पोखरा महानगरसँग असीमित सम्भावना छन् । देशभरका ६ वटा महानगरपालिकामध्ये क्षेत्रफलमा मात्र होइन, समृद्धिमा पनि सबैलाई उछिन्ने तागत राख्छ, पोखराले । प्रकृति, सम्पदा, स्रोत–साधन, जनशक्ति र प्रविधिको उच्चतम प्रयोग हुँदा समृद्धिको पथमा पोखरा एक मोडल नै बन्न सक्छ । यसका लागि आर्थिक, सामाजिक र पूर्वाधार विकासको योजनाबद्ध काम आवश्यक छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजनाका साथमा काम हुँदा पोखराले काँचुली फेर्न धेरै समय लाग्दैन ।
पृष्ठभूमि : ४६४.९६ वर्ग किमि क्षेत्रफलमा फैलिएको पोखरा महानगरपालिकामा ३३ वडा छन् । सानो वडा ०.५१ वर्ग किमि र ठूलो वडा ४७.८० वर्ग किमिमा फैलिएको छ । भौतिक पूर्वाधारका दृष्टिकोणबाट हेर्दा पोखरामा विकसित सहर, सहरोन्मुख केन्द्र र ग्रामीण इलाका गरी तीन प्रकृतिका क्षेत्र देख्न सकिन्छ । पोखरा बहुसंस्कृति र बहुभाषाको संगमस्थल पनि हो । विभिन्न ताल, प्रसिद्ध मन्दिर, दर्जनौँ पर्यटकीय स्थल, हिमाल र सेतीनदी पोखराका मुख्य सामथ्र्य हुन् । प्राकृतिक, सामाजिक तथा सांस्कृतिक विविधताको एउटा अद्वितीय मिश्रण पोखरामा भेट्न सकिन्छ । पर्यटकीय राजधानीको रूपमा सुपरिचित पोखरा शिक्षा, स्वास्थ्योपचार, साहसिक पर्यटन र व्यापारिक गन्तव्यको केन्द्रसमेत बन्न सक्छ । बहुसंस्कृति, बहुपहिचान, बहुसम्भावना र सुन्दर भविष्य बोकेर पोखरा नेपालको मध्यभागमा अवस्थित छ ।
यहाँको जनसंख्या वितरण असमान खालको छ । कुल जनसंख्याको ४६ प्रतिशत जनसंख्या ६ प्रतिशत भूभागमा बसोवास गर्छन् भने ५४ प्रतिशत जनसंख्या ९४ प्रतिशत भूभागमा छरिएर रहेका छन् । कुल क्षेत्रफलको ५४ प्रतिशत वनजंगलले ढाकेको पोखरालाई हरित महानगर बनाउन सकिने उत्तिकै सम्भावना छ । एक चौथाइ अर्थात् २५.७८ प्रतिशत कृषिभूमि रहेको पोखराको मानव विकास सूचकांक ०.५६७ रहेको छ । यहाँ बेरोजगारी दर चार प्रतिशत र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको देखिन्छ (श्रम शक्ति सर्वेक्षण ०७५) ।
शिक्षा : आयुर्वेदको कश्यप संहिता रचिएको यस ज्ञानभूमिमा शिक्षाको प्रचुर सम्भावना छ । विद्यमान २०९ बाल विकास केन्द्र, १४१ आधारभूत विद्यालय, २३४ माध्यमिक विद्यालय र केही प्राविधिक विद्यालयसहित कुल ३७५ विद्यालयलाई एकीकृत योजनामा समावेश गरी गुणस्तरीय, सर्वसुलभ र जीवनोपयोगी शिक्षा दिनु नै महानगरको पहिलो जिम्मेवारी हो ।
