मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रश्मि आचार्य
२०७७ चैत १६ सोमबार ०९:४५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेकपा विघटन : हर्ष कि बिस्मात ?

नेकपा विघटन हुँदैमा सबै सकियो भनेर बिस्मातमा डुब्नुपर्ने अवस्था छैन, बरू एकताको ढोका खुलेको छ 

Read Time : > 4 मिनेट
रश्मि आचार्य
२०७७ चैत १६ सोमबार ०९:४५:००

०७४ को आमनिर्वाचनमा दुई ठूला वामपन्थी पार्टी एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको घटनाले वामपन्थी समर्थकलाई मात्र उत्साहित बनाएको थिएन, त्यसले आमजनतालाई पनि उत्साहित बनाएको थियो । यस गठबन्धनले राजनीतिक स्थायित्व र स्थिर सरकार दिने भनेर बहुसंख्यक जनता आशावादी भएको तथ्य चुनावी परिणामले नै दर्साएको थियो । विभिन्न भंगालोमा विभक्त कम्युनिस्ट आन्दोलन एकीकृत हुँदा यस्तो अभिलाषा राख्ने सबैको चेहरामा खुसी छायो । तर, दुःखद पक्ष त्यो एकता तीन वर्ष पनि टिक्न सकेन । 

एकताकै समयमा निरूपण गर्नुपर्ने अधिकांश विषय एकता महाधिवेशनको जिम्मामा छोडेर उक्त महाधिवेशनसम्म सहमति र समझदारीमा पार्टी सञ्चालन गर्ने निष्कर्षसहित दुई अध्यक्ष राखेरै भए पनि एकता गर्ने बोल्ड निर्णयमा पुग्नु एकीकृत कम्युनिस्ट आन्दोलनका लागि महत्वपूर्ण कोसेढुंगा थियो । तीन वर्षपछि विविध कारणले एकता भंग भए पनि नेतृत्वको त्यो कमदमलाई कमजोरीको रूपमा अथ्र्याउन भने मिल्दैन । 

भिन्न पृष्ठभूमि अँगालेर एक भएको नेकपाका सामु असमझदारीबीचबाट समझदारी खोज्दै पार्टी एकतालाई बलियो बनाउनेबाहेक अर्को बाटो थिएन । एक–अर्कामा भएका सकारात्मक पक्षको बीचमा फ्युजन र नकारात्मक पक्षको क्रमशः विलोपीकरणले नै एकतालाई थप सुदृढ बनाउन सक्थ्यो । विडम्बना ! त्यसो हुन सकेन । एकतापश्चात् दुई पक्षमा रहेका सकारात्मक कुरा झन्झन् खिइँदै जाने र नकारात्मक पक्ष हावी हुने क्रम बढ्दै गयो । दुई पार्टीका सबल पक्ष विस्तार गर्नुपर्नेमा दुर्बल पक्ष फस्टाएकै कारण त्यसैमा खेल्ने र उधिन्नमै अधिकांशको ध्यान गयो । 

एकताको समयमा दुई अध्यक्ष राखिनुको सीधा अर्थ, एकता माहाधिवेशनसम्म दुइटा अध्यक्ष रहन्छन् भन्ने नै थियो । अर्को अर्थमा भन्दा ती दुई अध्यक्ष पुराना दुई पार्टीका संस्थागत प्रतिनिधि मानिएका थिए । जब दुई अध्यक्ष रहनुको जग नै त्यही थियो भने एउटा अध्यक्षलाई हटाउन अर्काे  अध्यक्ष लाग्नु भनेको अध्यक्षकै तहबाट एकताको विरुद्ध धावा बोलिनु थियो ।

जुन काम प्रचण्डले योजनाबद्ध तवरले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हानेर क्षणिक लाभ–हानिमा रमाएको देखियो । यही क्रममा पार्टीभित्र बहुमत पुगेको नाटक मञ्चन गरी केपी ओलीलाई सडकबाटै पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यताबाट समेत एकपटक होइन, चार–चारपटक निष्कासन गरेर नेकपाको औपचारिक विघटनको जमिन तयार गर्ने दूषित काम गरियो ।

