१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ८ शनिबार
  • Saturday, 21 September, 2024
२o७७ फाल्गुण ८ शनिबार २१:११:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

गुटको छायाले संकटमा नेविसंघ : विद्यार्थी नेता भन्छन्– बरु संगठन नै खारेज गरौँ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण ८ शनिबार २१:११:oo

नेपाल विद्यार्थी संघका नेताहरूले विद्यार्थी राजनीतिमा पार्टीका गुटको प्रत्यक्ष छाया पर्दा विद्यार्थी राजनीति नै संकटमा परेको गुनासो गरेका छन् । पढाइ पूरा गरे पनि पार्टी र संगठनमा माथिल्लो जिम्मेवारी नपाउँदा विद्यार्थी राजनीतिमा अल्झिरहेका नेताहरूले संगठनभित्रको लोकतन्त्रमाथि पार्टीका नेताहरूको गुटको कब्जा रहेको बताएका हुन् । 

कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले ७१औँ प्रजातन्त्र दिवसका सन्दर्भमा शुक्रबार युवा र विद्यार्थीसँग अन्तर्क्रिया गरेका थिए । ‘वर्तमान संकट र कांग्रेसको युवा आवाज’ विषयक कार्यक्रममा बोल्ने युवा विद्यार्थी नेताले वर्तमान संकटको समाधानमा भन्दा पार्टी र भ्रातृ संस्थाभित्रको अलोकतान्त्रिक अभ्यास र नेतृत्वप्रतिको गुनासो पोखे । 

केन्द्रीय सदस्य जोशीले पार्टीमा युवा पुस्ताको सहभागिता बढाउन आवश्यक रहेको बताए । ‘युवा नेतृत्वको भावनालाई समेट्ने ध्येयले निरन्तर युवा नेतृत्वसँग छलफलमा छु, युवाहरूसँग जोस–जाँगर र इच्छाशक्ति मात्रै होइन, नेतृत्वसँग गुनासो पनि छ, पार्टीले त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था छ,’ जोशीले भने, ‘युवा साथीहरूको चाहना, भावना र विचारहरूको संकलन गर्ने काम गरिरहेको छु ।’


जोशीले शुक्रबार नेपाल विद्यार्थी संघको राजनीतिमा रहेका युवा नेताहरूसँग छलफल गरेका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य रघु कार्कीले पार्टीमा युवाले विद्रोह गर्न नसकेको बताए । ‘अहिले राजनीति घरै बसेर हुन्छ, विद्यार्थी नेता कलेज जाँदैनन् । किसान नेता किसानका समस्या बुझ्दैनन् । शिक्षकका नेता विद्यालय जाँदैनन् । र, पार्टीका नेता जनताका माझमा जाँदैनन् । जनताका समस्या बुझ्दैनन्,’ कार्कीले भने, ‘यस्तो प्रवृत्तिले पार्टीभित्र र सिंगो देशमा युवाको भविष्य संकटमा परेको छ । युवाले विद्रोह गर्न सक्नुपर्छ ।’


उनले पार्टीभित्रको विकृति र विसंगतिको अन्त्य गर्न युवा एकजुट भएर विद्रोहका लागि तयार हुनुपर्ने धारणा राखे । ‘पार्टी र संगठनका सभापतिकै आफ्नै गुनासा छन् । समस्याको पहाड छन् । अनि जनताको समस्या कसले सुनिदिने ?’ उनले भने, ‘अब हामी युवा विकल्प कुरेर बस्ने कि आफैँ विकल्प बन्ने ? फैसला लिने वेला भएको छ ।’ उनले नेपाल विद्यार्थी संघमा पार्टीका नेताहरूको सीधा हस्तक्षेपले कलेजैपिच्छे समानान्तर समिति खडा भएका र संगठन पेन्डुलम बनेको आरोप लगाए । 


नेपाल ल क्याम्पसकी नेतृ रञ्जिता कार्कीले गुटले जकडिएको नेविसंघ हुनुभन्दा खारेज गर्नु उपयुक्त हुने बताइन् । ‘नेविसंघमा गुटबन्दी धेरै भयो । समयमा अधिवेशन नगर्ने, संगठनभित्रको लोकतन्त्रलाई मार्ने र गुटको राजनीति गर्ने चलन हाबी भएको छ,’ उनले भनिन्, ‘क्याम्पस समितिमा पढाइ सकेको वर्षौँसम्म बसेर काम गरिरहेका छौँ, पालो पर्खिँदा–पर्खिँदा विद्यार्थी नै रह्यौँ कि युवा ? आफैँलाई केही पत्तो छैन ।’ 

उनले नेविसंघलाई व्यक्तिको पावर देखाउनेभन्दा पनि संगठन र पार्टीको पावर देखाउने संस्था बनाउनुपर्ने बताइन् । ‘एउटै क्याम्पसमा नेतैपिच्छेका छुट्टाछुट्टै नेविसंघ छन् । नेविसंघलाई गुन्डागर्दी गर्ने ठाउँ बनाइयो, नेविसंघले नेविसंघ कुट्ने, अनुहार देख्न नहुने, बोलचाल नहुने ? यो कस्तो नेविसंघ ? बरु नेविसंघ नै खारेज गरौँ,’ नेतृ कार्कीले भनिन् । 

पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगरले नेविसंघमा ठेकेदारहरू हाबी भएको बताइन् । ‘नेविसंघमा अब विद्यार्थी होइन, ठेकेदार हाबी भएका छन्, नेविसंघलाई विद्यार्थीको समस्या बुझ्ने, विद्यार्थीको समस्या सुल्झाउने संगठन हामीले बनाउने हो,’ उनले भनिन् । 

नेविसंघका कर्णाली प्रदेश समितिका पूर्वअध्यक्ष धर्मराज शाहीले पार्टीमा कामले भन्दा गुटको राजनीति गर्नेले धेरै अवसर पाएको गुनासो गरे । अर्का विद्यार्थी नेता दीपक पाण्डेले पार्टीमा युवा नेतृत्व भूमिकाविहीन भएको गुनासो गरे । ‘पार्टीमा युवा नेतृत्व नेताको पछि लागेर मात्रै भएन, भूमिकामा हुनुप¥यो । कम्तीमा प्रश्न गर्ने हिम्मत राख्नुप¥यो,’ उनले भने, ‘हामीले प्रश्न गर्न छाड्यौँ भने नेतृत्व अनुत्तरदायी बन्नेछ ।’ 

पार्टीको गुटअनुसार नेविसंघ गठन हुँदा काठमाडौं उपत्यकाका नेपाल ल क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पसमा दुई–दुईवटा नेविसंघ छन् । त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालय क्याम्पसमा पनि नेतैपिच्छे नेविसंघको जिम्मेवारी पाएका छन् । एउटै कलेजमा समानान्तर नेविसंघ बन्दासमेत नेविसंघ केन्द्रले मिलाउन कोसिससमेत नगरेको विद्यार्थी नेताहरू गुनासो गर्छन् । ‘काठमाडौं उपत्यकाका अधिकांश कलेजको अवस्था उस्तै छ, अझ कतिपयमा त चारवटासम्म नेविसंघ गठन भएका छन्, यो संगठनभित्रको लोकतन्त्र मासिएका कारण यस्तो अवस्था सिर्जना भएको हो,’ नेविसंघका एक केन्द्रीय सदस्यले भने । 

महाधिवेशन नहुँदा कांग्रेसको नर्सरी मानिएको नेविसंघ दुई वर्षदेखि प्रभावकारी भूमिकामा छैन । करिब एक वर्ष खाली रहेको नेविसंघमा देउवाले आफूनिकट राजीव ढुंगानालाई सभापति बनाएको पनि एक वर्ष बितिसकेको छ । तर, नेताहरूको भागबन्डा नमिल्दा महाधिवेशनको तयारी होइन, तदर्थ समितिले पूर्णतासमेत पाएको छैन । एक सय २७ सदस्यीय केन्द्रीय तदर्थ समिति बनाउने भनिए पनि एक वर्ष बितिसक्दा पनि समिति दश सदस्यीय मात्रै छ । 

वर्तमान नेविसंघको केन्द्रीय समितिमा तुलसा पन्त र मुक्तिराज पौडेल उपसभापति छन् । मनोज वैद्य, महेश्वरी कुँवर, दीपक भट्टराई, उर्मिला थपलिया, प्रभातकुमार दाहाल, बलदेव तिमिल्सिना र युवराज पाण्डे महामन्त्री मनोनीत भएका छन् । तर, नवगठित केन्द्रीय समितिले पनि महाधिवेशनको प्रक्रिया थालेको छैन । 

‘पुरानो संगठनमा भएको अराजकतालाई अन्त्य गर्न नयाँ केन्द्रीय समिति आएको हो, हामी काठमाडौंका सबै कलेजमा अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियाको तयारीमा छौँ,’ महामन्त्री दीपक भट्टराईले भने, ‘कोभिडका कारण काम गर्न सकिएको छैन । अब सामान्य हुँदै छ, हामी काम थाल्दै छौँ ।’

केन्द्रीय समितिलाई पूर्णता दिएपछि १४औँ महाधिवेशनको औपचारिक रूपमै प्रक्रिया अघि बढाउने उनी बताउँछन् । ‘पहिलेको समितिले १८ जिल्लाको मात्रै अधिवेशन गराएको छ, बाँकी जिल्लाको अधिवेशन गराएर केन्द्रीय अधिवेशन गर्नुपर्ने र नेतृत्व हस्तान्तरण गर्नुपर्ने वर्तमान केन्द्रीय समितिको जिम्मेवारी हो,’ महामन्त्री भट्टराई भन्छन्, ‘केन्द्रीय समितिको पूर्णताका लागि हामीले पार्टीको नेतृत्वलाई अनुरोध गरिरहेका छौँ । यति सानो संख्याले नेविसंघ सञ्चालन गर्न सम्भव छैन । केन्द्रीय समितिले पूर्णता पाएपछि हामी विधिवत् रूपमै महाधिवेशनको प्रक्रिया अघि बढाउँछौँ ।’

ढुंगानाले १६ माघ ०७६ देखि नेविसंघको नेतृत्व पाएका हुन् । पुस ०७५ मा तोकिएको १४औँ महाधिवेशन गर्न नसकेपछि नेविसंघको केन्द्रीय समिति नै भंग भएको थियो । महाधिवेशन गर्न नसकेपछि तत्कालीन अध्यक्ष नैनसिंह महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए ।