
लामो समयदेखि निमोनियाबाट पीडित वामपन्थी नेता स्वनाम साथीको ७० वर्षको उमेरमा शुक्रबार राति ९ बजे निधन भएको छ । डेढ महिनाअघि उनलाई कोभिड संक्रमण देखिएपछि पाटन अस्पतालमा आइसियूमा राखी उपचार भएको थियो । दुई साताअघि कोरोना नेगेटिभ देखिएपछि काठमाडौंको मोडल अस्पतालमा स्थानान्तर गरी उपचार भइरहेको थियो ।
म्याग्दी अर्मनमा १७ साउन २००७ मा जन्मिएका उनको वास्तविक नाम शशि शेरचन हो । कम्युनिस्ट आन्दोलनमा करिब पाँच दशक बिताएका साथी कम्युनिस्ट पार्टीभित्र स्वच्छ चरित्रका नेताका रूपमा परिचित थिए । मार्क्सवादी समालोचक निनु चापागाईं स्वनाम साथीलाई माथिल्लो वर्गको भएर पनि सर्वहारा वर्गका लागि लड्ने विशिष्ट पात्रका रूपमा सम्झिन्छन् । उनले भने, ‘आफ्नो व्यक्तिगत धनसम्पत्ति समाप्त गरेर नेपाली कम्युनिस्ट आन्दोलनका होमिएका एक विशिष्ट पात्र थिए स्वनाम । उनी सर्वहारा वर्गका खास मान्छे थिए ।’
लेखक राजेन्द्र महर्जन स्वनामलाई गरिखाने जनताको मुक्तिका लागि लड्ने सिपाहीका रूपमा सम्झिन्छन् । उनले भने, ‘पार्टी र सरकारका कुनै पद, प्रतिष्ठाको पछि नलाग्ने, सरल र कमरेडको भावनाले ओतप्रोत जिउँदोजाग्दो मान्छे थिए स्वनाम साथी ।’ उनले किरण गौतमसँग विवाह गरेका थिए ।