जुन दिनदेखि नेकपाका दुई अध्यक्ष स्पष्ट दुईतिर संगठनात्मक अभ्यास गर्न बाँडिए, त्यही दिनबाटै नेकपाको अनौपचारिक विघटन भयो, भलै त्यसले कानुनी मान्यता पाउन केही समय लाग्यो । फागुन २३ को सर्वोच्चको फैसलाले प्रत्यक्ष–अप्रत्यक्ष दुवै तवरले नेकपा विघटनलाई सदर गरेझैँ भयो । उक्त फैसलामा नेकपा नाम औपचारिक तवरले ऋषि कट्टेलको पोल्टामा परेपछि कानुनतः नेकपा विघटन हुन पुग्यो । परिणामतः नेकपा एमाले र माओवादी केन्द्र पुनः ब्युँतने अवस्था बन्यो ।

यसकारण, नेकपा विघटन अर्थात् एकता भंगको फैसला हर्ष न बिस्मातको ठाउँमा पुग्यो । राजनीतिक पार्टीहरू सैद्धान्तिक राजनीतिक जगमा गठित हुन्छन्, यो सार्वभौम मान्यताको कुरा हो । तर, कहिलेकाहीँ पार्टी कानुनी हिसाबले पनि बन्ने र भत्कने अवस्था आउँदोरहेछ । जगजाहेर छ, कानुनी हिसाबले मात्रै बनेका पार्टी दीर्घजीवी हुनै सक्दैनन् ।

नेकपाभित्र बहुमतको आडमा कानुनी तवरले पार्टी कब्जा गर्न खोज्दा प्रचण्ड–माधव खेमाले धक्का खानुपरेको तथ्य अब छिपेको विषय रहेन । यसर्थ, पार्टी निर्माणको सन्दर्भमा नेकपा विघटनको सन्दर्भ सबैका लागि विशिष्ट शिक्षा दिने घटना बनेको छ । त्यसैगरी, नयाँ सपना, उत्साह र उमंग बोकेर भएको पार्टी एकतापछिभन्दा विघटनपछि देशव्यापी फरक खालको जनउभार किन आयो ? यो अनौठो लाग्ने वास्तविकताको अन्तर्य बुझ्न गहिरो खोज भने जरुरी छ ।

एकता भत्कनु हर्षको विषय हुँदैहोइन । यो चरणमा एकता टुट्नुको अर्थ अब फेरि नयाँ जगमा एकता हुनैसक्दैन भन्ने पनि होइन । त्यसैगरी, नेकपा विघटन हुँदैमा सबै सकियो भनेर बिस्मातमा डुब्नुपर्ने अवस्था पनि छैन । बरु एकताको क्षण र तत्पश्चात्का घटनाक्रम मसिनो गरी केलाएर गम्भीर शिक्षा लिने दुर्लभ मौका परिस्थितिले सबैलाई दिएको छ । समग्र कमजोरीबाट पाठ सिक्दै नयाँ परिवेश र सन्दर्भमा एकता हुन सक्ने ढोका खुलेकै छ । प्रश्न यति मात्र हो, कति हन्डर–ठक्कर खाएपछि त्यहाँ पुग्ने ? आजकै पुस्ताले त्यो दायित्व वहन गर्ने कि नयाँ पुस्ताले गर्ने ? नयाँ मिलनबिन्दु आजै खोज्ने कि केही वर्षपछि खोज्ने ?

