उमागौरी सहकारी ठगी प्रकरणमा संलग्नलाई निष्पक्ष कारबाही गराउन संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषि पोखरेलले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले माग गरेको छ।
बिहीबार माओवादी केन्द्र कोशी प्रदेश समितिले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेको हो।
माओवादी केन्द्र संसदीय दल, कोशीका नेता इन्द्रबहादुर आङ्बोले मोरङको कर्सिया बजारमा रहेको उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको र अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको, तर सभापति पोखरेलकै कारण प्रहरीले अञ्जलासहितका व्यक्तिहरूलाई जोगाइरहेको बताए।
नेता आङ्बोले भने, ‘सहकारी ठगी कसुर मुद्दामा सांसद पोखरेल पत्नी अञ्जलासहित २५ जना फरार छन्। मुद्दा पनि सबैलाई फरार प्रतिवादी बनाएर दर्ता गराएको छ, तर अहिलेसम्म प्रहरीले उनलाई कुनै सोधपुछसमेत गरेको छैन।’ सत्ताधारी पार्टीका शक्तिशाली सांसद जोडिएकै कारण सहकारी ठगीमा जोडिएका व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई सकस भैरहेको माओवादी केन्द्रले जनाएको छ।
मुद्दा दर्ता भएको दिन २७ मंसिरसम्म विद्यालयको गतिविधिमा खुला रूपमा संलग्न रहेकी प्रतिवादी अञ्जला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले पढाउँदै आएको महेन्द्र रात्रि विद्यालय विराटनगरमा पाँच दिनको बिदा लेखेर बुधबारदेखि फरार भएकी छिन्।
उमागौरी सहकारी ठगीमा प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन। एकजना सञ्चालक समिति सदस्य धनपालथान– ४ का ३५ वर्षीय रोशन राजवंशी आफूलाई पीडित बताउँदै आफैँ प्रहरीमा हाजिर भएकाले उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।
कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले १० कात्तिकमा सांसद पत्नी अञ्जलाको नाम काटेर वर्तमान कार्यसमितिका १० जनालाई मात्र कारबाही माग गर्दै प्रहरीमा पत्राचार गरेपछि रंगेली प्रहरीले अध्यक्ष शम्भु रौनियारसहित १० जनालाई अदालतबाट पक्राउ पुर्जी लिएको थियो। तर, प्रहरीले कसैलाई पक्राउ भने गरेन।
सरकारी वकिलको कार्यालय मोरङले उमागौरी कृषि सहकारीविरुद्ध सांसद पत्नी अञ्जला र अध्यक्ष शम्भुप्रसाद रौनियारसहित वर्तमान र पूर्वसञ्चालक समिति सदस्यहरूलाई कुल २२ करोड ४८ लाखको बिगो कायम गराउँदै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ। सहकारी ठगीमा आफ्नो र परिवारको संलग्नता नरहेको दाबी यसअघि सभापति पोखरेलले गर्दै आएका थिए। उनले आफ्नो र परिवारको सहकारी ठगीमा संलग्नता देखिएमा झुन्डिन तयार रहेको अभिव्यक्ति दिएका थिए।
तर, उनकी श्रीमती सञ्चालक रहेको समयमा सहकारीमा अनियमितता भएको छानबिनबाट पुष्टि भइसकेकाले नैतिकताका आधारमा अब सांसद पोखरेलले सभापति पदबाट राजीनामा दिनुपर्ने माओवादीको माग छ। नेता आङ्बोले सरकारलाई वित्तीय अनुशासनमा राख्ने निकायको प्रमुखकै श्रीमती सहकारी ठगीमा जोडिएको विषय गम्भीर रहेको भन्दै सहकारी ठगीको निष्पक्ष अनुसन्धानका लागि लेखा सभापति पोखरेलले पदबाट राजीनामा दिनुपर्ने बताए।