मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
डा. अविन ओझा
२०७७ जेठ १५ बिहीबार ०८:०८:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

कृषिको बहुआयामीकरण नै अबको आर्थिक विकल्प 

कृषिमा आत्मनिर्भर बन्न कृषि उद्यमीलाई आर्थिक, प्राविधिक तथा कार्यगत सहयोग गर्ने किसिमका नीति सरकारको प्राथमिकतामा पर्नुपर्छ

Read Time : > 5 मिनेट
डा. अविन ओझा
२०७७ जेठ १५ बिहीबार ०८:०८:००

अहिले विश्वलाई आक्रान्त बनाउँदै मानवजगत्माथि नै कोरोना भाइरसले आफ्नो स्वामित्व खोजेको छ । विश्वका ठूला-साना सबै अर्थतन्त्र दिनानुदिन क्षय हुँदै गएका छन् । विश्वको यस्तो काहालीलाग्दो अवस्थाबाट नेपाल पनि अछुतो छैन । मानवीय क्षतिका हिसाबले नेपालमा कोभिड-१९ संक्रमणको असर अहिलेसम्म नगन्य छ । यो सुखद कुरा हो । अर्थतन्त्रमा भने यसको असर निकै लामो समयसम्म पर्न सक्ने देखिन्छ । नेपालको अर्थतन्त्र विप्रेषणमुखी छ ।

कोरोना संक्रमणपछि विश्व रोजगारीेमा संकुचन आउने प्रायः निश्चित छ । योसँगै वैदेशिक रोजगारमा रहेका नेपाली युवाको रोजगारी गुम्ने तथा ठूलो संख्यामा नेपाल फर्कन सक्ने अनुमान गर्न सकिन्छ । तसर्थ, नेपाली अर्थतन्त्रको पहिलो संकट भनेको विप्रेषणमा कमी आई कुल गार्हस्थ्य उत्पादनमा आउने कमीलाई पूर्ति कसरी गर्ने भन्ने नै हो । त्योभन्दा ठूलो चुनौती वैदेशिक रोजगारबाट फर्कने ठूलो युवाशक्तिको व्यवस्थापन कसरी गर्ने भन्ने छ । यी र यस्ता विविध विषयका बारेमा अहिले बहस हुन थालेको छ । धेरैले कोरोना संक्रमणले नेपाली अर्थतन्त्रमा धेरै चुनौती थप्ने विचार राख्दै आएका छन् । तर, चुनौतीसँगसँगै यो अवस्थालाई सम्भावना र अवसरका रूपमा पनि परिवर्तन गर्न सकिन्छ । 

कुनै पनि पञ्चवर्षीय योजनाले वैदेशिक रोजगारमा गएका युवाशक्ति नेपाल फर्केमा कसरी व्यवस्थापन गर्ने भन्ने चर्चासम्म गरेनन् । त्यसैले आज प्रधानमन्त्रीले संसद्मा निरीह बन्दै यो संकटमा समेत वैदेशिक रोजगारमा गएकालाई देश फिर्ता गर्न सक्दिनँ भन्नुपर्ने अवस्था सिर्जना भयो।

कस्तो छ त वैदेशिक रोजगार तथा विप्रेषणको तथ्यांक ? : नेपालमा प्रतिवर्ष करिब पाँच लाख नयाँ व्याक्ति श्रमबजारमा थपिने गरेको अनुमान छ भने बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको छ । यो हप्तामा एक घन्टा तलब वा अन्य सुविधाका लागि काम गर्ने मानिस रोजगार भएका मानिस मानिने मापदण्डका आधारमा निकालिएको तथ्यांक प्रतिशत हो, जुन आफैँमा रोजगारीको पूर्ण मापदण्ड होइन । यस हिसाबले ‘ले-म्यान लेन्स’बाट हेर्दा नेपालमा बेरोजगारी दर कम्तीमा २२ प्रतिशत भएको पाइन्छ ।

देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले वैदेशिक रोजगारमा ४३ लाख ६५ हजार चार सय १५ जना नेपाली युवा रहेको आँकडा आर्थिक सर्वेक्षण ०७५-७६ को छ । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको नेपाल लेबर माइग्रेसन रिपोर्ट–२०२० को तथ्यांकको एक आँकडाअनुसार सन् २०१८-०१९ मा नेपालमा ८ दशमलव ७९ बिलियन अमेरिकी डलर विप्रेषण नेपालमा भित्रिएको थियो, जुन अहिलेको नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब एकचौथाइ हुन आउँछ। 

अब चुनौती होइन अवसर : अबको चुनौती वैदेशिक रोजगारमा रहेका झन्डै ४४ लाख युवाको मात्र होइन, प्रतिवर्ष वैदिशक रोजगारमा जाने औसत करिब चार लाख युवा तथा हरेक वर्ष नेपाली श्रमबजारमा थपिने अतिरिक्त पाँच लाख युवा व्यवस्थापनको पनि हो । नेपाली अर्थतन्त्रमा वैदेशिक रोजागरीको महत्व र लेखाजोखालाई सातौँ पञ्चवर्षीय योजना (सन् १९८५-१९९०)देखि प्राथमिकतामा राखिएको हो । तत्पश्चात्का सबै योजनाले सधैँ कसरी नेपालीलाई वैदेशिक रोजगारमा पठाउने भन्नेमै जोड दिए।

वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणकै आधारमा धेरै पञ्चवर्षीय योजना आए-गए । दुर्भाग्य नै भन्नु पर्छ, कुनै पनि पञ्चवर्षीय योजनाले वैदेशिक रोजगारमा गएका युवाशक्ति नेपाल फर्केमा कसरी व्यवस्थापन गर्ने भन्ने चर्चासमेत गरेनन् ! त्यसैले आज प्रधानमन्त्रीले संसद्मा निरीह बन्दै यो संकटमा समेत वैदेशिक रोजगारमा गएकालाई देश फिर्ता गर्न सक्दिनँ भन्नुपर्ने अवस्था सिर्जना भयो । 

तर, कोरोना संक्रमणले नेपाललाई चुनौती होइन, एउटा अभूतपूर्व अवसर दिएको छ । यो विषम परिस्थितिलाई चुनौती होइन, अवसरको रूपमा सदुपयोग गर्नुपर्छ । कसरी यो सम्भव होला ?

कृषिको व्यवसायीकरण एवं स्थानीय उद्योग र पर्यटनको विकास : नेपालले सन् २०३५ भित्रमा खाद्यान्नमा आत्मनिर्भर बन्ने दीर्घकालीन लक्ष्य लिएको छ । तर, अहिलेको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा करिब २७ प्रतिशत मात्र छ । पछिल्लो दुई दशकमा कृषि क्षेत्रको उत्पादन औसत ३ दशमलव २ प्रतिशतले मात्र वृद्धि भएको छ । चामल, दाल, गहुँ, मकैजस्ता दैनिक उपभोग्य खाद्यान्नमा पनि मूलतः आयातमा निर्भर हुनुपरेको छ ।

द अब्जर्भेटरी अफ इकोनोमिक्स कम्पिसिटी (ओइसी)को एक आँकडाअनुसार सन् २०१७ मा नेपालको कुल आयात ९ दशमलव ६ बिलियन अमेरिकी डलर थियो भने निर्यात केवल ८ सय ३ मिलियन अमेरिकी डलर मात्र । ओइसीका अनुसार पछिल्लो पाँच वर्षमा नेपालको आयात प्रतिवर्ष औसत ९ दशमलव ५ प्रतिशतले बढेको छ । 

कृषि उत्पादनको अवस्था निकै दयनीय हुनुमा युवाको कृषिप्रति विकर्षण, कृषिमा विविधीकरण तथा व्यवसायीकरणको कमी, कृषि उत्पादनको भ्यालु चेन अभिवृद्धिमा शून्यता र कृषि उत्पादनको बजारको अनिश्चितताजस्ता कारण प्रमुख हुन् । कृषिमा युवाको आकर्षण बढाई आधुनिक कृषिलाई प्रोत्साहन गर्नुु अबको आवश्यकता हो । त्यस्तै, सहकारीलाई कृषि उत्पादनका साधन पूर्ति गर्ने माध्यम र कृषि उत्पादनको खरिद केन्द्रको रूपमा विकसित गर्नुपर्छ तथा तिनलाई कृषक र बजारबीचको ‘कनेक्सन पोइन्ट’को रूपमा स्थापित गर्नुपर्छ ।

