई सार्वजनिक प्रोत्साहन गरेका कारण पक्राउ सूचीमा परेका छन् । के मौलवी फकिर पाकिस्तानविरुद्ध युद्ध लड्न बन्द गर्छन् वा पाकिस्तानविरुद्ध युद्ध गर्ने घोषणा गरेका तेहरिक–ए–तालिवानका पाकिस्तानी नेता मुफ्ती नुर अली मेहसुदसँग हात मिलाउँछन् ? हामी राष्ट्रपति भवनमा बसिरहेका तालिवान नेतृत्वबाट उत्तर खोजिरहेका छौँ ।
उपनिवेशकालमा अफगानिस्तान र पाकिस्तानबीच कोरिएको सीमारेखा ड्युरेन्ड लाइनले आदिवासी पस्तुनलाई छुट्याएको थियो । थुप्रै विज्ञ तालिवानले सो सीमाको वैधानिकतामा प्रश्न गर्न सक्छ भनेर सन्देह गरिरहेका छन् किनभने तालिवानको मुख्य आधार नै पस्तुन समर्थन रहेको छ । काबुलमा अफगान तालिवानले कब्जा जमाउनुले दोहामा भएको अमेरिका र अफगान तालिवानबीचको शान्ति–सम्झौता अर्थहीन बनाइदिएको छ ।
अफगानिस्तानलाई ‘साम्राज्यहरूको चिहान’ पनि भन्ने गरिन्छ । सम्भवतः तालिवानले अब बेलायत र सोभियत संघलाई निस्तेज पार्ने अफगान बिरासत दाबी गर्न सक्छ । तर, नयाँ बनेको चिहानप्रति तालिवान र तिनका पाकिस्तानी समर्थकले गर्व गर्नुको औचित्य छैन । यो चिहानलाई कसरी स्वर्ग बनाउन सकिन्छ, अहिलेको वास्तविक चुनौती यही हो ।
वासिंगटन पोस्ट (मिर वरिष्ठ पाकिस्तानी पत्रकार एवं लेखक हुन्)