भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पाँच जिल्लाका सात हजार ५७० निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । सहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठुलो संख्यामा निजी घर बाढीको चपेटामा परेका छन् ।
कुन जिल्लामा कति ढले घर ?
तथ्यांकअनुसार रसुवामा कुल एक हजार ७७९ घर क्षतिग्रस्त भएका छन् । त्यसको क्षति रकम भने पाँच अर्ब सात करोड ९८ लाख रुपैयाँ छ । रसुवाका गोसाईँकुण्डमा एक हजार ४३, कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ र उत्तरगयामा ५६७ घर क्षतिग्रस्त भएका छन् । क्षति रकम भने क्रमशः दुई अर्ब ४९ करोड ८६ लाख, १८ करोड ४८ लाख, नौ करोड ४० लाख र दुई अर्ब ३० करोड २३ लाख रुपैयाँ रहेको छ ।
तथ्यांकअनुसार नुवाकोटमा कुल तीन हजार ९७७ घर क्षतिग्रस्त हुँदा नौ अर्ब २२ करोड ६२ लाख रुपैयाँबराबरको क्षति भएको छ । त्यसमा बेलकोटगढीमा २१२, विदुरमा तीन हजार २६, किस्पाङमा ६९६ र तार्केश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन् । त्यसमा बेलकोटगढीमा ६० करोड, विदुरमा सात अर्ब १७ करोड ५८ लाख, किस्पाङमा एक अर्ब ३० करोड २४ लाख र तार्केश्वरमा १४ करोड ७९ लाखको क्षति भएको छ ।
विभागका अनुसार धादिङमा कुल एक हजार ४५१ घर क्षतिग्रस्त भएका छन् । त्यसको क्षति रकम दुई अर्ब ४० करोड ९५ लाख रुपैयाँ छ । धादिङको बेनीघाट रोराङमा एक हजार ३७, गजुरीमा १०७, गल्छीमा ७९ र सिद्धलेकमा २२८ घर क्षतिग्रस्त भएका छन् । त्यसमा बेनीघाटमा एक अर्ब ७२ करोड ६४ लाख, गजुरीमा १७ करोड ६५ लाख, गल्छीमा १३ करोड तीन लाख र सिद्धलेकमा ३७ करोड ६२ लाख रुपैयाँबराबरको क्षति भएको छ ।
यस्तै, गोरखामा कुल २६३ घर क्षतिग्रस्त हुँदा ४३ करोड ३९ लाख रुपैयाँ नोक्सानी भएको छ । गोरखाको गण्डकीमा २४८ र सहिद लखनमा १५ क्षतिग्रस्त भएका छन् । त्यसमा क्रमशः ४० करोड ९२ लाख र दुई करोड ४७ लाख रुपैयाँ नोक्सानी भएको छ ।
यस्तै, चितवनको इच्छाकामनामा सय घर क्षतिग्रस्त हुँदा १६ करोड ५० लाख रुपैयाँ नोक्सानी भएको छ ।