मूलतः सार्वजनिक शिक्षाको गुणस्तर उकासेर आमअभिभावकको विश्वास आर्जन गर्दा मात्रै यहाँको शिक्षाले गुणात्मक फड्को मारेको ठहरिनेछ । भौतिक संरचनाको स्तरोन्नतिसँगै पूर्वप्राथमिक शिक्षा लिने बालबालिकाको स्वास्थ्य, सुरक्षा र बसाइको उचित प्रबन्ध गर्ने, शैक्षिक सामग्रीको अभाव हुन नदिने, आइसिटीमा आधारित शिक्षामा जोड दिने तथा स्थानीय स्रोत र साधनको उपभोगमा आधारित प्राविधिक शिक्षाको विकास शिक्षामा आमूल परिवर्तनका महत्वपूर्ण कडी हुन् । मूलतः उत्कृष्ट व्यवस्थापनका लागि समुदायको अपनत्व र सर्वोत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धी जनशक्तिको विकास यसका आधारभूत सर्त हुन् । खोज तथा अनुसन्धानमा आधारित शिक्षाविना कुनै पनि ठाउँको समुन्नति सम्भव छैन । यसर्थ, शिक्षाको समग्र गुरुयोजना बनाउँदा महानगरकै प्रत्यक्ष संलग्नतामा मेडिकल र इन्जिनियरिङ कलेज सञ्चालनसम्मको लक्ष्य लिनुपर्छ ।
स्वास्थ्य : महानगरवासीले प्राप्त गरिरहेको स्वास्थ्योपचारको गुणस्तर कस्तो छ ? उपचार कति सर्वसुलभ छ ? यसको वास्तविक तथ्य पहिल्याउनु र हरेक नागरिकको स्वास्थ्योपचारको हक ग्यारेन्टी गर्नु महानगरको अर्को महत्वपूर्ण जिम्मेवारी हो । हाल सञ्चालनमा भएका स्वास्थ्य संस्थाहरू विगतका नगरपालिका वा गाविस हुँदाको संरचनालक्षित थोरै जनसंख्यामा आधारित भएकाले जनसंख्याको बढ्दो चापलाई यिनले धान्न सक्दैनन् । तिनीहरूको स्तरोन्नति सँगसँगै सबै विशिष्ट अर्थात् ‘सुपर स्पेसलिस्ट’ सेवा प्रदान गर्न सक्ने मेडिकल कलेजसहितको अस्पताल पोखरामा अत्यावश्यक छ । पोखरामा थपिन सक्ने पर्यटकीय र जनसंख्याको चाप दुवैलाई दृष्टिगत गर्दै समग्र स्वास्थ्य क्षेत्रको बृहत् योजना बनाएर महानगर अगाडि बढ्नुपर्छ । हरेक नागरिकले स्वाथ्य बिमा कार्यक्रमबाट सहज तरिकाले सेवा प्राप्त गर्ने गरी स्वाथ्यनीतिमै पुनर्संरचना जरुरी छ । विपन्नता वा अन्य कुनै कारणले नागरिकले स्वास्थ्योपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरी हरेक नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने लक्ष्य भेदनका लागि महानगर केन्द्रित हुनुपर्छ । आधारभूत स्वास्थ्य सेवालाई समुदायस्तरमा लगेर समुदायकै व्यवस्थापन र सहभागितामा उपचार सेवा थालनी गर्ने र रिफर अस्पतालका रूपमा महानगर, संघ र प्रदेशस्तरका अस्पतालको विशिष्टीकृत सेवामा सहकार्यले स्वास्थ्य सेवाका वर्तमान समस्या हल गर्न सकिन्छ ।
पर्यटन : पोखरा र पर्यटन एकअर्काका पर्याय हुन् । पोखराको पर्यटन सामथ्र्य पहिल्याएर त्यसको पूर्ण उपभोग गर्नु नै समुन्नत पोखरा निर्माणको प्रमुख आधारशिला हो । पोखराको मुहार बदल्ने गेम चेन्जर योजनाको शीघ्र छनोट र तिनको कार्यान्वयनमा ढिलाइ हुँदा यसको सामथ्र्य क्रमशः क्षयीकरण हुनेछ । तसर्थ, मापदण्ड, संरक्षण क्षेत्र र क्षेत्रफलजस्ता वर्षौं अनिर्णित विषयमा शीघ्र तार्किक निचोड निकाली प्रकृतिले दिएका सम्पदालाई संरक्षण र थप आकर्षक बनाउँदै संसारको नजर तान्ने गरी पोखराले काम थाल्नुपर्छ । आफ्नै सामथ्र्यलाई एकअर्काको पूरक बनाउन वरपरका पर्यटकीय स्थललाई जोडेर पर्यटन सर्किट बनाउने र सेटलाइट सिटीको सम्भावनालाई समेत दृष्टिगत गरी बृहत् पर्यटकीय सर्किट बनाउने तथा ग्रेटर पोखराको परिकल्पनासमेत पोखरासँग हुनुपर्छ ।
