मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ पौष ४ बिहीबार १९:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

पोखरामा फेवा संवाद अन्तर्राष्ट्रिय सम्मेलन सुरु

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित १० देशका एक सयभन्दा बढी सहभागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १९:११:oo

पोखरामा फेवा संवाद २०२४ अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूको सहकार्यलाई प्रगाढ बनाउने, अन्तर आबद्धतालाई अवसरमा रूपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार सम्मेलन सुरु भएको हो। 

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा आयोजित सम्मेलन शुक्रबारसम्म चल्नेछ। पहिलोपटक आयोजना भएको सम्मेलनमा चीनका ३०, नेपालका २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३-३ जनासँगै भुटान, मलेसिया, सिंगापुर, इन्डोनेसियालगायतका देशबाट आएका विषयविज्ञ, अर्थशास्त्री, थिंक ट्यांक, राजनीतिज्ञहरू सहभागी छन्।

सहभागीहरूले आ–आफनो विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यमा केन्द्रित हुने त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा खड्क केसीले जानकारी दिए । केसीका अनुसार सम्मेलनमा विश्वव्यापी औद्योगिक स्थानान्तरणअन्तर्गत दक्षिण एसियाका विकल्पहरूका बारेमा समेत बहस एवं छलफल हुनेछ । 

सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । सम्मेलनमा शिक्षामन्त्री विद्या भट्टराई अधिकारी, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा केशरजंग बराल, सिचुवान विश्वविद्यालयका उपकुलपति प्राडा यो लिई, पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्वमन्त्रीहरू डा.युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा. प्रकाशशरण महतलगायतका राजनीतिज्ञहरू, मलेसियाका पूर्वयातायात मन्त्री अनजी टी केटा, चीनियाँ राजदुत छन् सोङ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा.दीपेन्द्रबहादुर क्षेत्री, प्राडा गोविन्दराज पोखरेल, डा. विश्व पौडेल, पूर्वराजदुतहरू, विश्वविद्यालयका प्राध्यापकहरूको सहभागीता रहनेछ ।

उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले नेपाल लामो समय संवैधानिक विकास, लोकतान्त्रिक अभ्यास र मानवअधिकार प्राप्तिको अभियानमा संलग्न हुनुपरेका कारण जनआकांक्षा अनुरुप आर्थिक–सामाजिक विकासका लक्ष्य पूरा गर्न नसकेको बताइन् । देशमा भएको राजनीतिक परिवर्तनपश्चात भने अब मुलुक आर्थिक–सामाजिक विकासतर्फ अग्रसर हुने परिस्थिति निर्माण भएको उनको भनाइ छ ।

अर्थतन्त्रको आधार र आकार सानो, साँघुरो र कमजोर भएकाले वाह्य एवं स्वदेशी लगानी प्रवाहलाई पूर्वाधार विकास र सेवाका क्षेत्रमा परिचालन गर्नु पर्ने, आन्तरिक उत्पादनको श्रृखला बढाई त्यसबाट उठ्ने राजस्व, स्वदेशी उद्योगको स्थापनाले दिने रोजगारी र आन्तरिक माग पूरा गरी गरिने निर्यात तथा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको व्यवसायीकरणले नै दिगो विकासको सपनालाई साकार बनाउने भण्डारीले बताइन् ।

यस्तै, विश्वव्यापी तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएका नकारात्मक प्रभावलाई न्यूनीकरण र जलवायु अनुकूलनका लागि विभिन्न तहमा तर्जुमा भएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनु जरुरी रहेको उनको भनाइ छ । भण्डारीले जलवायु परिवर्तनका लागि कारक तत्वको रुपमा रहेको हरितगृह ग्याँस उत्सर्जनमा योगदान नगर्ने नेपालसहित अन्य पर्वतीय तथा टापु राष्ट्रहरूले यसको सबैभन्दा नराम्रो असर भोगिरहेको स्मरण गराइन् ।