मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १ आइतबार
  • Thursday, 19 December, 2024
डा. भीमलाल गौतम
२o७७ चैत १ आइतबार ११:२४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बौद्धिक चोरी, अनुसन्धान र विश्वविद्यालय

Read Time : > 4 मिनेट
डा. भीमलाल गौतम
नयाँ पत्रिका
२o७७ चैत १ आइतबार ११:२४:oo

राजनीतिक पार्टी र प्राध्यापक संघको आशीर्वादले पदमा पुगेकाबाट ठगी नियन्त्रण हुन्छ भन्नु दूधको साक्षी बिरालो राख्नु हो

सामान्य भाषामा बौद्धिक चोरी कसैको विचार, अध्ययन वा अनुसन्धानलाई सम्बन्धित व्यक्ति वा संस्थाको अनुमति नलिई हुबहु सार्ने र प्रकाशित गर्ने काम हो । यसलाई पनि चार किसिमले हेर्ने गरिन्छ– हुबहु सार्ने, अरूले गरेको कामलाई आफूले गरेको भन्ने, वास्तविक कामलाई शब्दहरू मात्र फेरेर नक्कल गर्ने र कहिलेकाहीँ अन्जानमा हुने चोरी । सामान्यतः भूलवश भएका बौद्धिक चोरीमा सम्बन्धित पक्षले माफी मागेका र गल्ती स्वीकार गरेका धेरै उदाहरण भेटिन्छन् । विशेषगरी पश्चिमी देशमा बौद्धिक चोरीलाई ठूलो अपराधका रूपमा हेरिन्छ । विश्वव्यापीकरणको विकाससँगै नेपालमा पनि बौद्धिक चोरीबारे वेलावेलामा समाचार आउन थालेका छन् ।

नेपालको शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै अनुसन्धानलाई राष्ट्रिय नीति–निर्माणको महत्वपूर्ण पक्षका रूपमा हेरिन थालेको हो । खासगरी नेपालको शैक्षिक इतिहासमा ३० र ४० को दशकमा त्रिविले उत्पादन गरेको जनशक्तिले नै आजको नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपान्तरण र विकासको अगुवाइ गरिरहेको तथ्यलाई नकार्न सकिन्न । ०४६ को राजनीतिक परिवर्तनपछि मुलुक बहुदलीय प्रतिस्पर्धामा गयो । साथै विश्वभर पुँजीवाद र नवउदारवादले विकास गरेको नयाँ विधि र प्रविधितर्फ पनि मुलुक लम्कन थाल्यो । पहिले नेपालको उच्च शिक्षामा हुने अध्ययन, अनुसन्धानहरू मौलिक र नेपाली परिवेश सुहाउँदा हुन्थे । 

तिनले नेपाली समाजलाई सहयोगसमेत गर्थे । विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलाई सरकारी र निजामती सेवाका विभिन्न क्षेत्रमा विनाप्रतिस्पर्धा प्रवेश गराइन्थ्यो । त्यसले देश, समाज र कर्मचारीतन्त्रमा कमाउनेभन्दा पनि सेवा गर्ने परम्पराको विकास गराएको थियो । देशमा आएको राजनीतिक परिवर्तनसँगै शिक्षामा पनि निजीकरणको प्रभाव पर्‍यो, तर यसले प्रतिस्पर्धात्मक जनशक्ति तयार पार्नुको सट्टा विद्वता, अनुसन्धान र डिग्रीलाई पैसाको भरमा मूल्यांकन गर्ने परिपाटीको विकास गरायो । फलस्वरूप हाम्रा विश्वविद्यालयले आफूलाई क्रमशः अनुसन्धानबाट विमुख बनाउँदै गए । परिणामतः विगतमा संसारभर शिक्षा र अनुसन्धानको उत्कृष्ट नुमना बनेको त्रिवि आज विश्व वरीयतामा एक हजारभित्र पनि पर्न मुस्किल हुन थाल्यो । राजनीति र प्रतिस्पर्धाविहीन जनशक्तिले नेतृत्व गरेको नेपालको शिक्षा क्षेत्र क्रमशः ओरालो लाग्दै गयो, जुन क्रम आजपर्यन्त बढ्दो छ । 

