१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अलेक्जेन्डर पनेट्टा
२०७६ चैत ३० आइतबार २०:०४:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

हरेक महामारीले ल्याउँछ भूराजनीतिमा परिवर्तन 

Read Time : > 5 मिनेट
अलेक्जेन्डर पनेट्टा
२०७६ चैत ३० आइतबार २०:०४:००

बेलायती प्रधानमन्त्री बोरिस जोनसन यतिवेला कोरोना भाइरसविरुद्ध लडिरहेका छन् । लन्डनको सेन्ट थोमस अस्पतालमा उनको उपचार भइरहेको छ । कोरोना भाइरसबाट कार्यकारी प्रमुख नै संक्रमित भएको यो पहिलो घटना हो । तर, बेलायतको इतिहासमा महामारीबाट प्रधानमन्त्री संक्रमित भएको भने यो पहिलो होइन ।

सन् १९१८ मा विश्वभर यसरी नै फैलिएको शताब्दीकै सबैभन्दा खतर्नाक महामारीबाट बच्न तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड लोयड जर्ज सबैबाट अलग्गिएर (आइसोलेसन) एक्लै कोठामा मृत्युसँग संघर्ष गरिरहेका थिए । त्यसवेला उनीबारे निकै कम विवरण मात्र जनतासामु सार्वजनिक गरिएका थिए । सन् १९१८ को जनवरीदेखि विश्वमा स्पेनिस फ्लुको महामारी फैलिएको थियो । ५५ वर्षीय लोयड पनि यही फ्लुबाट संक्रमित भएका थिए । 

पहिलो विश्वयुद्ध सकिएको केही समयपछि उनी भाइरसबाट संक्रमित हुन पुगेका थिए । स्पेनिस फ्लुले विश्वव्यापी राजनीतिमा पनि अचम्मलाग्दो किसिमले प्रभाव पारेको थियो । लोयड जर्जसहित धेरै नेता महामारीबाट पीडित त भए नै । सो फ्लुले धेरै परिवर्तन पनि गरायो । 

सो फ्लुका कारण दक्षिण अफ्रिकाका प्रधानमन्त्रीको मृत्यु भएको थियो भने भाइरसको संक्रमणबाटै स्विडेनका राजकुमारले पनि ज्यान गुमाएका थिए । जर्मनीका राजा मात्र होइन, तत्कालीन अमेरिकी राष्ट्रपति पनि संक्रमित भएका थिए । सो फ्लुका कारण विश्वयुद्धमा सामेल सैनिकहरूलाई हिँडडुल गर्न नसक्ने गरी अपांग बनाइदियो । 

यद्यपि, त्यसले सकारात्मक खालका ठूला र दीर्घकालीन असरहरू पनि छाड्यो । सोही फ्लुकै कारण विश्वव्यापी स्वास्थ्य सेवा सबल हुन सक्यो । अनि भारत, दक्षिण अफ्रिका, सोभियत संघ, जर्मनीको इतिहासलाई आकार दियो । 

त्यसैले बेलायतका विज्ञान लेखिका लाउरा स्पिन्नीले अहिलेको महामारीले विश्वका मुख्य घटनाहरूलाई नयाँ आकार दिने र भूराजनीतिमा तरंग मच्चाउन सक्ने आशंका गरेकी छिन् । उनको विचारमा, भविष्यका इतिहासकारहरूले कोरोना भाइरसको महामारीलाई अमेरिका र चीनबीचको शक्ति प्रतिस्पर्धात्मक एक घटनाका रूपमा देख्नेछन् । 

पहिलेदेखि नै दुई देशबीचको चिसो सम्बन्धले महामारीकै बीच पनि तीतोपन ल्याएको छ । चीनले गरेको अमेरिकी पत्रकारहरूको निष्कासन र अहिले चीनले निर्यात गरिरहेको मेडिकल सामग्रीले व्यापारिक तनावसमेत उत्पन्न गरेको छ । 

बेलायत
बेलायत पहिलो विश्वयुद्धको विजयको केन्द्रमा थियो, अधिकारीहरूले बेलायती नेता महामारीबाट संक्रमित भएको घटनासम्बन्धी सूचनालाई लुकाउन खोजेका थिए । क्याथरिन अर्नोल्डले आफ्नो किताब ‘प्यान्डेमिक १९१८’ मा लेखेकी छिन्– लोयड जर्ज जीवनका लागि एक कोठाभित्र बसेर संघर्ष गरिरहेका थिए ।

पत्रपत्रिकामा लोयड जर्ज बिरामी भएको समाचार प्रकाशित भएको थियो । न्युयोर्क टाइम्समा दुई संक्षिप्त वाक्यमा लोयड जर्ज बिरामी भएको उल्लेख थियो । त्यसको दुई दिनपछि उनको स्वास्थ्य ठीक भएको छोटो समाचार छापियो । तर, अर्काे दिन बित्दानबित्दै स्वास्थ्य अवस्था बिग्रिएको भनेर समाचार प्रकाशित भयो । 
 
पहिलो विश्वयुद्धको अन्त्य भएको दुई महिनापछि सेप्टेम्बरमा उनी बिरामी परेका थिए । फ्लुबाट गम्भीर बिरामी परेका लोयड एक हप्ता आइसोलेसनमा बसेका थिए । महिनौँपछि मात्र फ्लुबाट पूर्ण निको भए । 

उनी त्यसको करिब तीन दशकसम्म बाँचे जतिवेलादेखि बेलायती साम्राज्य पतन हुँदै थियो । 

भारत
उमेरको मध्यमा रहेका महात्मा गान्धी दक्षिण अफ्रिकाबाट भर्खर घर फर्केका थिए । त्यही समयमा भारतमा फ्लुबाट धेरै मानिसको मृत्यु हुँदै थियो । करिब एक करोड ७० लाख भारतीयले ज्यान गुमाए । फ्लुबाट विश्वमा सबैभन्दा बढी प्रभावित देश बन्यो भारत । फ्लुको प्रकोप गान्धी आश्रमसम्म पुग्यो, उनी बिरामी परे । उनकी बुहारी र नातिको भाइरस संक्रमणबाट मृत्यु भएको थियो । 

गान्धी बाँचे । बेलायती शासन रहेको भारतमा ब्रिटिस अधिकारीहरूप्रति मानिसमा आक्रोश बढ्यो । ब्रिटिसहरू भारतीय जनताको स्वास्थ्यप्रति चिन्तित नरहेको र आधारभूत चिकित्सा सेवा प्रदान गर्न अयोग्य रहेको आरोप लाग्यो । 

सिबिसी मिडियासँगको कुराकानीमा अर्नोल्डले उल्लेख गरेअनुसार भारतीयहरूले महामारीको दोषीका रूपमा बेलायतीलाई ठानेका थिए । उनीहरूको भनाइ थियो, ‘बेलायती शासकहरूले केही गरेका छैनन्, हामी कुकुरझैँ मरिरहेका छौँ ।’ 

त्यहीकारण बेलायतीहरूप्रति भारतीयमा वितृष्णा बढ्दै गयो । यो त्यही समय थियो, जतिवेला भारतमा गान्धीको लोकप्रियता पनि बढ्दै गयो । ‘गान्धीको आन्दोलनले उच्च वर्गलाई अपिल थियो, तर तल्लो तहका जनताको समर्थन पाएका थिएनन्’ स्पिन्नीले भनेकी छिन्, ‘त्यही स्थितिका बीच महामारी फैलियो ।’ 

सन् १९२१ मा गान्धीले भारतमा आमहडतालको घोषणा गरे । उनको आमहडतालमा लाखौँ मानिस सहभागी भए । ब्रिटिस सरकारविरुद्धको आन्दोलनमा त्यसअघि कहिले पनि त्यति ठूलो संख्यामा मानिस सहभागी भएका थिएनन् । 

सन् १९२० मा भारतीय राष्ट्रिय कंग्रेसको नेता बनिसकेका थिए गान्धी । कंग्रेसमा सहभागी भएको अर्काे साल त उनले विशाल आन्दोलनको नेतृत्व गरे । त्यसक्रममा उनीहरूले बेलायतद्वारा उत्पादित कपडा जलाएका थिए । 