पोखराको समुन्नतिमा धार्मिक पर्यटनको उत्तिकै महत्व छ । लाखौँ भारतीय हिन्दू धर्मावलम्बीलाई पोखराको बाटो हुँदै मुक्तिनाथसम्म लैजाने र लाखौँ चिनियाँ बौद्ध धर्मावलम्बीलाई पोखराको बाटो हुँदै लुम्बिनीसम्म पु¥याउने ट्रान्जिट रुट पोखरा बन्न सक्छ । यसो हुँदा पोखरा व्यापारिक केन्द्रसमेत बन्न सक्छ । जसका लागि केही ठाउँमा सुरुङ मार्गसहितको कोराला–पोखरा–बुटवल सबैभन्दा छोटो स्थल रुट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (हवाई रुट) कोसेढुंगा बन्न सक्छ ।
प्रकृति, सम्पदा, स्रोत–साधन, जनशक्ति र प्रविधिको उच्चतम प्रयोग हुँदा समृद्धिको पथमा पोखरा एक मोडल बन्न सक्छ । यसका लागि आर्थिक, सामाजिक र पूर्वाधार विकासको योजनाबद्ध काम आवश्यक छ ।
प्रविधिमैत्री महानगर : डिजिटल पोखरा असम्भव छैन, तर त्यसका लागि योजनाबद्ध काम हुनुपर्छ । पोखराको आफ्नै सर्भर सिस्टम बनाउने, शिक्षा, स्वास्थ्यसम्बद्ध संस्थाका अतिरिक्त महानगरसम्बद्ध सम्पूर्ण कार्यालयमा सोही सिस्टमबाट सेवा दिने प्रणाली विकास गर्न सकिन्छ । महानगरवासी सबैको यथार्थ विवरणसहितको तथ्यांक संकलन, तथ्यांकको गोपनीयता र त्यही जगमा योजना निर्माण गरिनुपर्छ । खासगरी घरमै बसीबसी एप्समार्फत सार्वजनिक सेवा लिने, मोबाइल र ल्यापटपका स्क्रिन हेरेर हरसूचनाको जानकारी लिने प्रणाली विकास हुनु नै प्रविधिमैत्री सहरको आधारशिला बन्नु हो ।
प्रविधि र सुशासन एकअर्काका पर्यायजस्तै बनेको पृष्ठभूमिमा प्रविधिको उच्चतम सदुपयोग गरेर सुशासन कायम गर्न महानगरवासीले सहज तरिकाले सार्वजनिक सेवा प्राप्त गर्ने संरचना तथा प्रणाली बनाउनुपर्छ । सही सूचना दिनु, सेवाग्राहीलाई अनावश्यक दुःख नदिनु, कुन काम कति समयमा हुन सक्छ पारदर्शी बन्नु र सार्वजनिक सेवाको प्रवाह छिटोछरितो बनोस् भन्नेमा महानगरले सचेतता अपनाउनुपर्छ । जस्तै– नक्सापास, कर राजस्व संकलन, रेकर्डको खोजी र निर्माण सम्पन्नताको यकिन गर्नेजस्ता कार्यमा प्रविधिको प्रयोग र पारदर्शिता अपरिहार्य भइसकेको छ । झन्झटमुक्त र पारदर्शी सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोगमार्फत सुशासनमा च्याम्पियन बन्ने लक्ष्य पोखराले लिनैपर्छ ।
