१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
जेरेमी कोर्बिन
२o८१ बैशाख २५ मंगलबार १o:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बेहोसीमा रहेका युद्धनायकलाई रोकौँ

Read Time : > 2 मिनेट
जेरेमी कोर्बिन
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:o७:oo

‘१९१४ का नायकहरू बेहोसीमा थिए, देख्दा सतर्कजस्ता तर केही चाल नपाउने, सपनाले गाँजिएका, तर विश्वमा आफूले निम्त्याउन लागेको डरलाग्दो वास्तविकतालाई देख्न नसकिरहेका ।’ क्रिस्टोफर क्लार्कको ‘द स्लिपवाकर्स’ले पहिलो विश्वयुद्धको प्रकोपको कथालाई बताउँछ । साम्राज्यवाद र पागलपनले मोहित बहुध्रुवीय संसारको चित्रण गर्दै क्लार्कले कुनै एक शक्तिलाई मात्र दोष दिन अस्वीकार गरेका थिए । बरु उनले कसरी राजनीतिक नेताले बिस्तारै शान्तिको सम्भावनालाई कम गरे, गल्ती गरे र अन्ततः विश्वव्यापी प्रकोप निम्त्याएर करिब दुई करोड मानिसको मृत्युका लागि जिम्मेवार भए भनेर वर्णन गरेका थिए ।

आज फेरि संकटपछि संकटमा गल्ती गर्दै हाम्रा राजनीतिक नेता युद्ध नै एक मात्र समाधान हो भन्नेमा विश्वस्त भएका छन् । पहिलो विश्वयुद्धको तुलनामा यसपटक यी नेता बेहोसीमा हिँडिरहेका छैनन् । यी नेता आँखा उघारेरै युद्धका लागि उद्यत छन् ।महिनौँदेखि जीवनको क्षति रोक्न हामी लाखौँले गाजामा युद्धविराम, हिंसाको निरन्तर चक्रको अन्त्य गर्न र व्यापक कत्लेआम रोक्न प्रदर्शन गरेका छौँ । हामीलाई उपेक्षा र बदनाम गरिएको छ र हाम्रो दानवीकरण भएको छ । गत साता, इजरायलले इरानमाथि क्षेप्यास्त्र हमला गर्‍यो, जसले मध्यपूर्वमा द्वन्द्वको स्थिति पैदा गरेको छ । व्यापक अन्तर्राष्ट्रिय संलग्नताविना पनि इरानसँग पूर्ण–स्तरीय युद्धको सम्भावित मानवीय, आर्थिक र वातावरणीय प्रभाव विश्वव्यापी रूपमा विनाशकारी हुनेछ ।

हामीले युद्ध रोक्न सबैभन्दा खराब परिस्थितिलाई कुर्नुपर्दैन । इजरायली सरकारले १४ अप्रिलमा इरानको आक्रमणको प्रतिक्रियाबारे छलफल गर्दा प्यालेस्टिनीविरुद्ध गाजामा बमबारी जारी नै छ । हालका महिनामा, मानिसले अकल्पनीय त्रास सहेका छन्, परिवार नासिएका छन्, बाँचेकालाई पुस्तौँसम्मको मानसिक आघात पुगेको छ ।पूरै बस्ती ध्वस्त भएका छन्, शरीरका अंग यत्रतत्र छरिएका छन् । चिकित्सकले एनेस्थेसियाविनै शल्यक्रिया गरिरहेका छन् । केटाकेटी बाँच्नका लागि जनावरको दानाबाट ‘रोटी’ बनाउन दाउरा–पात खोजिरहेका छन् । अब भन्नुस्, प्यालेस्टिनी जनतामाथि चलिरहेको नरसंहार सबैभन्दा खराब अवस्था हो कि होइन ?

आततायी युद्धका सन्दर्भमा हामीलाई सक्रिय रूपमा युद्ध रोक्न र कूटनीति प्रवद्र्धन गर्न प्रतिबद्ध राजनीतिज्ञको खाँचो छ 

गत अक्टोबरमा हामीले गाजा र त्यहाँका जनताको सम्भावित विनाशको चेतावनी दिएका थियौँ । हामीले राजनीतिक नेतालाई आफ्नो सामु देखापरेका युद्ध अपराध स्वीकार गर्न र तिनको निन्दा गर्न आग्रह गरेका थियौँ । अहिले केही राजनीतिज्ञ ढिलो गरी चुनावी डरले डगमगाएका छन् । यदि तिनमा इमानदारी थियो भने तिनले आफ्नो नैतिक र राजनीतिक कायरताका कारण मारिएका ३३ हजार प्यालेस्टिनीका लागि शोक व्यक्त गर्थे ।

