१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मध्यअसारमा एकीकृत समाजवादीको महाधिवेशन : शीर्ष नेतृत्व तयारीमा, कार्यकर्ता अन्योलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३३:oo

एकीकृत समाजवादीले मध्यअसारमा महाधिवेशनको तयारी गरेको छ । महाधिवेशन मिति दुईपटक सारेर १६–२० असारमा पुर्‍याइएको छ । नयाँ मितिमा महाधिवेशन सम्पन्न गर्न शीर्ष नेतृत्वले आवश्यक काम अघि बढाएको दाबी गरे पनि मध्यअसारमा मिति परेकाले कार्यकर्ता भने अन्योलमा छन् ।

महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । ‘महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । अब निर्धारित समयमै महाधिवेशन हुन्छ,’ उनले भने । यसअघि महाधिवेशन दुईपटक सरेको थियो । एकीकृत समाजवादीले सुरुमा अघिल्लो वर्षको १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, राष्ट्रिय सभा निर्वाचनको कारण देखाउँदै ३ देखि ७ जेठमा महाधिवेशन गर्ने गरी मिति परिवर्तन भएको थियो । उक्त मिति पनि परिवर्तन भएको छ । मध्यअसारमा महाधिवेशनको नयाँ मिति तोकिएकाले हुने–नहुने अन्योल नेता तथा कार्यकर्तामा देखिएको छ ।

राष्ट्रिय राजनीतिक समीकरणमा फेरबदलले केही समय लिएको, संगठित सदस्यता वितरणको समय बढाउनुपरेको, दस्ताबेज लेखन र छलफलले समय लिएको र इलाम प्रतिनिधिसभा र बझाङमा प्रदेश सभा निर्वाचन पर्न गएकाले महाधिवेशनको समय तालिका पुनर्संयोजन गरिएको महासचिव घनश्याम भुसालले बताए । उनले अब निर्धारित समयमै महाधिवेशन हुने दाबी गरे ।

सबै कमिटी, विभाग र फाँटले संगठित सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रिया पूरा गरी शुल्कसहितको विवरण १५ वैशाखभित्र पार्टी केन्द्रीय संगठन विभागमा पठाइसक्न केन्द्रले मातहतका कमिटीलाई निर्देशन दिएको छ । ‘१५ वैशाखपछि प्रदान गरिएका र नवीकरण गरिएका संगठित सदस्यलाई यस महाधिवेशन प्रयोजनका लागि समावेश गरिने छैन,’ भुसालले भने । सम्बन्धित कमिटीबाट प्राप्त विवरण संगठन विभागले ३० वैशाखसम्ममा प्रमाणित गरी सम्बन्धित कमिटीमा पठाइसक्ने तयारी छ ।

दस्ताबेजमाथि सुझाव लिने क्रम जारी 
महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजले पनि अन्तिम रूप लिइसकेको छैन । दस्ताबेजमाथि सचिवालयमा सुझाव लिने क्रम जारी छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजमाथि छलफल गर्न २६ वैशाखमा स्थायी समिति, २७ वैशाखमा पोलिटब्युरो तथा २८ र २९ वैशाखमा केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । केन्द्रीय कमिटीले दस्ताबेजलाई अन्तिम रूप दिएपछि ९ जेठसम्म दस्ताबेजको मस्यौदा सबै कमिटीमा पठाउने तयारी रहेको खतिवडाले बताए । १० देखि ३२ जेठसम्म मस्यौदा दस्ताबेजमाथि सबै कमिटीले आफ्नो कार्यक्षेत्रमा पार्टी संगठित सदस्यलाई सहभागी गराइ छलफल गर्ने तय गरिएको छ । १ असारमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोट गर्ने र ५ असारभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण केन्द्रीय कार्यालयमा पठाइसक्न केन्द्रले निर्देशन दिइसकेको छ ।

महाधिवेशन हुनेमा आशंका
सचिवालय बैठकले मध्यअसारमा महाधिवेशनको नयाँ मिति घोषणा गरेकाले फेरि सर्ने हो कि भन्ने नेता तथा कार्यकर्तामा परेको छ । केन्द्रीय सदस्यहरूले नै मध्यअसारमा महाधिवेशन हुनेमा आशंका गरेका छन् । ‘यो या त्यो बहानामा महाधिवेशनको मिति सार्ने काम बन्द गरियोस् । १५ वैशाखभित्र दस्ताबेज प्रकाशित गरियोस्,’ नेता धर्मराज निरौलाले भनेका छन् । अर्का नेता शेरबहादुर कुँवरले प्रश्न गरेका छन्, ‘अब महाधिवेशन गर्न नसकेर नै पार्टी सक्छन् कि के हो ?’

नेता सुदेश पराजुलीले मध्यअसारमा महाधिवेशन गर्नु जायज नहुने औँल्याएका छन् । ‘मध्यअसारमा पनि महाधिवेशन हुन्छ त ? यस्तो कलिलो निर्णय त नगरौँ न । हामी कृषिप्रधान देशका नेता–कार्यकर्ता हौँ । खेतीका वेला यो समय महाधिवेशन गर्ने निर्णय कति सान्दर्भिक छ ?’ उनले प्रश्न गरेका छन्, ‘यस्तो समयमा कस्तो र कति जनपरिचालन हुन्छ ? पार्टी जनताको बनाउने कि सीमित नेतादेखि सीमित कार्यकर्तासम्मको पार्टी बनाउने ? वा जनता, कार्यकर्ता, नेताको सुदृढ सम्बन्ध भएको पार्टी बनाउने ? हामीले गर्ने काम र निर्णयले नै पार्टी बलियो हुन्छ ।’ 

यसअघि एकीकृत समाजवादीले चैत मसान्तसम्म संगठित सदस्यको विवरण पठाउन निर्देशन दिएको थियो । तर, विवरण प्राप्त नभएपछि ५ वैशाखसम्मको समय दिइएको थियो । उक्त समयमा पनि नआएपछि फेरि समय थपिएको छ । अब १५ वैशाखसम्म सबै विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ । ‘बीचमा नयाँ सत्तागठबन्धनका कारण अलमलिने काम भयो । महाधिवेशन सार्दा असार होइन, भदौ अन्त्य वा असोजको सुरुमा मिति तोकिएको भए हुन्थ्यो । मध्यअसारमा मिति तोकिएकाले आशंका हुनु स्वाभाविकै हो,’ एक पदाधिकारीले भने । 

१५ वैशाखसम्म सदस्यताको अन्तिम विवरण मागिएको र महाधिवेशनको आवश्यक तयारीका सबै काम द्रुत गतिमा भइरहेको प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए । ‘अहिले तयारीको काम व्यवस्थित रूपमा अघि बढेको छ । केन्द्रीय नेतृत्व र सबै विभागको ध्यान महाधिवेशनमा केन्द्रित भएको छ,’ उनले भने । यसअघि घोषित जेठका महाधिवेशनप्रति अन्योल बढेपछि नेता तथा कार्यकर्तालाई प्रस्ट पार्न अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन (अपानि) नै जारी गर्नुपरेको थियो । चैत पहिलो हप्ता जारी अपानिमा नेपालले अन्योलमा नपरी महाधिवेशनमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका थिए । ‘हाम्रो पार्टी हिजो एउटा गठबन्धनमा सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ । हाम्रा मन्त्रीहरूबाट परिणाममुखी काम होऊन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियोस् भनेर प्रयास गर्नुपर्छ,’ नेपालले अपानिमा भनेका थिए ।

ad
ad