एउटा भीडले प्रहरी कार्यालय जलाएपछि ब्रिटिस फौजले आन्दोलनकारीमाथि फायरिङ ग¥र्यो । फायरिङको विरोधमा गान्धीले आमरण अनशनको घोषणा गरे । यसरी सन् १९२१ देखि उनी विश्वभर परिचित हुन पुगे । त्यसैले त न्युयोर्क टाइम्सले उतिबेलै भारतमा महात्मा गान्धीले गरेको नेतृत्व र आन्दोलनबारेको समाचार सामग्रीलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेको थियो । 
 
‘सन् १९४७ मा त भारत स्वतन्त्रताको घोषणा मात्र भएको हो,’ स्पिन्नीले भनेकी छिन् ‘सन् १९१८ को फ्लुले भारत स्वतन्त्रताको विषयलाई आकार दियो । किनकि त्यसले जनआन्दोलनलाई उचाइमा पु¥याउन सहयोग ग¥यो र गान्धीलाई निर्विवाद नेताको रूपमा स्थापित गरायो ।’

दक्षिण अफ्रिका 
भारत फर्कनुअघि गान्धी दक्षिण अफ्रिकामा थिए । गान्धीले छोडेर गएको त्यही दक्षिण अफ्रिकामा फ्लुले जातीय विभेद बढाइरहेको थियो । इन्फ्लुएन्जाका कारण ६ हप्ताको बीचमा करिब तीन लाख दक्षिण अफ्रिकी नागरिकले ज्यान गुमाए । कतिसम्म भने दक्षिण अफ्रिका संघका प्रथम प्रधानमन्त्री लुइस बोथाको पनि यसको संक्रमणबाट ज्यान गयो । उनी आधुनिक राज्यका पक्षधर थिए । 

फ्लु र त्यसले सिर्जना गरेको प्रकोपका कारण दक्षिण अफ्रिकाको अवस्था कस्तो बनेको थियो, केपटाउन विश्वविद्यालयका मेडिकल इतिहासकार होवार्ड फिलिप्सले त्यसको चित्र दिएका थिए । उनका भनाइमा सडकमा जंगली जनावरहरू निष्फिक्री डुल्थे । उनले लेखेका छन्, ‘जनको ठूलो क्षति हुने यस्तो महामारीमा एक–अर्काेमाथि दोषारोपण हुन्छ, जसले समाजलाई नराम्रोसँग विभाजित गराउँछ ।’ 

उनले भनेजस्तै केही श्वेत (गोरा) जातिका मानिसले अश्वेतहरूलाई लापरबाह रूपमा यो रोग फैलाएको आरोप लगाए । ‘त्यसैले रोकथामका लागि भन्दै त्यहाँ अश्वेतहरूलाई रेल, गाडी चढ्न प्रतिबन्ध लगाउन भनिएको थियो,’ फिलिप्सले आफ्नो किताब ‘एपिडेमिक्स द स्टोरी अफ साउथ अफ्रिकाज फाइभ मोस्ट लेथल ह्युमन डिजिज’मा लेखेका छन् । 

‘त्यहाँ जातीय विभेद त पहिले पनि थियो,’ तर स्पिन्नी भन्छिन्, ‘महामारीपछि कालाजातिमाथि विभेद हुने अझै धेरै कानुनहरू बने ।’ 

‘फ्लु एक किसिमको छालजस्तो थियो, जसले विद्यमान तनावलाई एक छेउमा धकेलिदियो,’ उनले भनिन्, ‘यो रंगभेदको सुरुवात थियो र साँच्चै नै दुःखद पनि ।’ 

सोभियत युनियन 
स्पिन्नीको पुस्तकमा फ्लुले रुसको नयाँ बोल्सेभिक नेतृत्वमा पारेको प्रभावबारे पनि उल्लेख छ । 

सन् १९१८ मा लेनिन हत्या प्रयासबाट बाँचे । याकोभ भेर्दलोभ लेनिनका दाहिने हात थिए । उनी केन्द्रीय कार्यकारी समितिको अध्यक्ष पनि थिए । उनी फ्लुबाट संक्रमित भए र एक साताभित्रै उनको मृत्यु भयो । र, सन् १९२२ मा जोसेफ स्टालिन याकोभ भेर्दलोभको भूमिकामा आए । 

युरोप, उत्तर अमेरिका 
पश्चिमी युरोपेली देशहरू युद्धले विभाजित थिए । धेरै देश जर्मनीसँग भड्किरहेका थिए । विश्वयुद्धको समाप्तपछि सन् १९१९ मा पेरिसमा शान्ति सम्मेलनको आयोजना गरिएको थियो । यसको सशक्त नेतृत्व अमेरिकाले गरेको थियो । 

