१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
डा. योगेन्द्रकुमार कार्की
२o८१ बैशाख २२ शनिबार १३:२९:oo
Read Time : > 5 मिनेट
ad
ad
१७औँ वार्षिकोत्सव विशेषांक डिजिटल संस्करण

कृषिमा लगानीयोग्य क्षेत्र : कफीदेखि जडीबुटीसम्म

Read Time : > 5 मिनेट
डा. योगेन्द्रकुमार कार्की
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२९:oo

नेपालको कृषि लगानीका लागि प्राथमिकता प्राप्त क्षेत्र हो । जलविद्युत् र पर्यटनपछि कृषिलाई लगानीयोग्य क्षेत्रका रूपमा प्राथमिकीकरण गर्ने गरिन्छ । तर, दिगो र ग्रामीण अर्थतन्त्रको सुधार र जनजीवनमा परिवर्तन ल्याउन कृषि क्षेत्र अपरिहार्य छ । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरेर उत्पादन र उत्पादकत्व वृद्धि गरे मात्रै नेपालीको जनजीवनमा सुधार ल्याउन सकिन्छ । अहिले ठूलो युवा जनशक्ति विदेश गइरहेको छ । उनीहरूलाई रोक्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सबैभन्दा उपयुक्त माध्यम भनेकै कृषि क्षेत्र हो । त्यसैले कृषिको विकास र विस्तार जरुरी छ । कृषिलाई माथि उठाउन नसक्नुका विभिन्न कथा–व्यथा होलान्, तीनै कथा–व्यथालाई सम्बोधन गर्दै कृषिको व्यावसायिक विकास गर्न आगामी लगानी सम्मेलनमार्फत लगानीकर्तालाई आकर्षण गर्नु जरुरी छ ।

मुलुकको कृषि विकासका लागि आन्तरिक व्यवस्थापन र बाह्य लगानीको प्रवद्र्धनमार्फत दिगोपन दिन सकिन्छ । आन्तरिक व्यवस्थापन भन्नाले कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण प्रवाहको प्रभावकारी व्यवस्थापन गरिनुपर्छ । किनकि अहिले बंैक तथा वित्तीय संस्थाको कृषि क्षेत्रमा तीन प्रतिशतभन्दा कम ऋण लगानी रहेको स्थिति छ । यो ऋणको हिस्सा पनि साना र सीमान्तकृत किसानभन्दा पनि कृषि उद्यम गर्न चाहनेले बढी उपयोग गरेको देखिन्छ । बिमातर्फ पनि कृषिको हिस्सा तीन प्रतिशतहाराहारी मात्रै हो । यसमा पनि पशुपक्षी बिमातर्फ ८० प्रतिशतभन्दा बढी खर्च भइरहेको छ । बाली, बिउ, तरकारी तथा फलफूल बिमाको कभरेज बढाउने कुरामा ध्यान दिनु जरुरी छ । कृषि सिँचाइको उपलब्धता ३४–३५ प्रतिशत मात्रै छ, तर लक्ष्यअनुसार अहिलेसम्मको ५४–५५ प्रतिशत पुग्नुपर्ने हो ।

न्यूनतम समर्थन मूल्य निर्धारण गरी किसान हितमा काम गर्ने सवालमा पनि चुकेका छौँ । भारतमा २६–२७ वटा कृषिउपजको न्यूनतम समर्थन मुल्य तोक्ने र सो मूल्यमा व्यापारीले उपज खरिद नगरे सरकार आफैँले खरिद गर्ने व्यवस्था छ । तर, नेपालमा उखु, दूध, धान र गहुँको मात्रै समर्थन मूल्य तोक्ने गरिएको छ । सरकारले तोकेको मूल्यमा व्यवसायीले किसानका उत्पादन खरिद गर्ने गरेका छैनन् भने सरकारी निकायले पनि समर्थन मूल्यमा किसानबाट उपज खरिद गर्न नसकेको स्थिति छ । यी समस्या समाधान हामी आफैँले कुन उपायबाट गर्ने भनेर सोच्नुपर्छ । स्टार्टअपका रूपमा कृषि क्षेत्रमा आएका नवीन लगानीलाई पनि प्रयोग गर्न सकिन्छ । सरकार र निजी क्षेत्रको केन्द्रविन्दु नै कृषिलाई नाफामूलक, व्यावसायिक, प्रतिस्पर्धी र विश्वबजारमा गुणस्तरीय हुने अवस्थामा लैजाने हुनुपर्छ ।