आज स्कुले बालबालिकालाई मानवताविरुद्धको इतिहासको सबैभन्दा खराब अपराधबारे पढाइन्छ । तिनलाई यी अपराध कसरी सम्भव भए सोच्न सिकाइन्छ । र, तिनले त्यस्ता अत्याचारलाई समर्थन गर्ने वा अत्याचार गराउने राजनीतिक व्यक्तिको नाम जानेका हुन्छन् । निकट भविष्यमा हाम्रा इतिहासका पुस्तकले यो नरसंहार रोक्न अवसर पाएका र युद्धमा खुसी हुनेको नाम अंकित गरी लज्जित गर्नेछ । इजरायली र प्यालेस्टिनी जीवनलाई समान मूल्यसाथ व्यवहार गर्न नसकेका कारण यी नेताले बदनामीको अमरता पाउनेछन् ।

भविष्यले यिनलाई नरसंहार रोक्न असफल भएका कारण सम्झिनेछ ।यो आततायी युद्धका सन्दर्भमा हामीलाई सक्रिय रूपमा युद्ध रोक्ने र कूटनीति प्रवद्र्धन गर्न प्रतिबद्ध राजनीतिज्ञको खाँचो छ । दुर्भाग्य, शान्तिको सट्टा युद्धतर्फ नेताको झुकावले हामी सबैलाई जोखिममा पारेको छ । हाम्रो (बेलायत) सरकारले सुरुदेखि नै युद्धविरामको माग गर्न सक्थ्यो । उल्टै हाम्रो सरकारले सबैभन्दा गरिब राष्ट्रमध्येको एक यमनमा सैन्य हमला गरेर र इजरायलमा हतियार निर्यात बढाएर मृत्युबाट नाफा कमाउने विश्वव्यापी हतियार उद्योगलाई समर्थन गरेर तनाव बढायो । विडम्बना, यो दृष्टिकोणलाई आधिकारिक विपक्षीले पनि समर्थन गरेको छ, जसले निर्दोष नागरिक र पाशविक क्षतिबीचको भिन्नता गर्ने अनैतिक र असंगत विदेशी नीतिलाई निरन्तरता दिएको छ ।

हामी लाखौँ मार्च जारी राख्छौँ, किनभने मानिसले जीवन गुमाइरहेका छन् । हामी यो शनिबार लन्डनमा प्यालेस्टाइनका लागि अर्को राष्ट्रिय मार्चका लागि फेरि भेला हुनेछौँ, जहाँ हामी युद्धविराम र राज्य अतिक्रमण अन्त्यको आह्वान गर्नेछौँ । हाम्रो आन्दोलन घृणाले नभई आशाले सञ्चालित छ । यसमा सबै उमेरका, विश्वास एवं पृष्ठभूमिका मानिस मानवीय पीडाको अन्त्य गर्न एकसाथ आउँदै छन् । हामी युक्रेन, यमन, सुडान, पश्चिम पपुवा, लोकतान्त्रिक गणतन्त्र कंगो र अन्यत्रका द्वन्द्वमा शान्तिको वकालत गर्ने ठूलो आन्दोलनका हिस्सा हौँ ।

हामीमध्ये धेरैले हाम्रो सम्पूर्ण जीवन सबै ठाउँमा सबैका लागि मानव अधिकारको रक्षा गर्नमा बिताएका छौँ र यस क्रममा हामीले ठूलो विरोधको सामना गर्दै आएका छौँ । हाम्रा आलोचक यसबारे अनभिज्ञ छैनन् । तिनले वास्तवमै विरोध गरेको कुरा भनेको सबैका लागि थप समान, दिगो र शान्तिपूर्ण संसार निर्माण गर्ने हाम्रो चाहना हो ।

वास्तविक सुरक्षाले तपाईंको छिमेकीलाई नष्ट गर्दैन, यसले तपाईंको छिमेकीसँग जोड्छ । वास्तविक सुरक्षा सबैका लागि पर्याप्त खाना, टाउकोमाथि छत र एक दिगो ग्रहमा निर्भर छ । अरूका सन्तानले मूल्य चुकाउँछन् भन्ने थाहा पाएरै राजनीतिक नेता आफ्नो सैन्यवादी उन्मादमा रमाउँछन् । तथापि यी नेताको युद्धको तिर्खाले हामी सबैलाई खतरामा पारिरहेको छ । यदि हाम्रा राजनीतिज्ञले आफ्नो विरासतको ख्याल राख्छन् भने तिनले आफैँलाई प्रश्न गर्नुपर्छ, अर्थात् यदि शान्तिको मार्गप्रशस्त गर्न असफल भए आफूलाई सम्झने मानिस को हुनेछ ?
(कोर्बिन बेलायतको लेबर पार्टीका नेता हुन्) द गार्डियनबाट

ad
ad