एक समय विद्यार्थी आन्दोलनको पर्याय र पार्टीको मेरुदण्डका रूपमा स्थापित र परिचित अनेरास्ववियुको चिनारी आज बदलिँदो अवस्थामा छ । पार्टीहरू स्वयंले मूलधारमा रहेर प्रत्यक्ष नेतृत्व गरेका कारण विद्यार्थी संगठनको भूमिका फेरिनु अस्वाभाविक होइन । बदलिँदो परिवेशमा सिर्जित बहुआयामिक चुनौती सामना गर्दै समयसापेक्ष कार्यभार तय गर्नुपर्नेछ । एमालेका जनसंगठनमध्ये सबैभन्दा चलायमान र नर्सरीका रूपमा चिनिने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन सात वर्षपछि आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
महाधिवेशनमा ११ विश्वविद्यालयका चार सय ८१ क्याम्पस (स्ववियु निर्वाचन हुने मात्र)सहित प्रदेश, जिल्ला, महानगर र विद्यालय कमिटीबाट प्रतिनिधित्व गर्दै करिब १६ सय प्रतिनिधिले सहभागिता जनाउँदै छन् । विद्यार्थी आन्दोलनको चित्र, चरित्र र स्वरूप बदल्नैपर्ने दबाब बढेको परिवेशमा आयोजित यस महाधिवेशनसँग केही अपेक्षा जोडिएका छन् । यसतर्फ अखिलपंक्तिले मनन गर्नु जरुरी छ ।
हिजो र आजको भिन्नता : पञ्चायतीसत्ताको आँखा छलेर विष्णुमती नदी–किनारमा लुकीलुकी जम्मा भएर ०२२ मा कक्षा ९ मा अध्ययनरत सुजन खरेल अनेरास्ववियु अध्यक्ष हुँदा र आजको समयमा ठूलो भिन्नता छ । समयको मात्रै भिन्नता होइन मुद्दा, प्रतिनिधित्व, संगठनात्मक संरचना, कार्यशैली र विद्यार्थी आन्दोलनप्रतिकै बुझाइमा समेत भिन्नता छ । समयक्रम र वस्तुगत अवस्थासँगै बढोत्तरी भएका भिन्नतालाई आत्मसात् गरी विविधतामा एकता खोज्न सक्ने र आजका चुनौतीका चाङलाई निस्तेज पार्न सक्ने नेतृत्व निर्माण गर्नु नै यस महाधिवेशनको मुख्य कार्यभार हो ।
थोरै विद्यार्थी, एउटा मात्र विश्वविद्यालय र सार्वजनिक शिक्षालय नै आकर्षणको केन्द्र भएको समयमा स्थापना भएको अनेरास्ववियुले अवलम्बन गरेको नीति र लाखौैँ विद्यार्थी, दर्जन विश्वविद्यालय र हजारौँ निजी शिक्षालयको प्रभाव विस्तार भएको समयमा लिइने नीति एकैखालको हुनै सक्दैन । आजको अखिलले यो बहुआयामिकतालाई आत्मसात् गर्नुपर्छ । शैक्षिक संस्थाका विविधता र विद्यार्थीको फैलावटअनुसार दृष्टिकोणमा निखार, सांगठनिक चुस्तता, चुनौतीसापेक्ष नेतृत्वको सक्षमता र प्रविधिमा निपूणता आजको अखिलपंक्तिमा अपरिहार्यता छ ।