सरकार र निजी क्षेत्रको केन्द्रविन्दु नै कृषिलाई नाफामूलक, व्यावसायिक, प्रतिस्पर्धी र विश्वबजारमा गुणस्तरीय हुने अवस्थामा लैजाने हुनुपर्छ

बाह्य लगानीमार्फत कृषिको प्रवद्र्धन गर्न आसन्न लगानी सम्मेलन सबैभन्दा बढी लाभदायी हुन सक्छ । लगानी सम्मेलनमा दातृ राष्ट्रका लगानीकर्ता, दातृ निकाय र सम्भावित लगानीकर्ताको उपस्थिति हुने हुँदा कृषिका परियोजनाको प्रभावकारी प्रदर्शनी गरिनुपर्छ । दातृ राष्ट्र वा निकायबाट कसरी अनुदान र सहुलियतपूर्ण ऋण लिने भन्नेमा ध्यान दिनुपर्छ । त्यस्तै, नेपालको कृषिउपजको उत्पादन, प्रशोधन र विश्वबजारसम्म पहँुचमा वृद्धिका लागि विदेशी लगानीकर्तालाई आकर्षण गर्नेमा मुख्य ध्यान दिनु जरुरी छ । लगानी भिœयाउन हामीले कृषि क्षेत्रका केही प्राथमिक विषयमा प्रस्ट धारणा राख्नुपर्ने हुन्छ ।

१. रासायनिक मल कारखाना
नेपालको कृषिउपजको उत्पादकत्व वृद्धि गर्न, दिगो रूपमा रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न र व्यापार घाटा कम गर्न रासायनिक मल कारखाना स्थापना जरुरी छ । रासायनिक मल कारखानाका लागि जापानी नियोग ‘जाइका’ले धेरै पहिले अध्ययन गरेर सम्भावना देखाइसकेको छ । त्यसपछि लगानी बोर्ड तथा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा उद्योग मन्त्रालय, कृषि मन्त्रालयलगायतको संलग्नतामा अध्ययन पनि भइसकेको छ । हामीलाई मल कारखाना चाहिएको छ, तर पर्याप्त लगानी अभाव भएकाले विदेशी लगानीकर्ता ल्याउनु जरुरी छ । विदेशी लगानीकर्ता, नेपालको निजी क्षेत्र र सरकारको समेत लगानी रहने मोडलमा मल कारखानालाई अघि बढाइनुपर्छ । कृषि क्षेत्रको व्यवसायीकरण गर्दा नेपालको निजी क्षेत्रलाई साथसाथै बढाइएन भने भरपर्दो हुँदैन । किनभने नेपालको निजी क्षेत्रलाई पनि माथि उठाउने दायित्वलाई राज्यले प्रवद्र्धन गर्नुपर्छ ।प्रत्येक वर्षको बजेट वक्तव्यमा रासायनिक मल कारखाना स्थापना गर्ने विषय उठ्ने, तर कारखाना स्थापना नहुने विडम्बना पूर्ण स्थितिलाई पूर्णविराम दिन पनि वैदेशिक लगानी भिœयाउन जरुरी छ । किनभने अहिलेको स्थितिमा वार्षिक १०–१२ लाख मेट्रिकटन रासायनिक मल उत्पादन गर्ने कारखाना आवश्यक हुन्छ । मल कारखानाका लागि वैदेशिक लगानीलाई आह्वान गर्ने हो भने धेरै विदेशी लगानीकर्ता इच्छुक हुने अवस्था छ ।

२. जैविक मल कारखाना
रासायनिक मलको प्रयोगसँगै अर्गानिक उत्पादनमा समेत जोड दिनुपर्नेछ । यसका लागि जैविक मल कारखाना स्थापना गर्नु जरुरी छ । कम्पोस्ट मल कारखानाका लागि ४०–५० करोड रुपैयाँ लगानी आवश्यक पर्छ । यति ठूलो लगानी जैविक मल कारखानामा लगाउन नेपालको निजी क्षेत्र तयार देखिँदैन । किनकि अहिले पनि बजार रासायनिक मल कारखानाकै छ । हामीले धान, गहुँ, मकैको उत्पादन वृद्धि गर्न रासायनिक मलको प्रयोग बढाउनैपर्छ । मित्र राष्ट्र भारत र चीनले पाँच देखि सात मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन गरिरहेका छन् । हामीले भने ३.८ टन प्रतिहेक्टर धान उत्पादन गरिरहेका छौँ । यसलाई वृद्धि गर्न रासायनिक मलको उपयोग बढाउनु जरुरी छ । तर, हाम्रा अर्गानिक अर्थोडक्स चिया, बेसार, अदुवा, फलफूललगायत रैथाने बालीमा भने प्रांगारिक तथा जैविक मलको प्रयोग बढाउनु जरुरी छ । त्यसैले विदेशी लगानीकर्ताको साझेदारीमा नेपालमा कारखाना स्थापना गर्न सकिन्छ । 