बजारमा बिक्री नभएका उत्पादनको खरिद तथा भ्यालु चेन अभिवृद्धिमा सरकारले कृषक तथा सहकारीलाई ग्यारेन्टी गर्नुपर्छ । कृषकले उत्पादन गरेको छिटै नाश भएर जाने फलफूल तथा तरकारीजस्ता उत्पादनको भ्यालु चेन अभिवृद्धि गर्ने स्थानीय जुस, अचार या अन्य उत्पादनका साना तथा घरेलु उद्योग पनि सहकारीमार्फत सञ्चालनमा ल्याउन सकिन्छ । 

कृषिको बहुआयामीकरणमार्फत सम्मानित व्यवसायको रूपमा विकास र विस्तारका योजना ल्याउने हो भने कृषि क्षेत्रमा नै सबैखाले श्रमशक्ति तथा मानव संसाधनका लागि रोजगारीको अवसर सिर्जना हुनेछ, कृषि क्षेत्र सम्मानित बन्नेछ र व्यावसायिक हुनेछ।

स्मरण गरौँ, इटालीको कुल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान ३० प्रतिशतसम्म रहने गरेको छ । फोब्र्स (अप्रिल २१, २०१९)ले इटालीमा युवाहरू सहरी जीवन त्यागेर ग्रमीण क्षेत्रमा कृषक जीवन सुरु गर्न आकर्षित भएको एउटा आलेख छापेको थियो । जसअनुसार १० युवा व्यवसायीमध्ये एक कृषि उद्यमी रहेका छन्। 

व्यावसायिक कृषिका अमेरिकी दृष्टान्त : आज आधुनिक कृषि पर्यटकका लागि निकै आकर्षक गन्तव्य बन्ने गरेको छ । उदाहरणका लागि अमेरिकाको हिलमार क्यालिफोर्नियामा सन् १९८४ मा १२ जना दुग्ध कृषकद्वारा स्थापित हिलमार चिज कम्पनी आधुनिक एवं सामूहिक कृषिको अब्बल नमुना बनेको छ । अहिले हिलमारले आयोजना गर्ने गरेको कृषि शैक्षिक कार्यक्रममा प्रतिवर्ष १७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने गरेका छन् ।

त्यसो त मेसिगन राज्यमा सन् २००३ मा फेरि सञ्चालनमा आएको लेविस फार्मले कृषि उत्पादन मात्र होइन, आफ्नो फर्मलाई नै एउटा उत्पादनको रूपमा बिक्री गर्दै आएको छ । बच्चाका लागि खेल, चिडियाघर, क्याफे स्थललगायत विभिन्न सिजनमा विविध कृषि मेला (बाली रोपाइँ-कटाइ)मार्फत राम्रो आम्दानी गरेको छ । कोलोराडो राज्यको स्याडलब्याक -यान्च अर्को सफल तर अलग कृषि फार्म हो । यहाँ खेतीभन्दा पनि पशुपालन गरिन्छ । सन् ११९३ मा सञ्चालनमा आएको यो यान्चमा मौसमअनुसारका पर्यटकलक्षित खेल या कार्य आयोजना गर्ने गरिन्छ । घोडा सवार, र्‍यान्च अवलोकन, सिकार आदि यसका आकर्षण हुन् । 

