आइतबार र सोमबारको वर्षाका कारण पूर्वी पहाड र मध्य नेपालका वनजंगलमा लागेको डढेलो घटेको छ। वर्षा भएको ठाउँमा डढेलो निभे पनि पश्चिममा भने कायमै छ।
नासाको स्याटलाइट तस्बिर हेर्दा सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीका पश्चिमी क्षेत्रका वनजंगलमा डढेलो कायमै छ। पछिल्लो २४ घन्टामा मुलुकका १२० स्थानमा डढेलो लागेको देखिन्छ। आइतबार १४४ स्थान, शनिबार २३८ र शुक्रबार ३८८ स्थानमा डढेलो थियो।
पछिल्लो २४ घन्टामा सबैभन्दा बढी कैलालीका वनमा १८ स्थानमा डढेलो छ। त्यसपछि सुर्खेतमा १६, डोटीमा ११, रोल्पामा १०, अछाममा सात स्थानमा डढेलो छ।
त्यस्तै, डडेल्धुरा, दाङ र सल्यानमा ६–६ ठाउँमा डढेलो छ। बझाङ र दैलेखमा चार–चार स्थान तथा जाजरकोटमा तीन स्थानमा डढेलो छ। अर्घाखाँची र दार्चुलामा दुई–दुई ठाउँमा डढेलो छ।
पूर्वी र मध्य नेपालका कयौँ जिल्लामा वर्षा भए पनि वर्षा नभएको क्षेत्रमा भने डढेलो कायमै छ। तर, समग्रमा भने घटेको छ। ओखलढुंगामा सात तथा खोटाङ, लमजुङ र रसुवामा दुई–दुई ठाउँमा डढेलो छ।
बागलुङ, बैतडी, बारा, बर्दिया, गोरखा, जुम्ला, कालीकोट, नवलपरासी, पाल्पा, रामेछाप, सिन्धुपाल्चोक र उदयपुरका एक–एक ठाउँमा डढेलो छ।
सोमबार कर्णालीका पूर्वतर्फका केही जिल्ला, लुम्बिनीको उत्तर र पूर्वी क्षेत्र, गण्डकी तथा बागमतीको उत्तरपश्चिम क्षेत्रमा राम्रो वर्षा भएको छ। सोमबार रुकुम पश्चिमको मुसिकोटमा ७८.८, स्याङजामा ६१.८ र गोरखामा ३४.८ मिमि पानी परेको छ। काठमाडौंमा हावाहुरी चले पनि हल्का वर्षा मात्र भएको छ।