१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० श्रावण २९ सोमबार ०९:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना महामारीपछि भक्तपुर भ्रमण गर्ने बढे : एकै वर्ष भित्रिए एक लाख ६७ हजार बाह्य पर्यटक

Read Time : > 1 मिनेट
२०८० श्रावण २९ सोमबार ०९:१२:००

भक्तपुरमा नगरपालिकाका ऐतिहासिक र पर्यटकीय क्षेत्रमा बाह्य पर्यटक आगमन क्रम उल्लेखनीय रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७९/८० मा एक लाख ६७ हजार ६ सय ५२ विदेशी पर्यटकले भक्तपुर अवलोकन गरेको तथ्यांक छ । जसमध्ये ८६ हजार तीन सय ३४ जना तेस्रो मुलुकका र ८१ हजार तीन सय १८ जना सार्क राष्ट्रसहित चीनका पर्यटक छन् । आव ०७८/७९ को एक वर्ष अवधिमा जम्मा ५३ हजार पाँच सय ६० जना पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । जसमध्ये गैरसार्क २२ हजार ८७ जना र सार्क राष्ट्र र चीनका ३१ हजार चार सय ७३ जना थिए ।

 पर्यटन शुल्कबाट १८ करोड संकलन 
नगरपालिकाले गत आर्थिक वर्ष पर्यटन शुल्कबाट मात्र १८ करोड ४० लाख संकलन गरेको छ । संकलित शुल्कमध्ये गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख र सार्क राष्ट्र र चीनका पर्यटकबाट चार करोड ६ लाख पर्यटन शुल्क संकलन भएको छ । आव ०७८/७९ मा चार करोड ८९ लाख पर्यटन शुल्क उठेको थियो । जसमा गैरसार्क पर्यटकबाट तीन करोड २७ लाख र सार्क राष्ट्र र चीनका पर्यटकबाट एक करोड ५७ लाख ३६ हजार पाँच सय शुल्क उठेको थियो ।

नगरपालिकाअन्तर्गत पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांकअनुसार आव ०७९/८० मा अमेरिका, अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इंग्ल्यान्ड, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, हल्यान्ड, हंगेरी, आइसल्यान्ड, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिंगापुर, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्कीलगायत देशका पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । नगरपालिकाले हाल खौमा, सानो ब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटन शुल्क उठाउँदै आएको छ । 

 पर्यटन शुल्क नगरपालिकाको मुख्य आयस्रोत 
नगरपालिका प्रमुख सुनील प्रजापतिले भक्तपुर प्रवेश गर्ने पर्यटकसँग उठाउँदै आएको पर्यटन सेवा शुल्क नगरपालिकाको मुख्य आयस्रोत भएको भन्दै नगरपालिकाले पर्यटकबाट उठेको शुल्कबाटै भक्तपुरका सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताएका छन् ।

‘नेपाल भ्रमणमा आएका पर्यटकलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्य स्थलका रूपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिँदै आएको छ,’ प्रमुख प्रजापतिले भने । हाल दैनिक पाँच सय विदेशी पर्यटक भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोका लागि आउने गरेका छन् । भक्तपुरमा पर्यटकको आगमनसँगै भक्तपुरका व्यवसायी पनि खुसी भएका छन् । भक्तपुरको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । नगरपालिकाले पर्यटकलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत व्यवस्थापन गर्दै आइरहेको छ ।