युनिभर्सिटी अफ कनेकटिकेट (२०१७) को एक अध्ययनले कनेकटिकेट राज्यमा कृषि उत्पादन मात्र बिक्री गर्दा ७४ मिलियन डलर आम्दानी हुने गरेकोमा कृषि पर्यटन प्रवद्र्धन गर्दा थप १६ मिलियन डलर आम्दानी भएको देखाउँछ । त्यसो त अर्को एक अध्ययनअनुसार भर्मन्ट राज्यमा २००४ मा कृषि फार्ममा आधारित पर्यटनबाट मात्र १९ दशमलव ५ मिलियन डलर अतिरिक्त आम्दानी भएको देखिन्छ । यी त भए केही प्रतिनिधि उदहारण । अब, नेपालमा पनि कृषिलाई खाद्यान्न उत्पानमा मात्र सीमित नराखी व्यवसायको रूपमा रूपान्तरण गर्दै बहुआयामिक उद्यमको रूपमा विकास गर्नुपर्छ । अब नेपाली कृषि बहुआयामीकरण हुनुपर्छ ।

कृषिको बहुआयामीकरण अबको आर्थिक विकासको प्रारूप : नेपालको बढ्दो खाद्यान्य संकट र अकासिँदो बेरोजगारीलाई सन्तुलनमा राख्न कृषिमा विविधीकरण र व्यवसायीकरण मात्र पर्याप्त हुँदैन । अब नेपाली कृषिको प्रारूप ‘कृषिको बहुआयामीकरण’ हुनुपर्छ । यो प्रारूपमा कृषिको व्यवसायीकरण, उत्पादनको मूल्य अभिवृद्धि र कृषि–पर्यटनलाई सँगसँगै लगिन्छ । अर्थात्, कृषि, उद्योग, र पर्यटनको पारस्परिक विकास गर्ने प्रारूप नै कृषिको बहुआयामीकरण हो । यस अवधारणामा कृषिको मूल्य अभिवृद्धिको विविधीकरणमार्फत व्यावसायिक कृषिलाई स्थापित गरिन्छ ।

जब कृषि व्यावसायिक हुन्छ, उत्पादनलाई सहकारीमार्फत बजारीकरण गरिन्छ । बिक्री नभएका तथा अतिरिक्त उत्पादनलाई घरेलु तथा स्थानीय उद्योगमार्फत भ्यालु चेन अभिवृद्धि गर्ने प्रक्रिया बढाइन्छ । स्थानीय सरकारले सहकारीमार्फत साना तथा घरेलु उद्योग स्थापना गर्छन् । त्यस्तै, आधुनिक कृषि फार्मलाई पर्यटन गन्तव्यको रूपमा विकास गरेर कृषि पर्यटन स्थापित गर्न सकिन्छ ।

कृषि फार्ममा बाली रोपाइँ, गोडाइ र थन्क्याउने वेला विभिन्न मेला महोत्सवको आयोजना गरी पर्यटक आकर्षण गर्न सकिन्छ । कृषि फार्मको अवलोकन, बाल चिडियाघर, कृषि अध्ययन तथा अवलोकन कायर्कक्रम तथा साहसिक कृषि फार्म कार्य आदि मौसमअनुसार आयोजना गरी कृषि क्षेत्रलाई बहुआयामिक क्षेत्र बनाउनुपर्छ । 

कृषिको बहुआयामीकरणमार्फत सम्मानित व्यवसायको रूपमा विकास र विस्तारका योजना ल्याउने हो भने कृषि क्षेत्रमा नै सबैखाले श्रमशक्ति तथा मानव संसाधनका लागि रोजगारीको अवसर सिर्जना हुनेछ, कृषि क्षेत्र सम्मानित बन्नेछ र व्यावसायिक हुनेछ । कृषिमा अतिरिक्त आम्दानीको अवसर प्राप्त हुनेछ, युवाशक्तिको आकर्षण बढ्नेछ । परिणामतः वैदेशिक रोजगारीमा गिरावट आउनेछ, ग्रामीण विकासको लक्ष्य हासिल हुनेछ ।

सबैभन्दा महत्वपूर्ण उपलब्धि सन् २०३५ अगाडि नै कृषिमा आत्मनिर्भर देशको परिकल्पना साकार हुनेछ । यसका लागि युवा कृषि उद्यमीलाई आर्थिक, प्राविधिक तथा कार्यगत सहयोग गर्ने किसिमका नीति सरकारको प्राथमिकतामा पर्नुपर्छ।

(लेखक योर्क कलेज, सिटी युनिभर्सिटी, न्युयोर्कका प्राध्यापक हुन्)
[email protected]