सहरको सौन्दर्यीकरण : पोखरा आफैँमा सुन्दर सहर हो, तथापि यसको सुन्दरतालाई थप उजिल्याउन भौतिक पूर्वाधार निर्माण र बस्ती विकासमा समेत सहरको सौन्दर्यीकरणलाई एकाकार गर्न जरुरी छ । जस्तो कि बाइपास सडक, बसपार्क निर्माण, वैज्ञानिक ट्राफिक व्यवस्थापन, व्यवस्थित पार्किङ, तारहरूको भूमिगत व्यवस्थापन, पूर्वाधार विकासका काममा तादात्म्य (महानगरकै शाखा÷एकाइबीच प्रभावकारी समन्वय) जस्ता पाटोमा परिणाममुखी पहलकदमीको खाँचो छ । त्यसैगरी सहरको सुन्दरता अभिवृद्धि गर्न तथा सहरवासीलाई शारीरिक र मानसिक सतुष्टि प्रदान गर्ने र विपत् आइपर्दा सुरक्षा र राहत वितरणमा अत्यावश्यक सार्वजनिक खुला स्थानको संरक्षण र विकास गरी नयाँ ठाउँमा पार्क निर्माणलाई बढावा दिँदै पोखरामा विद्यमान पार्कलाई थप व्यवस्थित बनाउँदै सहरको सौन्दर्यीकरणमा जोड दिन आवश्यक छ । वातावरणमैत्री विकास अर्थात् हरित विकासको अवधारणालाई आत्मसात् गर्दै विकास आयोजनालाई त्यसअनुरूप रूपान्तरित गर्नुपर्छ । धुवाँधुलोमुक्त महानगर बनाउन विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिने, सार्वजनिक यातायातको सेवा र गुणस्तर वृद्धि गर्ने, विभिन्न नाकाबाट महानगर भित्रिने सवारी प्रवेश गर्ने नाकामा सवारी सरसफाइ एकाइ स्थापना गर्नेतर्फ क्रमशः महानगरले सोच बनाउनुपर्छ । त्यसैगरी, अव्यवस्थित बसोवासको समस्या दीर्घकालीन रूपमा हल गर्न सरोकारवाला पक्षको संवेदनशीलतासमेत ख्याल गर्दै तार्किक निष्कर्षमा पुग्न महानगरले निर्णायक पहलकदमी लिनुपर्छ ।
फोहोरबाट मोहर : विश्व बैंकले गरेको एक अध्ययनअनुसार पोखरामा उत्पादित फोहोरमध्ये ६२ प्रतिशत कम्पोस्टका रूपमा प्रयोग गर्न सकिने, २० प्रतिशत पुनः प्रयोग गर्न सकिने र बाँकी १८ प्रतिशत मात्र विसर्जन गर्नुपर्ने खालको छ । यसको अर्थ ८२ प्रतिशत फोहोरबाट मोहर उत्पादन गर्न सकिन्छ । रोजगारी सिर्जना र आर्थिक उपार्जनमा समेत फोहोरमैला महत्वपूर्ण कडी बन्न सक्छ । यसर्थ फोहरमैला वर्गीकरण तथा पुनः प्रयोगमा विकसित प्रविधि प्रयोग गरी वैज्ञानिक तवरले व्यवस्थापन गर्न महानगरले शीघ्र काम थाल्नुपर्छ । सहरमा एक टुक्रा फोहोर नदेखिने गरी सौन्दर्यीकरणमा जोड दिने, हरेक टुक्रा फोहोरबाट मोहर निकालेर आर्थिक सबलीकरणमा टेवा पु¥याउनेतर्फ महानगर केन्द्रित हुनुपर्छ ।
आर्थिक सबलीकरण : पछिल्लो अध्ययनअनुसार पोखराको खेतीयोग्य जमिनमध्ये ३० प्रतिशत जमिन बाँझै छ । यहाँका प्रमुख उपार्जनका पेसामा व्यापार, उद्योग, पर्यटन र कृषि–पशुपालन नै हुन् । तीमध्ये कृषिका लागि माटोको सामथ्र्य पत्ता लगाई सोहीअनुरूप कृषि उत्पादनमा जोड दिने, कृषिलाई पर्यटनसँग जोड्ने, स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजार विस्तार गर्नेजस्ता ठोस कार्ययोजनामा महानगर प्रवेश गर्नुपर्छ । स्थानीय उत्पादनलाई विश्वबजारमा पु¥याउनु आर्थिक सबलीकरणको एउटा पाटो हो ।
