
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले बुटवलमा काठमाडौंपछिको ठूलो प्रदर्शन गरेको हो ।
प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका शीर्ष नेता सहभागी थिए । प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले निरंकुशताविरुद्ध विगतमा पनि बुटवल आन्दोलनको केन्द्र रहँदै आएको भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध बुटवलको प्रदर्शनले महत्वपूर्ण सन्देश दिएको बताए ।
प्रतिगमनलाई पछार्न सकिन्छ : नेपाल
विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले आन्दोलनले जनताका हक–अधिकार स्थापित गर्दै संविधानको रक्षा गर्ने र प्रतिगमनलाई पछार्ने उद्घोष गरे । आफूहरूले नेतृत्व गरेको पार्टी नै मूल पार्टी भएको भन्दै उनले भ्रम त्यागेर पार्टीमा गोलबद्ध हुन ओली समूहमा लागेका नेता–कार्यकर्तालाई आह्वान पनि गरे ।
केपी ओलीले कहिल्यै न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको र जनपक्षीय काम गर्ने बानी पनि नरहेको उनको भनाइ थियो । ‘केपी ओलीले जनताको भावना, चाहना, समयको गति बुझ्न सक्नुभएको छैन,’ उनले भने, ‘हुन त उहाँले कहिल्यै न्यायपूर्ण आन्दोलनको नेतृत्व गर्नुभएको छैन, लत्रिँदै, लत्रिँदै आउनुभएको छ ।’ ओलीमा आफ्नै पार्टीका शीर्ष नेताको समेत खुट्टा तान्ने बानी रहेको उनको भनाइ थियो ।
श्री ३ बन्ने सपना चुट्कीका भरमा ध्वस्त हुन्छ : प्रचण्ड
अर्का अध्यक्ष प्रचण्डले केपी ओलीले श्री ३ बन्ने सपना देखेको भन्दै उनका सपना चुट्कीका भरमा ध्वस्त हुने बताए । शान्तिको भूमि, गणतन्त्रान्त्रिक भूमि लुम्बिनीले तानाशाही बन्न खोज्नेलाई सधैँ परास्त गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले ओली प्रवृत्ति चाँडै अन्त्य हुने दाबी गरे । अहिलेको लडाइँ व्यक्तिका विरुद्धमा नभई गलत विचार र गलत पद्धतिका विरुद्धमा भएको उनले बताए ।
आन्दोलनका लागि अपिल गर्न आफूहरू बुटवल आएको भन्दै प्रचण्डले भने, ‘गलत विचार र मान्यताका विरुद्ध न्याय र स्वतन्त्रताका पक्षमा आन्दोलित हुन अपिल गर्न हामी यहाँ आएका हौँ ।’ केही महिनाभित्रै ओलीको स्वेच्छाचारिता परास्त हुने उनको भनाइ थियो ।
नेकपाको लुम्बिनी प्रदेश कमिटी इन्चार्ज युवराज ज्ञवालीले चुनौतीहरूको सामना गर्न एकताबद्ध भएर दृढतापूर्वक अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । उनले शोषित–पीडित वर्गको पार्टी निर्माणमा जुट्न पनि आग्रह गरे ।
स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओलीको गलत बाटोका विरुद्धमा आफूहरू खडा भएको बताए । ‘सत्यनाशको बाटो, अस्थिरता, अशान्ति र बर्बादीको बाटोमा ओली अघि बढिरहनुभएको छ,’ उनले भने, ‘हामीहरू संविधानको रक्षा, स्वतन्त्रताको रक्षा, शान्ति र स्थिरतातर्फको यात्रामा हिँडेका छौँ । स्थायी समितिका अर्का सदस्य वर्षमान पुनले जनयुद्धको ओलीले अपमान गर्न खोजेको बताए ।
प्रचण्ड र माधवले नेतृत्व गरेको पार्टी नै मूल पार्टी भएको भन्दै उनले जनतामा आधारित पार्टी निर्माणमा ध्यान दिने धारणा राखे । सभालाई नेताहरू चक्रपाणि खनाल बलदेव, ओनसरी घर्ती, ठाकुर गैरे, वामदेव क्षेत्री, जगप्रसाद शर्मालगायतले सम्बोधन गरेका थिए ।