हिजोको नेतृत्व चयनमा मुख्य मानक आन्दोलन र संगठनप्रतिको निष्ठा, त्याग, समर्पण, इमानदारी, अनुशासनजस्ता पक्षलाई मानिन्थ्यो, आज न त ती मानक नै जोगिएका छन्, न त अरू असल मानक थपिएकै छन् । पुरानालाई पनि जोगाउन नसक्ने, नयाँ पनि जोड्न नसक्ने किंकर्तव्यविमूढताको अवस्थाले वर्तमानलाई नराम्रोसँग गाँजेको छ । चाहे त्यो कार्यशैलीको सवाल होस् वा आचरणकै किन नहोस्, वर्तमानमा अनगन्ती प्रश्न उठेका छन् । हिजो प्रश्न कम, तर उभार र चुम्बकत्व ज्यादा थियो भने आज प्रश्न बढी छन् भने उभार र आकर्षण कमजोर । जसको झझल्को विगतका राष्ट्रिय र स्थानीय निर्वाचनमा प्रस्टै देख्न सकिन्छ ।
हिजो व्यवस्थाविरुद्ध आवाज उठाउँदा मात्रै लोकप्रिय भइने र ऐतिहासिक अभिभारा पूरा गरेको ठानिने अवस्था थियो, तर आज त्यो सम्भव छैन । अतितमा प्रयुक्त ‘माटो सुहाउँदो शिक्षा’, ‘जनमुखी शिक्षा’ र ‘जनवादी शिक्षा’जस्ता अमूर्त भाष्यको सट्टा ‘जीवनसँग जोडिएको व्यवहारवादी शिक्षा’को मूर्त खाका कोरेर कार्यान्वयनमा जोड दिनु नै आजको टड्कारो आवश्यकता हो ।
आजका चुनौती : अनेरास्ववियुसामु यतिवेला एक होइन, अनेक चुनौती छन् । तीमध्ये पनि शैक्षिक, सांगठनिक, सामाजिक, राजनीतिक र व्यावहारिक चुनौती प्रधान हुन् । प्रथमतः अखिल संस्कार, संस्कृति र आचरणको जगेर्ना गर्दैै त्यसलाई परिष्कृत बनाउने चुनौती ज्वलन्त रूपमा खडा भएको छ । अनेरास्ववियुको पहिलो अक्षर ‘अ’को अर्थ ‘अध्ययनशील’, ‘अनुशासित’, ‘असल आचरण र संस्कारयुक्त’, ‘अग्रगामी’, ‘अथक योद्धा’जस्ता विशेषणमा खिया लागेको देखिन्छ । दोस्रो, अनेरास्ववियुलाई बहुसंख्यक विद्यार्थीको प्रतिनिधित्व गर्ने संगठन बनाउनु चुनौतीपूर्ण देखिन्छ ।
‘अखिल’को शाब्दिक अर्थ ‘सबैलाई समेट्ने, सम्पूर्ण, समग्र’ (प्रज्ञा नेपाली बृहत् शब्दकोष, नेपाल प्रज्ञा प्रतिष्ठान) मुताबिक संगठनलाई रूपान्तरण गर्ने चुनौती पछिल्ला दिनका शिरदेखि तिरसम्मै देखापरेको छ । तेस्रो, संगठनभित्र हुर्कन खोजेका गलत अभ्यास भुसको आगोझैँ फैलिएको देखिन्छ । जसलाई निमिट्यान्न पार्न संगठनात्मक एकता, सामूहिकता र कठोर प्रतिबद्धताको खाँचो छ ।
समयक्रम र वस्तुगत अवस्थासँगै बढोत्तरी भएका भिन्नतालाई आत्मसात् गरी विविधतामा एकता खोज्न सक्ने र आजका चुनौतीका चाङलाई निस्तेज पार्न सक्ने नेतृत्व निर्माण गर्नु नै अनेरास्ववियुको यस महाधिवेशनको महत्वपूर्ण कार्यभार हो
चौथो, सार्वजनिक शिक्षालयको खस्कँदो गुणस्तरलाई वृद्धि गरेर उनीहरूप्रति आकर्षण भर्ने चुनौती हरेक वर्ष झन्झन् थपिँदै आएको छ । राज्यले सार्वजनिक शिक्षामा लगानी गरेअनुरूप प्रतिफल नआउने, लगानीको पनि संरक्षण नहुने र निजीको दबाब र प्रभाव एकपछि अर्को बढ्दै जानुले चुनौती थप पेचिलो बन्दै छ । पाँचाैँ, देशको सामथ्र्यलाई सदुपयोग गर्ने खालको शिक्षा नीति र प्रणाली स्थापित गर्न विद्यार्थी आन्दोलनको स्वरूप, चरित्र र मूल प्रणालीलाई बदल्ने चुनौती छ ।
