मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ पौष ४ बिहीबार १७:२५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अंग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १७:२५:oo

उद्योग व्यापार संगठन रुपन्देहीले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा रुपन्देहीको भैरहवामा स्ट्रिट फुड फेस्ट–२०२५ (सडक खाना महोत्सव) गर्ने भएको छ। महोत्सवमा नेवारी, थारू, गुरुङ, मधेशी समुदायका जातीय खानादेखि चारतारे होटेलसम्मका विदेशी खानाका परिकार रहने संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिए। यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए।

नयाँ वर्षको पूर्वसन्ध्यामा पुस १६ गते मंगलबार (डिसेम्बर ३१) मा महोत्सव राति ७ देखि १२ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा करिब डेढ करोडबराबरको कारोबार हुने आयोजकले अनुमान गरेका छन्। 

महोत्सवमा ५० वटा स्टल रहने र यसपटकको महोत्सवमा ३५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको संगठनका पूर्वअध्यक्ष नारायण भण्डारीले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुने आशा जागेको सन्देश महोत्वमार्फत जाने उनको भनाइ छ।  महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने उनले जानकारी दिए।

आन्तरिक र भारतीय पर्यटकलाई केन्द्रित गरेर महोत्सव आयोजना गर्न लागिएको संगठनका निवर्तमान अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए। ‘महोत्सव सञ्चालन अवधिसम्म भारतीय पर्यटकको सहज रूपमा आवतजावतमा समस्या नहोस् भन्नका लागि सरकारी निकायसँग समन्वय गर्दै छौँ, सुरक्षा र पार्किङको उचित प्रबन्ध गर्नेछाैँ,’ ज्ञवालीले बताए। 

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले पर्यटन प्रवर्द्धन र आर्थिक चलायमानका लागि नयाँ नयाँ कार्यक्रम गर्दै जानुपर्नेमा जोड दिए। सिद्धार्थनगर नगरपालिका र युनिक साउन्डको सह–आयोजनामा हुने महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश र प्रवर्द्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश रहेको संगठनका महासचिव लक्ष्मी अधिकारीले बताइन्। 

त्यस्तै, सहयोगी संस्थामा नाट्टा लुम्बिनी प्रदेश, सिद्धार्थ होटेल संघ, सिद्धार्थ सञ्जाल, रुपन्देही, इभेन्ट म्यानेजमेन्ट संघ, रुपन्देही, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देही, आस्था महिला उद्यमी संघ र मदिरा व्यवसायी संघ भैरहवा रहेको संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले जानकारी दिए।