बौद्धिक चोरीको विषय यदाकदा समाचार–पत्रमा आउने र बिस्तारै हराउँदै जाने गर्छ । यसको उदाहरण हो– बौद्धिक चोरीको आरोप लागेका तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाएर सम्मान गरियो । त्यसैगरी विश्वविद्यालय अनुदान आयोगले बौद्धिक चोरी गरेकै कारण कालोसूचीमा परेका प्राध्यापकलाई त्रिवि सेवा आयोगको सदस्य बनाएर खराब आचरणलाई प्रोत्साहन गर्ने काम गरियो । यी त केही दृष्टान्त हुन् । यसबाहेक नेपालका विभिन्न विश्वविद्यालयमा गन्यमान्य ठहरिएका वरिष्ठ प्राध्यापक, विभागीय प्रमुख तथा अन्य धेरै प्रशासनिक र राजनीतिक पहुँचवालाले बौद्धिक चोरी गरेका कैयौँ उदाहरण छन्, जुन मिडियामा बिरलै आउँछन् ।

जबसम्म हाम्रो आचरणमा सुधार गरिँदैन र बौद्धिक क्षेत्रमा सामान्य नैतिकताको पनि ख्याल गरिन्न, तबसम्म जति नै शक्तिशाली सफ्टवेयर राखे पनि हाम्रो अनुसन्धान तथा प्रकाशनले सही दिशा लिन सक्दैन । ठगको बाहुल्य भएको समाजमा निर्दोष र सक्षमहरू निरीह भएर बस्नुपर्ने परिस्थितिको सिर्जना हुन्छ नै ।

एउटा संस्थाबाट गरिएको अनुसन्धान प्रतिवेदनलाई अर्को संस्थामा पेस गर्‍यो, अनुसन्धान वृत्ति लियो अनि फेरि उही प्रकृतिको अर्कोे संस्थामा गई पुस्तक तथा लेख प्रकाशित गर्ने परम्परा आजको दिनमा पनि छ । यसै प्रवृत्तिलाई विश्वविद्यालय र त्यसका निकायले सम्मान गर्ने परम्परा छ । बौद्धिक चोरीको अर्को महत्वपूर्ण नमुना झन् रमाइलो छ । इन्टरनेट र विकिपेडियामा खोज्यो अनि त्यसलाई नेपालीमा हुबहु अनुवाद गर्‍यो । पत्रपत्रिकामा छाप्यो अनि विज्ञका रूपमा कहलियो । इन्टरनेटको पहुँच बाक्लो नहुँदासम्म यस्ता विद्वान् नेपाली सञ्चारमाध्यममा खुब देखिन्थे । खुसीको कुरा यो क्रम अहिले धेरै हदसम्म रोकिएको छ ।

नेपालमा बौद्धिक चोरीको सबैभन्दा ठूलो नमुना भनेको विभिन्न परियोजनाबाट सामूहिक अनुसन्धान गर्‍यो, प्रतिवेदन तयार पार्‍यो र सम्बन्धित निकायमा बुझायो । अनि त्यसको केही समयपछि कसैले त्यो प्रतिवेदनलाई पुस्तक वा लेखको रूपमा प्रकाशित गर्‍यो । प्रतिवेदनमा अनुसन्धान गर्ने, लेख्ने व्यक्तिलाई धन्यवादका दुई शब्द प्रयोग गर्‍यो र आफू महान् लेखक बन्यो । यो खेल नेपालको बौद्धिक क्षेत्र र उच्च शिक्षामा व्यापक छ । जबसम्म यो खराब प्रवृत्तिको अन्त हुँदैन, तबसम्म यस्ता चोरीका समाचार आइरहन्छन् र उच्च ओहदामा बसेका प्रा.डा.हरूले चोरी गरि नै रहन्छन् । जसरी नेपाली राजनीतिमा नेतृत्वपंक्तिले आफ्नो स्वार्थपूर्ति गर्न दोस्रो र तेस्रो पुस्तालाई बिगारेको छ, ठ्याक्कै त्यसैगरी विश्वविद्यालयको नेतृत्वले पनि त्यस्तै खेल खेलिरहेको छ । 

केही समयदेखि नेपालमा पनि बौद्धिक चोरी पत्ता लगाउने सफ्टवेयर प्रयोग गर्ने र यसको समाधान गर्ने विषयमा चर्चा चलिरहेको देखिन्छ । विगत केही वर्षदेखि त्रिविका प्राध्यापकलाई अनुसन्धान र लेखन प्रक्रियामा नेतृत्व र सहजीकरण गरिरहेका डा. श्याम शर्माले भने झैँ यो सफ्टवेयरले इन्टरनेटमा पाइने र उपलब्ध विषयवस्तुको चोरीबारे त थाहा पाउला, तर काठमाडौंको बागबजार, पुतलीसडक र कीर्तिपुरस्थित पुस्तक पसल, फोटोकपी सेन्टरमा उत्पादन हुने थेसिसको मूल्यांकन यो सफ्टवेयरले गर्न सक्दैन । अर्को महत्वपूर्ण विषय विश्वविद्यालयमा सेवा आयोगको विज्ञापन खुलेपछि बागबजार र देशमा विभिन्न ठाउँमा रातारात तयार हुने विज्ञद्वारा समीक्षा गरिएका जर्नलहरूबारे यो सफ्टवेयरले कसरी थाहा पाउला ? 