समयक्रम र वस्तुगत अवस्थासँगै बढोत्तरी भएका भिन्नतालाई आत्मसात् गरी विविधतामा एकता खोज्न सक्ने र आजका चुनौतीका चाङलाई निस्तेज पार्न सक्ने नेतृत्व निर्माण गर्नु नै अनेरास्ववियुको यस महाधिवेशनको महत्वपूर्ण कार्यभार हो
छैटौँ, देशलाई माया गर्ने, देशको समृद्धिपथमा सहयोगी बन्ने जनशक्ति उत्पादन गर्ने चुनौती दिनप्रतिदिन मुखर बनेर आएको छ । खासगरी आजका अभिभावक र विद्यार्थी दुवैमा भविष्यमा देशमै बसेर केही गर्न सकिन्छ भन्ने मनोविज्ञान न्यून देखिन्छ । यस्तो मनोविज्ञान बदल्नु नै आजको मुख्य चुनौती हो । सातौँ, मूलधारका राजनीतिक दलप्रति आक्रोश पोखेर स्वतन्त्रको रुझान मन पराएका नयाँ पुस्तालाई आकर्षण गर्ने र उनीहरूलाई नेतृत्वमा स्थापित गर्ने चुनौतीसमेत देखिएको छ ।
आठौँ, संविधानमै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा राखिएकाले त्यसलाई पूर्ण कार्यान्वय गर्न, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न र समाजवाद प्राप्तिको दिशामा देशलाई डोर्याउने युगीन अभिभारा पूरा गर्न नयाँ पुस्तालाई केन्द्रीकृत गर्ने चुनौती खडा भएको छ ।
नयाँ पुस्ताको प्रतिनिधि संगठन भएका नाताले यो चुनौती मूलतः अखिलपंक्तिको चुनौती हो । नवौँ, आफ्नै औचित्य पुष्टि गर्ने चुनौतीसमेत हरेक कोणबाट खडा भएकै छ । यसका लागि पार्टीले औचित्य पुष्टि गरिदिनेभन्दा आफैँले व्यवहारतः औचित्य साबित गर्ने सूत्रहरू अब अनेरास्ववियुले आफ्नै खुट्टामा उभिएर तय गर्न सक्नुपर्छ । तब मात्र अखिलले फरक पहिचानसहित संगठनको सामथ्र्यलाई संस्थागत र पुँजीकृत गर्न सक्छ । यी तमाम अभिभारा पूरा गर्न पार्टीजीवी र नेताप्रेमी अखिलभन्दा विद्यार्थीप्रेमी अखिलको जरुरत छ ।
यसरी चुनौतीका चाङ थपिएअनुरूप त्यसलाई व्यस्थापन गर्ने नेतृत्व कौशल विकास हुनुपर्नेमा त्यसो हुन नसक्नु विडम्बना हो । चुनौतीका पहाडको अग्लाइ बढ्दै जाने, तर नेतृत्वको सक्षमता ह्रास हुँदै जाने क्रम नरोकिएको ‘एन्टिकरेन्ट’को समयमा आयोजित यस महाधिवेशनले लिने निर्णय अखिल जीवनको पुनर्जागरणसँग ज्यादै महत्वका छन् । यसर्थ, सार्वभौम प्रतिनिधिले महाधिवेशनमार्फत गर्ने विवेकसम्मत फैसला संगठनको पुनर्जागरणका मुख्य आधार हुन् ।
अबको दायित्व : उल्लिखित चुनौतीका पहाड छिचोल्न कामयाब योजना बनाउने र तिनलाई हुबहु कार्यान्वयन गर्ने दायित्व नै आजको अखिलको मूल दायित्व हो । यस महाधिवेशनबाट चयन हुने नेतृत्वको अर्जुनदृष्टि त्यता सोझिनुपर्छ । खासगरी ‘मुद्दाको सौदाबाजी’ प्रवृत्तिलाई त्यागेर ‘दबाब र जागरणको प्रतिपक्षी चरित्र’ मुखरित गर्नु अनेरास्ववियुको पहिलो कार्यभार हो । शैक्षिक मुद्दामा सम्झौताहीन संघर्ष गरेर विद्यार्थी समुदायले ठोस उपलब्धि हासिल गर्ने अवस्था ल्याउने, सार्वजनिक शिक्षालयप्रति आकर्षण वृद्धि गर्न ठोस पहलकदमी लिने, ‘म बनाउँछु मेरो विद्यालय, हामी सपार्छौँ हाम्रा शिक्षालय’जस्ता अभियान घनीभूत रूपमा चलाउने, शिक्षालाई सीप र श्रमसँग, पढाइलाई कमाइसँग, शिक्षालयलाई उत्पादनसँग, जनशक्तिलाई उद्यम र प्रविधिसँग तथा प्रविधिलाई देशको समृद्धिसँग जोड्ने मूल अभियन्ता अनेरास्ववियु बन्नैपर्छ ।
११औँ राष्ट्रिय सम्मेलनले निर्धारित गरेका शैक्षिक जागरणको आन्दोलन, रचनात्मक क्रियाशीलताको आन्दोलन, सामाजिक जागरणको आन्दोलन र राष्ट्रियता तथा राष्ट्रहित संरक्षणको आन्दोलनको कार्यभारको अलावा देशको समृद्धिपथमा ‘फ्रन्टलाइनर’ हुने कार्यभारलाई अब अनेरास्ववियुले ढिलो नगरी तय गर्नुपर्छ । कुनै न कुनै पुस्ताले भारी मिहिनेत नगरी देशले समृद्धिको मार्ग पहिल्याउन सक्दैन । यसर्थ, अबको एउटा पुस्तालाई मिहिनेती, राष्ट्रवादी र परिणाममुखी बनाउन अनेरास्ववियुले नेतृत्वदायी भूमिका खेल्नैपर्छ ।
त्यसैगरी, विद्यार्थीको पहिलो रोजाइको संगठन अनेरास्ववियुलाई बनाउने दायित्व उसको अर्को कार्यभार हो । ‘जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियु’ मात्र होइन, अब ‘जहाँ अनेरास्ववियु त्यहाँ सकारात्मक परिणाम’को कार्यदिशा तय गरेर हजारौँ विद्यार्थीलाई यस महाअभियानमा सामेल गर्नुपर्छ । यसका लागि हरेक क्षेत्रमा चाहिने योग्य जनशक्ति विकासमा पहलकदमी लिने, परिवर्तनशीलतालाई आत्मसात् गर्ने तथा प्रतिस्पर्धामा श्रेष्ठता स्थापित गर्ने मान्यताको कट्टर हिमायती अनेरास्ववियु बन्नुपर्छ ।
संगठन–समाज–पार्टी–देश सर्वत्र प्रतिस्पर्धामा श्रेष्ठता स्थापित गर्न अनेरास्ववियु सन्देशवाहक हुनुपर्छ । प्रतिस्पर्धामा श्रेष्ठताको सन्देश महाधिवेशनबाटै उसले सम्प्रेषण गर्नुपर्छ । विद्यार्थी आन्दोलनको शुद्धीकरण र सशक्तीकरणलाई अनेरास्ववियुले बलियो गरी समात्नुपर्छ । त्यसका लागि सबै संगठनलाई साझा एजेन्डा र एक्सन प्लानमा एकीकृत गरेर सँगै लिएर हिँड्ने र विद्यार्थी आन्दोलनलाई परिणाममुखी बनाउने कार्यभार अनेरास्ववियुले नै अगाडि बढाउनुपर्छ ।