शान्ति स्थापनाका लागि शक्तिराष्ट्रहरूको सम्मेलनमा अमेरिकी राष्ट्रपति विड्रो विल्सनले आफ्ना बुँदाहरूमा सहमति नजनाएका केही कूटनीतिज्ञलाई सम्मेलन छोड्न धम्की दिएका थिए । 
‘एकपटक फ्रान्सेली नेता जर्जेज क्लेमेन्सोले विल्सनलाई प्रो. जर्मन भने र कोठाबाट बाहिर निस्के,’ जोन ब्यारीले आफ्नो पुस्तक द ग्रेट इन्फ्लुएन्जामा लेखेका छन् । 

त्यसपछि त्यहाँ के भयो ? ब्यारी यस कुरामा अडिग छन् कि विल्सन स्पेनिस फ्लुबाट प्रभावित भए । उनका सहयोगी डोनाल्ड फ्यारी पनि विल्सन बिरामी परेकै दिन बिरामी परे र ती सहयोगीको चार दिनपछि मृत्यु भयो । 

अर्का सहयोगीले बताएअनुसार विल्सनलाई कडा खोकी, ज्वरो आएको थियो । उनलाई १०३ डिग्री फरेनहाइटको ज्वरो आएको थियो । विल्सन धेरै दिनसम्म बिरामी भएर ओछ्यानमा लडे । उठ्न सकेनन् । उता, सम्मेलन भने जारी थियो । 

फ्लुबाट कमजोर भएका राष्ट्रपति पछि आफ्नै टेबुलमा फर्के र प्रतिनिधिमण्डलसहित सबै चकित परे । र, उनी हार्डलाइनरहरूसँग कुरा गर्न थाले । 

अमेरिकाका भावी राष्ट्रपति हर्बट हुवर पनि त्यस सम्मेलनमा उपस्थित थिए । उनले विल्सनलाई ‘परिवर्तन भएको’ मान्छे भने । हुवरले विल्सनले स्वीकार गरेको एकपक्षीय सम्झौतामा शंका गर्दै यसले युरोपलाई विभाजित गर्न सक्ने चेतावनी दिए । 

ब्यारीले सम्झौतामा जर्मनीलाई स्वीकार गर्न बाध्य पारिएका केही सर्तहरूको सूची उल्लेख गरेका छन्, जसअनुसार आर्थिक सुधार, माफी, राइनल्यान्डमा सैन्य क्षमता घटाउने, कोइला क्षेत्र जर्मनीको नियन्त्रणमा नहुने, जर्मनीको वायुसेना हटाउने, सेनाको आकार सीमित गर्ने र देशको केही भाग फ्रान्स र पोल्यान्डलाई दिइनेलगायत थिए । 

‘विल्सन स्वस्थ भएको भए के हुने थियो, कसैलाई थाहा छैन,’ न्यु अर्लिन्सको तुलाने विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थ एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक ब्यारी लेख्छन्, ‘त्यहाँ के भयो भन्ने एउटा कुरा मात्र थाहा छ, इन्फ्लुएन्जा सम्मेलनसम्म पुग्यो र विल्सनलाई गम्भीर प्रभाव पा¥यो ।’

इतिहासकारहरू यस कुरामा सहमत छन् कि पेरिस शान्तिसम्झौताले जर्मनीमाथि गरेको कठोर व्यवहारले त्यहाँ आर्थिक अभाव, राष्ट्रवादी भावना र राजनीतिक अराजकता बढ्न सहयोग पु¥यायो र यसले एडोल्फ हिटलरको उदयलाई बढावा दियो ।

परिणाम, पहिलो विश्वयुद्ध समाप्त भएको दुई दशक पुग्दा नपुग्दै दोस्रो विश्वयुद्ध सुरु भयो । अहिले कोरोना भाइरसको महामारीले चाहिँ कस्तो भूराजनीतिक परिवर्तन ल्याउला, त्यो हेर्न चाहिँ केही समय प्रतीक्षा गर्नै पर्छ ।  

(पनेट्टा सिबिसी न्युजका वासिङ्टन डिसीस्थित संवाददाता हुन् ।)