अझ रमाइलो कुरा के छ भने आजभोलि नेपालको हरेक शैक्षिक क्षेत्रमा विज्ञ समीक्षित जर्नल प्रकाशित गर्ने, आइएसएसएन नम्बर लिने र ‘ओपन एक्सेस’ लेख्ने होड नै चलेको छ । एक हप्ताअघि अंग्रेजी साहित्यका विद्यावारिधि प्राप्त मित्रसँग भलाकुसारी गर्ने मौका मिल्यो । कुराकानीका क्रममा उहाँले कोरोनाकालभरि ११ वटा जर्नल लेखहरू नेपाल, भारत र अन्य बाहिरी मुलुकबाट प्रकाशित गरेको सुनाउनुभयो । मैले अचम्म मानेर सोधेँ, ‘यति धेरै अनुसन्धानमूलक लेख कसरी लेख्नुभयो ? मैले त दुई वर्षअघि पेस गरेको एउटा अनुसन्धानमूलक लेख बल्ल तेस्रोपटकको रिभ्युमा छ ।’ उहाँले उत्तर दिनुभयो, ‘यो एक वर्ष पढाउन परेन अनि लेखेको लेख्यै गरेँ र यो काम गाह्रो पनि छैन ।’ म उनको कुरा सुनेरै अवाक् भएँ । यसबाट के बुझिन्छ भने नेपालमा बौद्धिक चोरी, ठगी धेरै सजिलो विषय हो । जसले गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो यहाँ नबसे हुन्छ । 

यसको ज्वलन्त उदाहरणका रूपमा त्रिवि सेवा आयोगले भर्खर निकालेको विज्ञापनलाई हेर्न सकिन्छ । विश्वविद्यालयका धेरै विभाग र निकायमा समन्वय नै नगरी वास्तविक जनशक्तिलाई निरुत्साहित गर्ने गरी खुला विज्ञापन गर्नुपर्नेमा आन्तरिक खोल्ने र आन्तरिक मात्र भए हुने ठाउँमा खुला विज्ञापन गरेर सह–प्राध्यापक र प्राध्यापकको बढुवा गर्ने प्रपञ्च रचिएको छ । यसले वास्तविक विद्वान् र अनुसन्धानकर्ता पलायन हुने र तिनै रातारात जर्नल तथा लेख उत्पादन गर्ने विद्वान्को बोलवाला फेरि पनि उच्चशिक्षा र अनुसन्धान केन्द्रमा हुने विषयमा शंका छैन ।

जबसम्म हाम्रो आचरणमा सुधार गरिँदैन र बौद्धिक क्षेत्रमा सामान्य नैतिकताको पनि ख्याल गरिन्न, तबसम्म जति नै शक्तिशाली सफ्टवेयर राखे पनि हाम्रो अनुसन्धान तथा प्रकाशनले सही दिशा लिन सक्दैन । ठगको बाहुल्य भएको समाजमा निर्दोष र सक्षम निरीह भएर बस्नुपर्ने परिस्थितिको सिर्जना हुन्छ नै । त्यसैगरी, जबसम्म हाम्रा विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा आयोगमा भइरहेका अनुसन्धानको लेखाजोखा र मूल्यांकन गर्ने प्रक्रियाको सुरुवात हुँदैन, त्यतिन्जेलसम्म बौद्धिक ठगी रोक्ने जतिसुकै उपाय अपनाए पनि यसमा सुधार हुँदैन । सबैभन्दा महत्वपूर्ण विषय भनेको विश्वविद्यालयभित्रका अनुसन्धान केन्द्रमा अनुसन्धान विधि र प्रक्रिया बुझेका व्यक्ति हुनुपर्छ । राजनीतिक पार्टी र प्राध्यापक संघको आशीर्वादले पदमा पुगेकाबाट ठगी नियन्त्रण हुन्छ भन्नु दूधको साक्षी बिरालो राख्नु मात्र हो । आशा गरौँ, आगामी दिनमा नेपालका विश्वविद्यालयले खराबभन्दा असल संस्कृतिको सुरुवात गर्नेछन् र नेपालमै बसेर पनि अध्ययन, अनुसन्धानमा लागि रहने हामी जस्ता भुइँमान्छेको पनि सही मूल्यांकन गर्नेछन् । 

(लेखक भाषा विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन्)