बाढी र पहिरोले कटान गरे पनि अवरुद्ध भए भनेको पृथ्वी राजमार्गमा सञ्चालनमा ल्याउन पूर्वाधार विकास मन्त्रालयले पाँचवटा निर्णय गरेको छ। कृष्णभिरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरिएको छ।
त्यस्तै, टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने तथा जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णय पनि भएको छ।
यस्ता छन् पाँच निर्णयः
१. तत्काल विपतको सामना गर्न तथा विपत् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृंखला पुनर्स्थापना गर्न कृष्णभिरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने।
२. ट्र्याक खोल्ने कार्यसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डर हिलसाइडबाट तल खसाल्ने कार्यसमेत गर्ने।
३. कृष्णभिरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने।
४. कृष्णभिरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने।
५. माथि उल्लिखित विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने।