मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २६ आइतबार ११:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ उद्योग वाणिज्य संघको निर्वाचन : झडपपछि मतगणना स्थगित, प्रहरी निरीक्षकसहित पाँचजना घाइते

Read Time : > 1 मिनेट
२०७७ पौष २६ आइतबार ११:४६:००

शनिबार सम्पन्न लमजुङ उद्योग वाणिज्य संघको मतगणनाकाे तयारी भइरहेका वेला दुई पक्षबीच झडप भएकाे छ ।प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीच भएकाे झडपमा प्रहरी निरीक्षकसहित पाँचजना घाइते भएका छन् । झडपपछि मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । 

प्रहरीका अनुसार मतगणनाको तयारी भइरहेको वेलामा मतगणनास्थल जिल्ला समन्वय समितिको गेटबाहिर व्यवसायीहरूको प्रगतिशील समूहका सुरेश श्रेष्ठ र लोकतान्त्रिक समूहका शंकर न्यौपानेबीच राति साढे १० बजे  विवाद हुँदा श्रेष्ठले न्यौपानेमाथि हेल्मेट  प्रहार गरेका थिए ।  

मतगणनास्थल गेटभित्रबाट बाहिरसम्म झडप भएपछि छुट्याउने क्रममा युवाले प्रहार गरेको  ढुंगा  लागेर  प्रहरी निरीक्षक ओमप्रकाश पुन र हवल्दार प्रेमबहादुर थापा घाइते भएका छन् । उनीहरू जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार लोकतान्त्रिक समूह समर्थित बेंसीसहर नगरपालिका– ८ का शंकर न्यौपाने, बेंसीसहर नगरपालिका– ३ का विष्णु पौडेल र बेंसीसहर नगरपालिका– २ का कृष्ण  भुजेल घाइते भएका छन् । 

उनीहरूलाई प्रगतिशील समूहसमर्थित युवाले आक्रमण गरेको लोकतान्त्रिक समूहले आरोप लगाएको छ । न्यौपानेको नाकमा चोट लागेको र जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विष्णु र कृष्ण  सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रहरीले न्यौपानेलाई हेल्मेटले हिर्काएको आरोपमा प्रगतिशीलसमर्थित बेंसीसहर नगरपालिका– ७ का सुरेश श्रेष्ठ र प्रहरीलाई ढुंगाले हिर्काएको आरोपमा सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले लाठीचार्ज गर्न थालेपछि युवाले प्रतिकार गर्दा प्रहरीलाई ढुंगा लागेको हुन सक्ने युवाहरूले बताएका छन् । प्रहरीको लाठीचार्जबाट केही युवा सामान्य घाइते भएका छन् । प्रनाउ थापाले लाठीचार्ज नगरेको, तर सिठी फुकेर भिडलाई तितरवितर बनाएको बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बैठक बसेर घटना र मतगणनाको विषयमा छलफल गरिने बताए ।     

व्यवसायीहरूको प्रगतिशील समूहका सुरेश श्रेष्ठ र लोकतान्त्रिक समूहका शंकर न्यौपानेबीच विवाद हुँदा श्रेष्ठले न्यौपानेमाथि हेल्मेट प्रहार गरेपछि झडप सुरु भएको प्रहरीको भनाइ छ । प्रगतिशील समूहसमर्थित युवाले आक्रमण गरेको आरोप लोकतान्त्रिक समूहले लगाएको छ ।