एमाले फ्याक्टर : दुई पार्टीमध्ये व्यवस्थित संरचना, अनुशासित पार्टीपंक्ति र विधिमा चलेको पार्टी एमाले नै थियो । विडम्बना नै भन्नुपर्छ, नेकपा बनेपछि एमाले संस्कृति जोगिन सकेन ! विचारका दृष्टिले दुवै पार्टी जनताको बहुदलीय जनवादकै सारमा आइपुग्दा पनि त्यसलाई नेकपा पंक्तिले खुला हृदयले आत्मसात् गर्न हिच्किचाउँदा समग्र पार्टी कम्पास हराएको जहाजजस्तै बन्न पुग्यो ।

त्यति मात्रै होइन, विगतमा वर्षौंवर्ष पार्टी प्रमुख भइसकेका नेताको मान–अपमान, स्थान र पदलोलुपताले पार्टीलाई अन्तहीन द्वन्द्वतर्फ धकेल्यो । इगो, प्रतिइगो र मूल नेतृत्वलाई असहयोग गर्ने मनोरोगले पार्टीको पहिलो पंक्तिलाई नराम्रोसँग गाँज्यो । नेकपाभित्र निर्णायक स्थानमा रहेको एमाले फ्याक्टरको सन्तुलन बिग्रँदा समग्र पार्टी नै अनिश्चितताको भुमरीमा फस्न पुग्यो । यही भुमरीले पार्टीलाई अन्ततः सग्लो रहन दिएन । 

माओवादी फ्याक्टर : ३४ वर्षदेखि लगातार एकल नेतृत्व भोगेको माओवादी फ्याक्टर अनेकौँ सीमा र संकुचन लिएर एकतामा सामेल भएको थियो । न त सुसंस्कृत सांगठनिक अनुभव, न त स्पष्ट वैचारिक धरातल भएको माओवादी केन्द्रले जनमत र जनाधारभन्दा कैयौँ गुणा बढी हिस्सा लिएर एकतामा सामेल हुँदा पनि त्यसलाई जोगाउन असमर्थ भयो । मूलतः अध्यक्ष प्रचण्डको आफूलाई एकल प्राधिकार ठान्ने मनोविज्ञान नै पार्र्टीभित्र संकट उब्जनुको कारण बन्यो । 

खासगरी, एकताको समयमा एमालेभित्र विद्यमान अन्तरविरोधमा माओवादी पक्षबाट त्यसमा पनि विशेषतः प्रचण्डबाट त्यो कार्ड अत्यधिक प्रयोग भयो । नेकपा अध्यक्ष ओलीविरुद्ध पार्टीभित्रै समीकरण बनाएर मोर्र्चाबन्दी गरेको एक होइन, अनेक दृष्टान्त सतहमा देखिए । ‘खेलेर जितिँदो रहेनछ, आफ्नै खुट्टमा भर पर्नु पर्दोरहेछ’ भनी प्रचण्डले गरेको स्वीकारोक्तिले पनि यही तथ्यलाई पुष्टि गर्छ । 

नेकपा विघटनको परिघटनाले क्षितिजमा कैयौँ प्रश्न उठाउँदै अनगिन्ती प्रवृत्तिको पनि उजागर गरिदिएको छ । वामपन्थी जनमत र समग्र देशका लागि तत्काल केही क्षति पुगे पनि कालो बादलभित्र चाँदीको घेरा भने देखिन सुरु भइसकेको छ ।

नेकपाभित्र संघर्ष र रूपान्तरणलाई सही अर्थमा आत्मसात् गर्र्न नसक्दा नै यो दुर्दशा निम्तियो । मूलतः एमालेभित्रको अन्तरविरोधमा खेलेर एकता महाधिवेशनअगावै नेतृत्व परिवर्तनको अर्थात् अध्यक्ष परिवर्तनको खेल जब थालियो, त्यही बिन्दुबाट पार्टीमा बिग्रहको बिउ रोपियो ।

दुई अध्यक्षको आपसी सहमतिमा दस्तावेज ल्याउनुपर्ने वैधानिक व्यवस्थालाई लत्याएर जब कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीका विरुद्ध अभियोग पत्र दर्ज गर्ने काम भयो, त्यसले निषेधको बाटो समायो । यो अभियोग पत्र जानीबुझी ‘बम्बार्ड द हेडक्वार्टर’को अर्थमा ल्याइएको भनेर प्रचण्डले दिएको अभिव्यक्तिले संघर्ष र रूपान्तरणभन्दा निषेधको पक्षपोषण गर्छ । स्वस्थ संघर्ष र रूपान्तरणको बाटोले मात्रै एकता मजबुत हुने सूत्रलाई लत्याएर माओवादी फ्याक्टरले स्वार्थकेन्द्रित निषेधको बाटो रोज्नु नै नेकपा विघटनको मूल कारण हो ।

‘मेरै कारण सबै बने, मैले नै सबैलाई बनाएँ, म त छोड्ने मान्छे पो हो त’ भनी अभिव्यक्ति दिने, तर पद, पैसा र पावर आफ्नै वरिपरि मात्रै घुम्नुपर्छ भन्ने प्रचण्ड प्रवृत्ति समयक्रममा उदांगिएको छ । ०७४ को आमनिर्वाचनमा एकातर्फ एमालेसँग वाम गठबन्धन बनाएर एउटै घोषणापत्रमा चुनाव लड्ने, तर अर्कोतर्फ चुनावपछि एमालेबाहेकको सरकार (कांग्रेस, माओवादी केन्द्र र तराईकेन्द्रित पार्टी सम्मिलित) बनाउन दुई महिना कसरत गर्ने प्रचण्डको धोकेबाज शैली नै समग्र विध्वंसको कारक हो भन्ने तथ्य पुनः एकपटक स्थापित भएको छ । तसर्थ, स्वार्थका पुलिन्दा बोकेर, अरूलाई पछार्न खोज्दा आफू पछारिएको सत्य प्रचण्ड र माओवादी फ्याक्टरले जति छिटो बुझ्नेछ, एकताको नयाँ ढोका त्यति नै छिटो खुल्नेछ । 

विशिष्ट शिक्षा : वामपन्थी एकता देश, जनता र आमपार्टीपंक्तिका लागि साधक बन्नुपर्नेमा आफैँभित्रको अन्तरद्वन्द्वमा रुमलिएर विघटनमा पुग्नु दुःखद पक्ष हो । समाजवाद स्थापनाको युगीन लक्ष्यतर्फ सिंगो पार्टीलाई डोहोर्‍याउनुपर्नेमा यसलाई प्रतिस्पर्धी तह लगाउने हतियार ठान्नु गम्भीर त्रुटि हो । यो वा त्यो बहानामा स्वार्र्थसिद्धिको साधन बनाउन खोज्नु अक्षम्य भूल हो । वामपन्थी एकतालाई पदीय लेनदेनको चस्माले हेर्नु गैरमार्क्सवादी  कुरा हो । मूलतः जनादेश र मतादेशलाई जस्ताको तस्तै नबुझ्नु जमिन छोड्नु हो । जमिन छोड्नु भनेको अन्ततः जनताको अदालतमा फैसला हार्नु हो । 

देशको यति ठूलो घटनाक्रममा बाह्य फ्याक्टर तटस्थ छ भन्ने ठान्नु राजनीतिको चुरो नबुझ्नु हो । जब नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मिलित नक्सा सार्वजनिक गरेर ऐतिहासिक पाइला चाल्यो, त्यति वेलादेखि नै ओली सरकार गिराउने र नेकपा विघटन गराउने खेल सुरु भएको तथ्य अब कसैले लुकाउन चाहेर पनि लुक्ने विषय रहेन ।

यसर्थ, कम्फर्टेबल सरकार गठनको गुह्य रहस्य छ्यांगै देखिँदा पनि त्यसप्रति अनदेखा गर्नु भनेको अझ ठूलो दुर्घटनाको नजिक पुग्नु हो । नेकपा विघटनको परिघटनाले नेपालको राजनीतिक क्षितिजमा कैयौँ प्रश्न उठाउँदै अनगिन्ती प्रवृत्तिको पनि उजागर गरिदिएको छ । कतिपय राजनीतिक पात्रको मुकुण्डो उतारिदिएको छ । वामपन्थी जनमत र समग्र देशका लागि तत्काल केही क्षति पुगे पनि कालो बादलभित्र चाँदीको घेरा भने देखिन सुरु भइसकेको छ ।