पहिचान हुन नसकेका करका क्षेत्र पहिचान गर्ने, कर प्रणालीलाई चुस्त–दुरुस्त बनाएर आम्दानी वृद्धि गर्ने, समयमै कर भुक्तानी गर्नेलाई पुरस्कृत गर्ने, कर रकमको सदुपयोग गर्ने, हरेक घरको सहभागिता हुने गरी प्राधिकरण निर्माण गरी उत्पादन, उपभोग र वितरणमा आमजनताको सहभागिता र अपनत्व सुनिश्चित गर्ने मोडल अपनाउँदै समाजवाद स्थापनाको आधार तयार गर्ने दिशा महानगरले अवलम्बन गर्नुपर्छ । शारीरिक श्रमलाई ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्ने कार्यक्रमिक योजनातर्फ महानगर लम्किनुपर्छ ।
समाजवादी मोडल : संविधानले निर्धारित गरेको समाजवादको आधार तयार गर्ने लक्ष्यलाई पछ्याउने गरी हरेक स्थानीय तह कार्यक्रमिक तवरले अगाडि बढ्न जरुरी छ । यसका लागि पोखराले नयाँ मोडलको विकास गर्नुपर्छ । छरिएर रहेका जनतालाई पोखरा पूर्वाधार विकास निगम तथा सहकारी संस्थामा आबद्ध गराई बचत तथा लगानी गर्न अभिप्रेरित गरी उद्यमशील पुँजी संकलन गर्नुपर्छ । त्यसरी संकलित पुँजीको बलमा महानगर पब्लिक लिमिटेड कम्पनी तथा सहकारीको संयुक्त लगानीमा आर्थिक विकासका क्रियाकलाप सञ्चालन गर्ने नीति बन्नुपर्छ । ‘म बनाउँछु मेरो सहर’अन्तर्गत हरेक घर, प्रत्येक टोल, निजी र सहकारीको दरिलो साथ लिएर महानगर अगाडि बढ्दा यसबाट चौतर्फी सकारात्मक सन्देश प्रवाह हुन सक्छ ।
मुख्यतः स्थानीयस्तरमा उपलब्ध स्रोत–साधनको समुचित व्यवस्थापन र सदुपयोग गर्न तथा समुदायमा आधारित संघसंस्था, गैरसरकारी संघसंस्था, व्यापारिक प्रतिष्ठान, निजी तथा पब्लिक संस्थासहितको सहकार्यमा जोड दिँदै आमनगरवासीलाई पब्लिक लिमिटेड कम्पनीमा आबद्ध गराई उद्यमशील राष्ट्रिय पुँजी निर्माण गरेर वातावरण तथा संस्कृतिमैत्री लघु, मझौला तथा ठूला उद्योग, कलकारखाना तथा व्यापार व्यवसायमा जोड दिई समुन्नतिको यात्रा तय गर्नुपर्छ । त्यस यात्रामा हरेक घर र प्रत्येक नगरवासीको अपनत्व रहने गरी समाजवादी मोडेल अवलम्बन गर्नुपर्छ । अबका दिनमा पोखरा आफू मात्र विकसित र समृद्ध महानगर हुने होइन, यसले अन्य स्थानीय तहलाई पनि विकासको मोडल हस्तान्तरण गर्न सक्नुपर्छ ।
निष्कर्ष : शिक्षा, स्वास्थ्य र पर्यटनलाई पहिलो प्राथमिकतामा राखी आर्थिक सबलीकरणलाई केन्द्रित गरेर प्रविधिमैत्री महानगरको सपना सकार पार्न यसका तमाम सबलताको सदुपयोग गर्नु नै पोखराका मुख्य कार्यभार हुन् । विद्यमान संरचनालाई सबलीकरण गर्दै महानगरले प्रदान गर्ने सबै प्रकारका सेवा तथा कार्यक्रममा उच्च जवाफदेहितासहित सुशासन र समाजवादी मोडलको कार्यान्वय पोखराको समुन्नतिसँग अभिन्न रूपले जोडिने युगीन महत्वका सवाल हुन् । यसर्थ, पोखराको सामथ्र्य पहिल्याई यसको समुन्नति सुनिश्चित गर्न खुला दिमाग र सकारात्मक सोचाइसाथ बहसमा सामेल होऊँ । पोखरालाई राम्रो र समृद्ध पोखरा बनाउन सम्भव छ, हाम्रै जीवनमा ।