शैक्षिक सवालसँगै सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र पर्यावरणीय मुद्दामा अनेरास्ववियु आमजनताको भरपर्दो सारथि बन्नुपर्छ । कुरीति, कुसंस्कार, विभेद र अन्यायविरुद्ध आवाजविहीनको आवाज बन्न यसले कुनै कसर बाँकी राख्नुहुँदैन । सिर्जना र विपत् दुवै परिस्थितिमा सबैले सन्झिने पहिलो नाम अनेरास्ववियु बन्न सक्नुपर्छ । यस कार्यभारलाई अनेरास्ववियुले अविछिन्न रूपमा अँगाल्नुपर्छ । गणतन्त्र प्राप्तिको आन्दोलनमा राजनीतिक पार्टीहरूलाई समेत बाध्य बनाउने भूमिका, देशभक्तिपूर्ण आन्दोलनको अगुवाइ, यातायातमा विद्यार्थी परिचयपत्रका आधारमा सहुलियत, प्रवीण गुरुङ हत्याकाण्डविरोधी संघर्ष, बृहत् शैक्षिक सम्मेलन, विद्यार्थी सर्टिफिकेटका आधारमा सहुलियतपूर्ण कर्जाजस्ता सबैले देख्ने र महसुस गर्ने खालका उपलब्धि हासिल गर्न अबको अनेरास्ववियुले स्पष्ट ‘रोडम्याप’ बनाउनुपर्छ ।
विद्यार्थी आन्दोलनको बलिदानीपूर्ण संघर्षसँग जोडिएको साझा संस्था स्ववियु निर्वाचन केही क्याम्पसमा बाहेक मूलतः १४ वर्षदेखि हुन सकेको छैन । यसपटक बनेको वातावरणलाई परिपक्व बनाउँदै तोकिएकै मितिमा निर्वाचन गराउने र स्ववियुलाई जगेर्ना गर्ने कार्यभारसमेत अनेरास्ववियुको काँधमा छ । निर्वाचित स्ववियुलाई रचनात्मक तथा सिर्जनात्मक बनाउने, सामाजिक परिवर्तनका अभियन्ता बनाउने, असल संस्कार र संस्कृतिका पक्षपोषक बनाउने, प्राज्ञिक उन्नयनका अभिन्न अंग बन्न उत्प्रेरित गर्ने, आमविद्यार्थीमा उद्यमशीलताको भावना जागृत गर्ने कार्यमा होम्नैपर्छ । क्याम्पस, विश्वविद्यालय र विद्यार्थी समुदायको सामूहिक भलो हुने दिशामा स्ववियुको परिचालनमा अनेरास्ववियु पथप्रदर्शक बन्नुपर्छ ।
संगठन र पार्टीमा देखिएका कमजोरी पहिल्याएर तिनको निरूपण गर्दै नयाँ तरिकाले नयाँ पुस्तामा भाइब्रेसन सिर्जना गर्ने युगीन अभिभारा वर्तमान अखिलको काँधमा छ । कसैका लागि प्रयोग हुने वा कसैलाई प्रयोग गरेर पद प्राप्तिको भ¥याङ बन्ने प्रवृत्तिलाई अखिलले किमार्थ हुर्कन दिनुहुँदैन । संगठनभित्र क्षमता प्रस्फुटनको उत्कृष्ट वातावरण बनाउन, नेतृत्व निर्माणको आधारभूत प्लाटफर्म सिर्जना गर्न, सिर्जनात्मक र नवप्रर्वतनात्मक आकर्षक कार्यशैली अवलम्बन गर्न र नयाँ पुस्ता सुहाउँदो अनुकरणीय नेतृत्व स्थापित गर्न समकालीन विद्यार्थी संगठनभन्दा अनेरास्ववियु सदैव अगाडि देखिनुपर्छ । तब मात्रै समाज र देशका लागि चाहिने योग्य नेतृत्व निर्माणमा अनेरास्ववियु वास्तविक नर्सरी बन्न सक्छ ।
(आचार्य अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष हुन्)