३. जडीबुटी
नेपालमा प्रशस्त जडीबुटी रहे पनि उत्खनन, प्रशोधन र बजारीकरणमा विभिन्न समस्या झेलिरहेका छौँ । त्यसैले विश्वबजारसम्म नेपालको जडीबुटी पु¥याएर फाइदा लिनका लागि वैदेशिक लगानी आवश्यक भइसकेको छ । नेपालको जडीबुटी कठिन भौगोलिक बनावट भएको डोल्पा, हुम्ला, मुगु, बाजुरा, बझाङ, मनाङ, मुस्ताङ, सोलुखम्बुलगायत दुर्गम जिल्लामा छन् । त्यहाँका स्थानीय युवालाई जडीबुटी खोज्ने कार्यमा १२ महिना नै काम दिएर रोजगारी सिर्जना गर्न सकिने अवस्था छ । अहिले नेपालको थोरै मात्रामा उत्खनन भएका जडीबुटीहरू सामान्य धोइपखाली गरी विभिन्न देशमा कौडीको भाउमा पठाउने गरिएको छ । प्रशोधन र ग्रेडिङ गर्ने तथा अन्तिम उत्पादनका रूपमा तयार गरी विश्वबजारमा पठाउन सकियो भने ठूलो फाइदा लिन सकिन्छ । यो कार्यका लागि हाम्रो निजी क्षेत्र मात्रै सक्षम छैन । त्यसैले वैदेशिक लगानी भिœयाउन यसलाई एजेन्डा नै बनाउनु जरुरी छ ।

४. फलफूल
अहिले करिब साढे आठ अर्ब रुपैयाँबराबरको स्याउ मात्रै आयात गरिरहेका छौँ । यति ठूलो रकमको स्याउ आयात गर्नुपर्न स्थितिमा भने हामी छैनौँ किनभने स्याउ उत्पादनका लागि हाम्रा हिमाली भूभाग उर्वर मानिन्छ । आज चीन र भारतबाट ठूलो मात्रामा स्याउ आयात गरिरहेका हामीले उत्पादनमा सुधार ग¥यौँ भने भारत र चीनमा नै निर्यात गर्न सक्छांँ । नेपालको अर्गानिक स्याउलाई रुचाउनेहरू पनि बढ्नेछन् । मनाङ, मुस्ताङ, जुम्लालगायत जिल्लामा थोरै मात्रामा व्यावसायिक रूपले स्याउखेती भइरहे पनि अन्य धेरै जिल्लामा स्याउखेती गर्न सकिन्छ । त्यस्तै किवी र ओखरखेतीलाई पनि सँगसँगै अघि बढाउन सकिन्छ । ब्ल्याकबेरी, ब्लुबेरी र स्ट्रबेरी उत्पादनको पनि राम्रो सम्भावना भएकाले विश्वबजारमा आपूर्ति गर्न सक्छौँ । ठूलो मात्रामा फार्मिङ गर्न र प्रशोधन उद्योग चलाउन वैदेशिक लगानी ल्याउनुपर्ने अवस्था छ । ठूलो लगानी आएपछि फार्मिङसँगै जुस, वाइन, ब्रान्डीलगायत उत्पादन वृद्धि गर्न सकिन्छ । 

५. वेयरहाउस
नेपालमा उत्पादन भएको धान, गहुँ र मकै भण्डारण अभावमा भारततिर जाने र पछि महँगो मूल्यमा आयात गर्नुपर्ने दयनीय स्थिति छ । नेपालबाट पठाएको धान भारतबाट चामल भई आयात भइरहेको छ । त्यसैले मुलुकको उत्पादनलाई भण्डारण गरी राख्ने र पछि आवश्यक परेका वेला प्रयोग गर्नका लागि ठूला भण्डारणगृह (वेयरहाउस) बनाउनु आवश्यक छ । एउटा आधुनिक र उपज नबिग्रने गरी भण्डारण गर्न मिल्ने सुविधासम्पन्न वेयरहाउस निर्माणका लागि पाँच हजार टन क्षमताको बनाउनुप¥यो भने ३०–४० करोड रुपैयाँ लगानी आवश्यक हुन्छ । यति ठूलो लगानीबाट तुरुन्तै प्रतिफल लिन नसकिने हुँदा निजी क्षेत्र आकर्षित हुँदैन । तर, विदेशी लगानीकर्ताले भने वेयरहाउसमा गरिएको लगानीबारे राम्ररी बुझेका हुन्छन् । त्यसैले उनीहरूलाई नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने गरी भिœयाउन सकिन्छ । सानो क्षमताको वेयरहाउस, कोल्डस्टोर भने स्थानीय तह वा प्रदेश सरकारले बनाउन सक्छन् ।

६. कफी
नेपालको अर्गानिक कफी ब्राजिलपछि दोस्रो बढी रुचाइएको कफीमा पर्छ । तर, यस्ता कुरा ख्याल नगरी कहिलेकाहीँ गुणस्तरमा सम्झौता गरी विश्वबजारमा पठाउने गरेका छौँ । यस क्रममा एउटा लटको गुणस्तरमा मात्रै युरोप, अमेरिकालगायतका उपभोक्ताले गुनासो गरे भने नेपालको समग्र कफी बजारलाई नै असर गर्न सक्छ । त्यसैले कफीको गुणस्तरलाई नियमित रूपले उत्कृष्ट बनाई निर्यातको नयाँ बजारसमेत खोज्नका लागि वैदेशिक लगानी आवश्यक छ । अहिले ब्राजिल, इथोपियालगायत देशको कफीको गुणस्तर केही खस्केको भनेर युरोप, अमेरिकालगायत उपभोक्ताले गुनासो गर्न थालेका छन् । यही वेला नेपालले गुणस्तरमा सुधार गरेर कफी निर्यात गर्ने हो भने नयाँ सम्भावनाको ढोका खुल्छ । नेपालमा कफी खेती गरेर विश्वबजारमा निर्यात गर्ने भनेर विभिन्न देशका लगानीकर्ताले चासो देखाइरहेका पनि छन् । आगामी लगानी सम्मेलनमार्फत नेपालको कफीमा लगानी गर्न चाहने लगानीकर्तालाई खोजेर भए पनि ल्याउने र लगानीका लागि कन्भिन्स गर्नुपर्छ ।

नेपालको कृषि क्षेत्रले उचाइ लिन सक्ने प्रशस्त ठाउँ छ । उदाहरणका लागि चीनले प्रतिहेक्टर सात मेट्रिकटनका दरले धान उत्पादन गरिहेको छ भने उसलाई थप वृद्धि गर्न मुस्किल हुन्छ । तर, नेपालले अहिले प्रतिहेक्टर ३.८ टनका दरले मात्रै धान उत्पादन गरिरहेकाले लगानी वृद्धि गरेर ५–६ टन प्रतिहेक्टर उत्पादन पु¥याउन सक्ने ठाउँ छ । चीनमा प्रतिहेक्टर सात टन धान फल्छ भने नेपालमा ५–६ टन प्रतिहेक्टर फलाउन नसक्ने भन्ने पनि हुँदैन । हामीले अहिले वार्षिक ५५ लाख टन धान फलाइरहेका छौँ, तर ५–६ टन प्रतिहेक्टरका दरले उत्पादन वृद्धि गर्न सकियो भने वार्षिक ८६ लाख टन पु¥याउन सकिन्छ । यो भनेको त धान उत्पादनमा कायापलट हुनु हो ।

यसपटकको लगानी सम्मेलनमा सरकार, प्रतिपक्ष दल र अन्य सबै सरोकारवाला पक्षले एक ढिक्का भएर विदेशी लगानीकर्तालाई स्वागत गर्नुपर्छ । कृषि क्षेत्रमा सबै मिलेर काम गरियो भने एक वर्षमै राम्रो नतिजा आउन पनि सक्छ । त्यसैले आगामी लगानी सम्मेलनलाई अवसरका रूपमा उपयोग गर्नुपर्छ ।

ad
ad