१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बागलुङ नगरपालिकामा हल गोरु पाल्ने किसानलाई अनुदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१८:oo

कृषिमा आधुनिकीकरण र बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने कार्यक्रम सञ्चालनमा ल्याएको छ।

नगरपालिकाले चालू आर्थिक वर्षदेखि लागू हुने गरी हलगोरु पाल्ने किसानलाई अनुदानको कार्यक्रम सञ्चालन गरेको हो। रैथाने बालीको संरक्षण, स्थानीय स्रोतसाधनको उपयोगमार्फत नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने कार्यक्रम ल्याइएको बताइएको छ। नगरपालिकाले ‘गोरु प्रवर्द्धन कार्यक्रम’अन्तर्गत एक हलगोरु पाल्ने किसानका लागि अनुदान प्रदान गर्ने भएको छ। जसका लागि प्रस्तावित कार्यविधिसमेत तयार भएको र सोहीअनुसार अनुदान प्रदान गरिने नगरपालिकाका पशु शाखाका प्रमुख मित्रलाल सापकोटाले बताए।

चालू आर्थिक वर्षमा चार लाख रुपैयाँ विनियोजन
‘गोरु प्रवर्द्धन कार्यक्रम’अन्तर्गत किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटबाट प्रोत्साहन रकम हलगोरु पाल्ने किसानलाई प्रदान गरिनेछ।

‘पछिल्लो समयमा कृषिमा आधुनीकरण र यान्त्रिकीकरण बढ्दै गएको छ। परम्परागत प्रणालीलाई निरन्तरता र प्रोत्साहन गर्नका निम्ति यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ पशु शाखा प्रमुख सापकोटाले भने, ‘यस वर्ष हलगोरु पाल्ने किसानलाई मात्र अनुदान प्रदान गर्नेछौँ। आउँदा वर्षमा यसलाई केही परिमार्जन गरेर गोरु पाल्ने जोकोही किसानलाई पनि अनुदान प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। सोहीअनुसार बजेट व्यवस्थापन गर्न लागेका छौँ।’

गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराउन लागिएको उनले बताए। नगरपालिकाका अनुसार यस वर्ष १ सय ९ गोरु पाल्ने किसानले अनुदानका निम्ति निवेदन पेस गरेका छन्। प्राप्त भएका निवेदनका आधारमा किसानको गोठमै पुगेर अनुगमन गरी सोहीअनुसार छनाेट गरेर अनुदान प्रदान गरिने सापकोटाले बताए।

गोरु पाल्ने संस्कृति संरक्षणका निम्ति प्रोत्साहनको कार्यक्रम
कृषिमा आधुनिक हुँदै गएको र मिनी  टिलरका कारण स्थानीय स्रोतसाधनको प्रयोग नै हराउँदै गएको हुँदा यसको संरक्षणका निम्तष पनि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदानको कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन्।

‘कृषिमा आधुनीकरण र यान्त्रिकीकरणसँगै गोरु पाल्ने संस्कृति घट्दै गयो, स्थानीय वस्तुको खोजीभन्दा पनि आधुनीकरणको खोजीमा बढी ध्यान भयो, यसको न्यूनीकरणका निम्ति पनि नगरपालिकाले ‘गोरु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘किसानको गोठमा गोरु हुँदा बालीका लागि आवश्यक मलमूत्र पनि पुग्ने, गोरुले जोत्दा उत्पादनमा पनि वृद्धि हुने हुँदा यसलाई पाल्न प्रोत्साहन गर्नुपरेको हो।’

मिनी टिलरको प्रयोगले किसानको धेरै पैसा विदेसिने भएकाले गोरु पाल्दा त्यो रोकिने श्रेष्ठको विश्वास छ। उनले मिनी टिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए। गोरुले जोत्दा स्थानीय प्रविधि हलोजुवा प्रयोग हुने भएकाले बाँझो जग्गा राम्रोसँग जोतिने र माटोको अम्लिएपनमा कमी आउने किसानहरूको विश्वास छ।

एक हलगोरुका लागि १० हजार रुपैयाँ अनुदान
नगरपालिकाले प्रस्तावित कार्यविधिमा एक हलगोरु पाल्ने किसानका लागि १० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ। यो कार्यक्रममा यस वर्ष रकम थोरै र किसानको निवेदन धेरै परेका कारण अनुगमन र मूल्यांकन गरेर मात्र किसानलाई प्रदान गरिनेछ।

नगरपालिकाले गोरु पाल्ने किसानको तथ्यांकलाई तयार पारेर कार्यक्रमलाई आउँदा वर्षमा पनि निरन्तरता दिन कम्तीमा १० लाख रुपैयाँ विनियोजनको प्रस्ताव गर्ने शाखा प्रमुख सापकोटाले बताए ।

बागलुङका बेँसी र समथर फाँटमा मिनी टिलरको प्रयोग बढ्दो रहे पनि लेकको खेतबारीमा भने गोरुले जोत्ने प्रचलन कायमै छ। गोरु प्रवर्द्धन कार्यक्रम जिल्लाको जैमिनी नगरपालिकाले पनि सञ्चालन गरेको छ।

ad
ad